Thursday, November 22, 2012

उपान्यासः गम्भीरे

मन उद्वेलित छ, अशान्त छ, उत्तरको चिसो हावा उप्किसकेको बाँसको टाटीभित्र छिर्छ ।
"मधेशमा खोरिया फाडन पाइन्छ रे, हिड जाउँ," मानेले भनेको थियो ।
दुबै मिल्ने दौँतरी, जात फरक भए पनि, हितका दौँतरी थिए । ठालूहरूका नजरमा दुवै पानी नचल्ने । भरखर जुंगा रेखी बसेका मने र गम्भीरे झरेका थिए, मधेश । अलिकति खोरिया पनि नफाँडेका हैनन, तर जमिन्दारको आँखा लाग्यो । नेपाली कागतमा ल्याप्चे ठोकाएका हुन ।
ए भाते, मेरो जग्गा छाड, एक दिन जिम्मुवालले घोडामा आएर कोर्रा घुमाउँदै उर्दी जारी गरे ।
मालिक यो त हाम्रो जग्गा, हाम्ले खोरिया फाँड्या, गम्भीरेले आँट कसेर भन्यो ।
तेरीमा फलान्थोक गर्ने, तेरो बाउको हो? हेर माथि कपुरबोटेदेखि माझनदीसम्म १२८ बिघा मेरो नाममा राजाले पञ्चापत्र गर्या छन्, एउटा कागजको खोस्टो देखाउँदै छालाको कोर्राले कमिज फाट्ने गरी जमिन्दार रामबहादुर काजीले बजाए ।
स्वाँठठठठठठठ कोर्राले बज्रेर छर्ररर रगत निस्क्यो ।
के जानुँ मालिक राजाका कुरा, तर त्यतातिर बोटेको, उता थारूको, त्यो दमै गाउँ पो पर्छ त मालिक, अलि उग्र हुँदै मानेले के भनेको थियो ।
डम्बरबहादुरको भरूवा पड्कियो ड्याम्म
मरे आम्मा, माजेठाउँ ठाउँ भयो, वरपर रगतको आहाल बग्यो ।
जजसले हाम्रा विरोध गर्छ, यही गति हुन्छ । अंग्रेजसँग लडेका थापाका सन्तान हौ याद गर..... जमिन्दारहरू उर्दी गर्दै हिँडे, पुलिस प्रशासन हाम्रा गोजीमा छन, नेपाल खाल्डोमा राजाले हाम्लाई अधिकार द्या छन् ।
दुईचार भाइ बोटे र थारूहरूको साथ लिएर त्यही रात वनमारा झाडीमा मनेका लास गाडियो ।
..................
हितको साथी सामन्तको हातबाट मारिएपछि गम्भीरे त्यस रातभर सुत्न सकेन ।
गम्भीरेको मन अशान्त छ, सुत्न सक्या छैन । सँगको साथी पनि मरी गो । कि त पहाड फर्कन्छु कि कोइलाखाततिर लाग्छु मनमनै सोच्यो, यहाँ बसिरह्यो भने ज्यानै नरहने भो ।

जसै भाले बास्यो, उ कहीँ कसैलाई खबर नगरी कोइलाखादतिर जान भनेर हिँड्यो ।

कहाँ पर्छ, कसरी जानु पर्छ केही थाह थिएन । पूर्व झापाबाट जान्छन रे, त्यतिमात्र सुनेको थियो । सात दिनको हिँडाइपछि सिलगढी आइपुग्यो । कालो डिब्बा भएको भ्वाँक भ्वाँक कराउने रेल कुद्दो रैछ । जसोतसो वनका फलका खाएकै भरमा पुगेको गम्भीरे भोकले लखतरान थियो । माटो खाउँकी ढुंगा खाउँ भइसकेको थियो ।

ओ नेपाली छोकरा काम कर्थो है? रेल्वे स्टेशनमा जुलेबी-पुरीको दोकान चलाउने एउटा बंगाली साहुले सोध्यो ।

नेपालीमात्र जान्ने गम्भीरे के भनेको भनेर अलमलमा पर्यो, नेपाली र काम भन्नेचाहिँ उसले बुझ्यो । नबुझे पनि उसले टाउको हल्लायो ।

परधान यिसको काम दिखायो ।
सिलगुढी स्टेशनमा भेटिएका उही रामप्रसाद प्रधानले गम्भीरेलाई दार्जिलिङ पुर्याएका थिए ।
................
दार्जेलिङको चौरास्तामा देख्या हो गम्भीरेले इन्दिरालाई । घुमतिर घर अरे भन्ने सुनेको थियो, त्यतिखेर ऊ बंगाली बाबुको मिठाइ पसलमा काम गर्थ्यो । मिरिकको चिया बगान जान्थे, हुलै बाँधेर पत्ती टिप्न ।
"डेढ रूप्पेको जुलेबी देउ त," मिठो लयमा इन्दिराले जुलेबी माँगेकी थिइ ।
गम्भीरे हेरेको हेरै भयो । हरेक बिहान ऊ डेढ रूप्पेको तीनटा जुलेबी किन्थी, गम्भीरे कहिले काँही साहुको आँखा छलेर चार वटा दिन्थ्यो ।
"संसारको जति पनि खराबी छ, मैमा छ । नराम्रो छु, .....गरिब छु,.....बोल्न ढंग पुर्याउँदिन,..... थातबासको टुंगो छैन, ......तर एउटा गुनचैं छ है ममा, तिमीलाई औधि मन परपाउँछु," गम्भीरेले एक दिन मिरिक चियाबगानमै पुगेर हात थामेर भन्यो ।

Monday, November 12, 2012

कथाः रसूवाघाटको हुरीले उडाएन मायाँ

-गजेन्द्र बुढाथोकी-
रसुवाघाटमा चिसो बढेको छ । सुनकोशीको सिरेटोले हान्छ । छाना मक्किएछ, जुनले आकासबाट चिहाएपछि ठूलीले खुइय्या सुस्केरा हालेर मनमनै भनि । मंगली र डल्ले जाडोले गुँडुल्की परेका थिए । टुकीको धिपधिपमा ठूलीको घर-कम-हुटेल खण्डहरजस्तै देखिएको थियो । ठूलीले आफ्नो पुरानो मजेत्रो तानी र दुवैलाई ओढाइ दिइ, बाहिर भरखर ब्याएकी काली कुकुर्नी कुइ-कुइ गरिरहेका आफ्ना छाउरा-छाउरीलाई दूध चुसाउँदै थिइ ।

दिउँसोतिर साइला आफ्नी स्वास्नी र छोरा बोकेर ओख्रनीतिर चढेको देखेदेखि ठूलीका मनमा चैन छैन । बाटो पारी सिरान घरेका दोकानमा साइँलाले स्वास्नी र छोरालाई चिया र बिस्कुट ख्वाएको उसले आफ्नो दैलो किनारबाट हेरिरही ।

 "मुर्कट्टा तँ मूला दमैसँग जाने देखिस, अहिले यही खुर्पाले दिएर कोशीमा झार्दिन्छु अनि.... "१५ वर्षअघि साइँलाले मेला जाँदा पिरतीको भाका व्यक्त गर्दा आफैले भनेका शब्द ठूलीका कानमा गुन्जिरहेका थिए, "म त ठकुरीकी छोरी, राजखान्दान हुँ, राजखान्दान ।"

 उनका बाउपुर्खा कहिले कहाँका राजा थिए, त्यो भने ठूलीलाई थाह छैन ।

 दोहोरो ज्यानकी ठूली वरपर साइला घुम्न भने छाडेन, तर ठूलीका रिसको झ्वाँकमा एकचोटी परिसकेको उसले नजिक पर्ने हिम्मत भने गरेन । हरेक मंगलबार उनीहरू गाईघाट झर्थे, कहिले सिन्कौली बोकेर त कहिले सुन्तला, निबुवा बोकेर । साइला भारी बोक्थ्यो, साहुहरूको  । सुरिलो मुरली बजाउँथ्यो उ ।

पहिलो पल्ट बाबरीमा देख्या हो, उसले ठूलीलाई । ठूल्ठूला आँखा, चन्चले स्वभाव, चुस्स परेको नाक । पोटिला गाला । हजार जनाको भीडमा पनि नहराउने जस्तो । पहिलो पल्टकै देखादेखमा साइला भुतुक्क भएथ्यो । कहिल्यै नाम सोध्ने हिम्मत आएन, गाईघाट जाने फर्कने क्रममा अरूले बोलाएको सुनेथ्यो, ठूली । एक दिन खाँबुबाट अलि तल झरेपछि ठूलीको खुट्टामा मैदाल बिझेछ, सबै साथीभाइ अगाडि गइसक्या थे । पछिपछि रहेको ठूलेले हतारहतार आफ्नो ढाकर बिसायो र खुट्टा समातेर मैदालको काँडा झिकिदियो । काँडा झिकेको ठाउँबाट रगत बग्न थाल्यो । बनमाराको मुन्टा निचरेर लगाइ दियो । पैतला भतभत पोल्न भने छाडेन । साइलाले फुफू गरेर फुकिदियो,

ठूली म तिम्लाई औधि मन पराउँछु, तिम्ले मान्यौ भने जिन्दगीभरि यसरी नै पैतला फुकेर बसौँला... सकिनसकी उसका मुखबाट फुत्कियो ।

"मुर्कट्टा तँ मूला दमैसँग जाने देखिस, अहिले यही खुर्पाले दिएर कोशीमा झार्दिन्छु अनि.... " ठूली सिंहझैं गर्जिइ,"म त ठकुरीकी छोरी, राजखान्दान हुँ, राजखान्दान ।"

यति हो, ठूली र साइलाको सम्बन्ध ।

गाईघाट झर्दा ठूलीका हुलबाट उसँधै टाढा पर्थ्यो, टाढैबाट हेरिरहन्थ्यो । फेरि आँट गरेर भनौँ कि भन्ने नलागेको होइन, तर जातको तगारोले उसलाई रोक्यो । धेरै वर्षअघि त्यहाँका ठकुरीहरूले छोरीचेलीलाई आँखा लगाएको भनेर रसुवाघाटै बेपार गरिबस्ने एउटा नेवारलाई कुटीकुटी मारेको कथा उसले सुनेको थियो ।

त्यहीबेलामा माओवादीको विद्रोह सुरू भयो । साँझसाँझ माओवादी कमरेडहरू गाउँगाउँ छिर्थे, प्रचन्डपथ लेखेका कितापहरू बाँड्थे, गाउँलेहरूलाई माओवादीमा लाग्न भन्थे । "जनताको मुक्ति हुन्छ, धनी गरिब सब बराबर हुन्छन, जातपात बराबर हुन्छ," मनकामना भन्ने कमरेडले रसुवाघाट पुल छेउमा उभिएर लामै भाषण गरिन । खोटाङ ६ नं इलाकाबाट भर्ति खुल्ने भो । साइला जनमुक्ति सेनामा लागेर वन छिर्यो रे गाउँमा हल्ला चल्यो ।

पछि गाईघाटतिरबाट सेनाहरू आए । सेनाको टुकडी वारी क्याम्प बनाएर बसेको थियो । ड्रेसमा हिडेका सेनाका जवानको रवाफै बेग्लै । तरूनी-बरूनी केटी देखे जिस्काउँथे, केटाहरू देखे, साला माओवादी तातो गोलीले भुन्दिउँ भनेर थर्काउँथे । वनजंगलमा घाँसदाउरा गर्न जान, एक्लै हिड्न त्राहिमाम थियो ।

एक दिन सेनाको जवान अग्लो, हृस्टपुस्ट, अष्टबहादुरले ठूलीलाई फकायो ।

"बुझ्यौ, राजाको सेनामा छु, १० हज्जार तलप खान्छु । जागिरै छाडे पनि सात हल जाने खेत छ, राम्रैसँग पाल्छु हउ," उसले एकान्तमा हात समातेर भनेको थियो ।

एकातिर त्रास अर्कातिर निकै तलप खाने ठकुरीकै छोरा भनेपछि ठूलीको मन सुरक्षा र सम्पतिको मोहमा राम्रैसँग पग्लियो । दुवैले घरजम गरे ।  अष्टबहादुर सेनामा जागिर खाने, ठूली रसुवाघाटमा बेपार गरिबस्न थाले

२०६२ सालमा ठूलै आन्दोलन भयो अरे सहरमा, अनि सदरमुकामतिर ।

"हेर ठूली क्याम्प फिर्ने भो, म तिमीलाई छिट्टै लिन आउँछु," ०६३ वैशाख १४ या १५ गतेतिर एक साँझ अष्टबहादुरले कुम्लोकुटुरो कस्दै भनेको सम्झना छ, ठूलीलाई । त्यतिखेरसम्म मंगली र डल्ले जन्मिसकेका थिए ।

तर अष्टबहादुर कहिल्यै लिन फर्केन । गाईघाटमा ठूलो क्याम्पमा गएर पनि लेफ्टेन, क्याप्टेनहरूलाई पटक पटक भनी । तर अष्टबहादुरको सरूवा पश्चिमतिर भएको भन्दै उसको कुनै उजुरबाजुर लागेन । पछि सुनी- अष्टबहादुरको त पश्चिमकतातिर पहिलेकै घरबार छ रे ।

दोकानमा राखेका सामानहरू अलिअलि गर्दै सकिन थाले, अब त रसुवाघाटमा जाँड र रक्सी बेच्नुबाहेक अरू केही सीप रहेन ।

०६९ सालको दशैंमा साइला, स्वेच्छिक अवकास रोजेको कमरेड भीष्मप्रतिज्ञा बनेर गाउँ फर्कँदै थियो । सरकारले दिएको पाँच लाख रूपैयाँले गाउँमै गएर केही व्यापार-व्यवसाय गरौँला भनेर जनमुक्ति सेनामै भेट भएकी मालती चौधरी र दुई वर्षको छोरा बोकेर उ उकालो चढ्दै थियो ।

"साइलाले देख्यो कि देखेन, देख्यो भने के सोच्यो होला है, मेरो बिजोक देखेर हाँस्यो होला, खुब घमण्ड गर्थी भेटी भन्यो होला...."कोल्टे फर्केर ठूलीले सिरानीमा तरक्क आँशु चुहाइ

Saturday, October 20, 2012

दशैं र गोधुली यादहरू

देहातको एउटा बजार, पहाड र तराईको संगम । आदिवासी थारू, दनुवारहरूको मूल बस्ती । क्षेत्री, बाहुन, राई, लिम्बू र मगरहरू पनि पर्याप्त संख्यामा थिए ।  मुसलमानहरूको पनि बस्ती थियो । गाईघाट । २०४२ सालअघि सडकले छोएको थिएन । उदयपुर सिमेन्ट उद्यो बन्ने भएपछि बल्ल ट्रयाक खुल्यो,  चुरेको ठाडो भीरपट्टिबाट । सडकको आकारचाहिँ २०४९ मा मात्र पायो ।
गाडी चढ्न सप्तरी जिल्लाको फत्तेपुर पुग्नु पर्थ्यो । गाईघाटबाट फत्तेपुर पुग्न ६-७ घण्टा लाग्थ्यो । दशैंले छोएको थियो, लुरे मामा घर जान उत्साहित थियो । आमालाई सन्चो थिएन, त्यही भएर लुरे बुवासँग मामाघर हिड्यो ।
कार्तिकमा पनि शीर (रौतहा) तिर पानी परेर त्रियुगा नदीमा बाढी आएको थियो । खैजनपुरनेरको जङ्घारबाट त्रियुगा नदी तर्नु पर्थ्यो । त्रियुगाको भसेट (बालुवाको दलदल)ले धेरै मान्छे खान्थ्यो,  वर्षाका बेलामा । हेर्दाहेर्दै लुरे भासियो, घाँटीमाथिबाट पानी बग्न थाल्यो । बुवा हरेक उपाय गरेर माथि उठाउने प्रयास गर्नुहुन्थ्यो, लुरे बाँच्न हातखुट्टा चलाउँथ्यो । त्रियुगाको बलौटो पानी उसका मुखबाट पसिरहेको थियो । बल्लतल्ल गरेर बुवाले बचाउनु भयो । जोगिदह-खैराहाबीचको नर्सरी (त्रियुगा नदीको कटानबाट बचाउन गरिएको वृक्षारोपण)का बीचमा एउटा चिया पसल थियो, बुवाले चिया एक गिलास चिया फुकिफुकी ख्वाएपछि लुरेको त्राण फर्क्यो ।
हडियाँ र सुन्दरपुरबीच बाक्लो जंगल थियो । मूलतः त्यो चुरे जंगल भए पनि स्थानीयहरू चास कोष जंगल अर्थात चार कोषसम्म फैलिएको जंगल भन्थे । बयलगाडामात्र कुद्ने त्यो जंगलका बीचको बाटोबाट साँझ घाम अस्ताउने बेलामा गोठालाहरूले गाईबस्तु फर्काउँदै गर्दा गाईबस्तुले उडाउने धुलोले धपक्कै ढाकेको क्षितिज अर्थात गोधुली वर्णनको सीमाभन्दा बाहिर हुन्थ्यो । काठ तस्करहरूको आँखा परिनसकेको त्यो बाक्लो जंगलबीच कालो हरिण, चित्तल, नीलगाई, बँदेल, मयुर, लुइचे, कालिज त कैयन पटक लुरेले आफ्नै आँखाले देख्यो । बाघ, भालु पनि पाइने, कहिलेकाँही बाघले मान्छे खाएको हल्ला सुनिन्थ्यो । त्यही भएकाले त्रियुगा किनारै किनार जतिसक्दो चाडो जंगल पार गरेर फत्तेपुर पुर्याउन बुवाले हतार लगाउनु हुन्यो । लुरे साना खुट्टाले सकी नसकी दौडिइरहेको थियो ।
हडियाको जंगलमा लुरेले पानीले लपक्क भिजेको पाँच रूपैयाँको नोट भेट्यो । डेढ रूपैयाँ कप चिया, दुई रूपैयाँमा ग्लुकोज बिस्कुट आउने त्योबेलामा लुरेका लागि पाँच रूपैयाँ (६ वर्षको उमेरका बच्चाका लागि) सबैभन्दा ठूलो नोट भइदिएको थियो ।  उसले आफूलाई राजाभन्दा मै धनी भन्ने सोच्यो, हडिँयादेखि सँगै हिडेका एक जना सहयात्रीले सोधे, के गर्छौ बाबु यो पैसाले । लुरेले पाँच रूपैयाँ कसरी खर्च गर्ने केही योजना बताउन सकेन ।
मामाघर पुगेपछि थाह भयो । मामाहरूलाई सुतक परेको रहेछ (परिवारमा कसैको जन्म भएको) । त्यो वर्ष मामाघर पुग्नुमात्र पर्यो, दशैंमा टीका लगाउन पाइएन । 
अर्को वर्ष लुरे, लुरेकी आमा, लुरेकी बहिनी बस चढेर उर्लाबारी गए । मामाघरको आकर्षण नै बेग्ले हुन्छ, बच्चाहरूलाई । कानेपोखरीको जंगलको बीचमा खिर बेचिन्थ्यो, असाध्यै मीठो । बसहरू रोकेर खिर खान्थे, यात्रुहरू । लुरेहरू मामाघर पुगे, उर्लाबारी स्कूलनजिकको मामाघर । वरिपरि हरियाली, धानको खेत, लहलह झुलेका धानका बालाहरू । कतै धान काटिँदै, कतै दाँइ गरिदै । त्यो दृष्य साँच्चै मोहक थियो ।
आमा टाँडमा मामासँग कुराकानी गर्न थाल्नु भयो ।भित्र माइजु खानेकुरा बनाउँदै हुनुहुन्थो, लुरेभन्दा दुइ वर्ष कान्छी बहिनी प्यास लागेर भान्छामा पसिन । 
हुँदैन हुँदैन भान्जी, तपाई क्षेत्रीहरू हाम्रो भान्सामा पस्नु हुँदैन भन्दै माइजुले झन्याकुल्टुङ पार्दै निकाल्नु भयो । बहिनी कहालिएर रून थाली । लुरेका बाबुले त्यस जमानामा बाहुनकी छोरीसँग क्षेत्रीले बिबाह गरेका गर्नु भएको थियो । बहिनीमाथि भएको दुर्व्यवहारले सात वर्षको लुरेको मन कुँडियो, आमा जाउँ, यिनीहरूका घरमा अबदेखि कहिल्यै नआउँ लुरेले भन्यो र त्यसपछि कहिल्यै लुरेले कहिल्यो मामाघर जाने रहर गरेन अनि गएन पनि ।
आजकल लुरे बूढा भएका मामा-माइजुलाई भेट्न चाहन्छ, मनभरिको गुनासा गर्न चाहन्छ, तर लुरे जान सक्दैन, केबल गोधुली सम्झनामा मामाघर सम्झन्छ ।

Wednesday, September 12, 2012

कथारहित कथा


हर कथाहरूले पात्र खोज्छन, मेरो कथाको पात्र अमूर्त थियो, अज्ञात थियो, बादलको आकृतिजस्तै, कहिले देखिन्थ्यो कहिले हराउँथ्यो । अझ भनौँ कथा नै थिएन । कथा हुनलाई कथावस्तु चाहिन्छ, तर कथारहित मेरो प्रेमकथाका नायक आफैलाई त्यही कथाभित्रै खोज्दै थियो । एक दिन मसँग भयानक रिसायो, यस्तो पनि कथा हुन्छ? खोइ त कथानक?
ऊ भक्कानियो । सहायक पात्रको खोजी गरिरहेको थियो, तर मसँग उसको कथाका लागि पात्रै थिएन । म पनि पात्रको खोजीमा भौँतारिए .
मेरो खोजीले कुनै अर्थ राखेन । मैले उसका लागि उपयुक्त पात्र भेट्नै सकिन ।  ऊ निराश भयो, मलाई हटाइ दे यो कथाबाट उसले आग्रह गर्यो, अनुननय-विनय गर्यो । म उसलाई कथाबाट पनि अलग गर्न सक्दिन थेँ । एक दिन उसको कथा पनि पूरा हुन्छ भन्ने म विश्वासमा थेँ, आश्वासन दिएँ, पख न एक दिन पात्र भेट्छु तिम्रा लागि । अनि कथा पूरा गरौँला ।
उसले तँ सक्दैनस भने आफैले खोज्छु भनेर धम्की दियो । मैले हुन्छ सक्छौ भने खोज भने, तर पनि निरिह थियो, निर्धो थियो ।
ऊ एक दिन दंगदास परेर आयो र भन्यो मैले सम्भाव्य पात्र भेटेँ । तर मैले कथामा जोड्न सकिन । उप-पात्रले उसलाई स्वीकार गरेन । ऊ अपहेलित भयो, तिरस्कत भयो । कथा त्यसै रोकियो । सोचेँ कुनै दिन फेरि अघि बढ्ला ।
उप पात्रका आफ्नै कथा थिए । आफ्नै आकांक्षाहरू थिए । मूल पात्रसँग त कथानक नै थिएन । फेरि कथानक खोज्ने यत्न गरेँ । यस पटक उप-पात्र भेटियो, तर कथा भेटिएन, मैले कथालाई मूल पात्रसँग जोड्न सकिँन । दुवै पात्रहरू फरक-फरक थिए, दुवैका कथाहरू एकअर्कासँग तालमेल मिलेका थिएनन । यस पटक पात्रसँग म रिसाएँ- ल उप पात्र खोजेँ, कथा अगाडि बढा, तर उसले कथा अघि बढाउन सकेन ।
फेरि अर्को प्रयत्न गर्यो । यस पटक पनि परिणति उही ।
पात्र अन्यौलमा परेको छ । सपनाहरू धेरै देख्यो, सपना भनेको केही होइन, फगत अवचेतन मनको दृष्यचित्रमात्र । पूरा हुने त कुरै भएनन । यो जुनीमा कथारहित मेरो कथा यति नै रह्यो, भो अब नलेख पात्रले भन्यो । म पनि अन्यौलमा परे, शायद कथा बन्द गर्नु नै उचित हुन्छ होला ।
मैले भने- अब भाग मूला तेरो काम छैन । मूलपात्र बेतहास दौडियो, आँखा चिम्लेर दौडियो जिन्दगीको दौडमा । पटक-पटक लड्यो, लडखडाउँदै उठ्यो फेरि दौडियो र बाटोमा ठोक्कियो कुनै पहरासँग, रूखसँग, अवरोधहरूसँग
एक दिन..............मूल पात्र एक दिन कथानकबाटै हरायो ।
पात्रहरू जो पनि हुन सक्छ, तपाईं, , , उनी । गान्टे, पोक्चे, लुरे, लुरी, मोटु, कान्छा, कान्छी । सबैका आआफ्ना कथानक छन् । हरेक पात्र भन्छः मैले जति दुःख कसैले गरेन । आफ्ना कथालाई हरेक पात्रले बढाइचढाइ गर्छ । कथानक मोडिन्छ, यत्रतत्र सर्वत्र । अनि पात्र हराउँछ हलो म्यानजस्तै बेलाबेलामा, फेरिन्छ बादलजस्तै आकृतिविहिन । कथा कहिल्यै टुंगिदैन जारी नै रहन्छ, लेखक, कथानक र पात्रहरू फेरिए पनि ।

Monday, September 10, 2012

किथ्रो, क्रिकेट र म

केही वर्षअघि नेपाल समाचारपत्रमा कार्यरत रहँदा उज्ज्वल आचार्यले हो या विनोद पाण्डेले कुनचाहि पत्रिकामा क्रिकेटमा गोल भो भनेर लेख्यो भनेर खुब हाँसो उठाउँथे, मेरा हकमा पनि लगभग त्यस्तै अमूर्त थियो क्रिकेट
, किरण मानन्धरका चित्रजस्तै । न क्रिकेटलाई मैले कहिल्यै बुझेँ, न क्रिकेटले मलाई । हाम्रातिर पाइने किथ्रो भन्ने किरालाई अंग्रेजीमा क्रिकेट भनिदो रहेछ । मेरा लागि किथ्रो र क्रिकेट उस्तै नै भयो । बरू क्रिकेटसँग मेरो सानो इगो रह्यो ।

म सानै हुँदा बस्नेत टोलका केटाहरूले क्रिकेट ब्याट, बल, स्टम्प आदि क्रिकेट सामग्री किनेर ल्याएका थिए । उनीहरू खेल्नका लागि भूसंरक्षणको मैदान (हाल सेनाले कब्जा गरेको ठाउँ)तिर झरे, म पनि पछि पछि लागेँ । उनीहरू पनि जान्ने त होइनन, तर तीमध्ये एउटा अलि जान्नेसुन्ने थियो, उसैले अरूलाई सिकाउँदै थियो । एउटाले रूप्पी मार्न बाँसघारीमा ढुंगा हानेजस्तै गरेर हान्थ्यो, अर्कोले लुगा कुट्ने मुङ्ग्री (हाम्रो आमाले लुगा धुँदा लुगा कुट्ने मुङ्ग्री त्यस्तै थियो) जस्तोले घोचामा लाग्न नदिने गरी खै कसरी कसरी फुत्त घुमाउँथ्यो । धेरै बेर कुर्दा पनि तर मलाई खेल्न त के छुनसम्म दिएनन । मञ्चमा बसेर हेरिरहे । एक पटक बल छुँदा एउटा( नाम नलेखौँ)ले नाक भाँच्चीञ्जेल दियो । रूँदै तिमीहरूका खेल तिमीहरू नै खेल, नखेलेर मर्छु र भनेर फर्किएँ । अनि चोकका साथीहरूसँग गुच्चा खेल्नतिर लागेँ, त्यो पनि सहजै खेल्न कहाँ पाउनु । पढ्नमा म तीक्ष्ण थिएँ, ५ कक्षाको जिल्लास्तरीय परीक्षामा जिल्लामै दोस्रो भएको थिएँ , अनि चिनेजानेका जसले देखेपछि घिच्चुकमा मर्ने गरी हान्थे, तँ पनि नपढ्नेहरूसँग लागेर गुच्चा खेल्नेतिर लागिस भनेर दनक दिइहाल्थे । बुबाले थाह पाए त जिउमा सुम्ला बस्ने गरी हान्नुहुन्थ्यो ।

पछि खरिदार टोलका दाइहरूले पनि बल, ब्याट ल्याएका थिए । त्यसमा पनि अवसर कहिल्यै पाइएन । आफू गरिबको छोरो, त्यस्ता खेल सामग्री किन्ने हैसियतै थिएन ।बरू हेमन्त राईले कराते सिकाए, महिनाको ३० रूपैयाँ लिन्थे । यल्लो बेल्टसम्म गरेपछि किक ब्यालेन्स भएन भएन भने एक मौसा (खुट्टाको पञ्जालाई हत्केलाजस्तो स्वरूपमा गालामा हान्ने) दिए, त्यसपछि करातेँ पनि छाडियो । फुटबलमा भने धेरै खेलाडी चाहिने भएकाले अवसर पाइन्थो है । बोक्सेमा नखेलाउने भएकाले प्रायः गाईघाट झर्थेँ, खेल्न पाइन्थ्यो । त्यसले फाइदा पनि गर्या थ्यो । एक पटक खै के कारणले हो, गाईघाट र बोक्सेका युवाहरूबीच ग्याङफाइट पर्या थ्यो, त्यसपछि बोक्सेकाले गाईघाटका युवाहरूलाई जहाँ देख्यो, त्यही ठट्टाउने, गाईघाटकाले बोक्सेकालाई । सबै अफिसहरू बोक्सेमा नगइ नहुने, स्कूल, कलेज मुख्य बजार गाईघाटमा नझरी नहुने । बोक्सेकाले आफ्नै भाइ भन्थे छाडिदिन्थे, गाईघाटका त्यतिखेरका दादा दाइहरूले मलाई प्रायः बजारमै देखेकाले उनीहरू पनि झुक्किए केही गरेनन ।

पछि काठमाडौँ आएर करियर बनाउने क्रममा सनेन्द्र माली, कृष्णहरि नेपाललगायतका दाइहरूले कति पटक बुझाउने प्रयास गरे, मरिगए बुझिन । लगान फिल्म आएपछि साथीहरूले हेर क्रिकेट बुझ्छस भने तीन चोटी हेरेँ, झन कन्फ्युज बनाइ दियो । गेँद, बल्ला र पल्ला भनेर । यो क्रिकेट मेरालागि क्रिथ्रो नै रह्यो ।

अहिले नेपाली क्रिकेट खासगरी युथ-१९, युथ-१७ आदिमा नयाँ पुस्ताका क्रिकेटरहरूले राम्रो प्रगति गरेका छन् । खेलको प्रक्रिया नबुझे पनि समाचार पढ्छु । उपयुक्त लगानी र पूर्वाधार नहुँदा त यति गरेका छन, यदि सरकार, राष्ट्रिय खेलकुद परिषद र निजी क्षेत्रले लगानी गरिदिने हो भने यो पुस्ताले विश्वकपमा नेपालको नाम राख्छ भन्ने मलाई लाग्न थालेको छ ।

Tuesday, July 17, 2012

व्हिलचेयर संवाद

 २०६५ साल असोज ८ भएको सडक दुर्घटनापछि म पूर्ण रूपमा व्हीलचेयर बाउन्ड अर्थात व्हीलचेयर आश्रित भएको छु ।  एक्सिडेन्ट भएको २८ दिनपछि मलाई मेरूदण्डको अप्रेशनका लागि बीएन्डबी अस्पताल लगियो । मैले ठ्याक्कै मिति त बिर्सेँ, अप्रेशनपछि व्हीलचेयरमा राख्नु पर्ने भयो । व्हीलचेयरमै बस्नु पर्ने भयो । त्यसपछि अस्पतालबाटै साथीहरूलाई खबर गरियो । आर्थिक पत्रकार मित्र शिव दुवाडीले इन्डिपेन्डेन्ट लिभिङ सेन्टर, कुपन्डोल देखेका रहेछन, उनैले त्यहाँ गएर व्हीलचेयरको बारेमा कुरा गरेछन् । त्यहाँबाट भोजराज श्रेष्ठले अपांग कल्याण संस्था, अनामगरमा राकेश बाबु हमालसँग व्हीलचेयरबारे कुरा गरिदिएछन् । व्हीलचेयर लिन त गए, कति नम्बरको चाहिने हो उनलाई पनि के थाह? बीएन्डबी अस्पतालका तारा भन्ने फिजियोथेरापिस्ट थिए, उनीसँग सोध्दा भरखर अप्रेशन गरेको ढाडलाई पूरै सपोर्ट हुने गरी २० नंको मगाइ दिए । 
अस्पतालमा त्यो व्हीलचेयर एक कि दुई दिन चढेँ होला । त्यसपछि स्पाइनल कर्ड रिह्याब सेन्टर, साँगा, काभ्रे जानु पर्यो । त्यहाँ पुगेपछि पो ठूलो आकारको व्हीलचेयर कामै नलाग्ने हुँदो रहेछ भन्ने थाह पाएँ । डेढ महिना एसआइआरसी बस्दा रोटरीले बाँड्ने रातो व्हीलचेयर १६ नंको चलाएँ । एसआईआरसीले व्हीलचेयर फाउन्डेशनबाट तीन पांग्रे व्हीलचेयर ल्याएर बेच्दो रहेछ, त्यतिखेर फिटिङ चार्ज भनेर ८००० लिन्थे, अहिले १५००० लिन थालेका रहेछन् । फर्कँदा त्यो एक थान किनेर ल्याएँ । 
२०६५ चैतमा दैनिकी.कममा सम्पादकका रूपमा काम गर्न थालेँ, एसआईआरसीबाट ल्याएको व्हीलचेयर त्यसको स्वरूपका कारण घुम्न पनि समस्या हुने, मूल कुरा त ट्याक्सीमा हिड्नु पर्दा फोल्ड नै नहुने । त्यो चलाउँदै नचलाइ राखियो भने पनि हुन्छ । फेरि  अपांग सहायाता केन्द्र, अनामगरमा अनुरोध गरेर १६ नंको व्हीलचेयर लिन आफै गएँ । व्हीलचेयर लिएर फर्कँदा गेटमा नराम्रोसँग लडेँ, मानिसहरू आएर उठाइदिए । 
त्यो व्हीलचेयरको ब्रेक र सिटलाई लक गर्ने प्लास्टिकको लकर भाँचिएपछि समाज कल्याण परिषदअन्तर्गतको अपांग कल्याण केन्द्रमा गएर श्रीमतीले व्हीलचेयर ल्याइदिइन, यो लगभग २५ किलो जतिको छ । सहज छैन चलाउन त्यही पनि बाध्यताबस चलाइरहेको छु । ह्यान्डरेष्ट छैन, बस्दा कुच्रुक्क परेर बसेजस्तो हुन्छ । असाध्यै ब्याक पेन हुन्छ, चक्का नजिकको साइडबार ननिस्कने, फिक्स्ड प्रकृतिको भएकाले ट्रान्सफर हुनेवेलामा एक जना चाहिन्छ ।
मेरो पेशा नै त्यही प्रकृतिको भएकाले बेलाबेलामा बाहिर भेटघाट, जमघटहरूमा गइरहनु पर्छ । सहर व्हीलचेयरमैत्री छैन । भवनहरू व्हीलचेयरमैत्री छैनन । त्यही भएकाले कतिपय अवस्थामा त आयोजकहरूले तीन-चार तल्लासम्म बोकेर लानु पर्छ । उनीहरूले कठिनाइ भोग्नु पर्ने त छँदैछ, मलाई समेत डर र संकोच हुन्छ ।
धेरै लामो समयदेखि म बाहिर निस्कनका लागि एउटा हलुका, ट्रान्फसरमा सजिलो, व्याक सपोर्ट, ह्यान्ड र फुटरेष्ट सहितको व्हीलचेयर र अर्को इलेक्ट्रिक व्हीलचेयर खोजिरहेको छु (करिब दुई वर्ष खेतान समूहका अध्यक्ष श्री राजेन्द्रकुमार खेतानले १००० डलर र मेरो आफ्नो लगानीसमेत गरी तीन पाङ्ग्रे स्कुटर त किनेँ, तर ट्रान्सफर तथा चलाउने प्राक्टिस नपुगेर त्यो काम नलाग्ने भयो) । भारतीय कम्पनीको नेपाली रोड सुहाउँदो  इलेक्ट्रिक व्हीलचेयरलाई २ लाख ३० हजार पर्दो रहेछ । चाइनिजचाहिँ १ लाख ७० हजारसम्मै आउने रहेछन्, यत्रो लगानी गरेर व्हीलचेयर किन्ने सामर्थ्य ममा नभएकाले केबल रहर भएको छ ।

Monday, July 16, 2012

अव्यक्त प्रेम

मान्छे, बल्ल आफूले पिडा पाएपछि
अरुका पिडा बुझ्छन्।
हो, तिमीले प्रेममा गुमाएपछि
बल्ल मेरो प्रेम बुझ्यौ
जति बढी कष्ट सह्यो
उति पलाउँछ/फैलिन्छ प्रेम
न घृणा बन्छ, न बदला लिन्छ कहिल्यै
चाहनाको सीमा हुँदैन
शायद बन्धन पनि
पाउनुमात्र होइन प्रेम
यो त साधनामा हुन्छ, प्रार्थनामा हुन्छ
बाँच्ने तरिका सिकाउँछ प्रेम
अभावमा, भोकमा, पिडामा
सुखमा, उन्मादमा
मिलनमा, बिछोडमा
जीतमा, हारमा।
हृदयमा फैलिन्छ यो
आँखाबाट बग्छ
ओठबाट फैलिन्छ
तिमी मुस्कुराउ हरपल
चाहना केवल यति छ
म चिताबाट पनि
तिम्रो उज्वल मुहारमा
खुसी देख्न चाहन्छु
आँशुजति मेरै भागमा परुन्
तिमी सुखी रहु
कामना छ केबल यति।
–बुढाथोकी गजेन






Wednesday, July 11, 2012

आँशु सम्बाद

रातभर रोए पछि मन हलुका भएको छ
पीडा जति धोए पछि मन हलुका भएको छ
धेरै कुरा भन्नु थियो, सुन्नु थियो
तिमीले छोए पछि मन हलुका भएको छ
रातभर रोए पछि मन हलुका भएको छ
(गजल लेख्न खोजेँ, पूरा भएन, त्यही भएर यसलाई दुई शेरमा सीमित पारेँ , मुक्तकका रूपमा)
-------------------------------
यो मन कति कमलो छ, मनभित्रका मान्छेले जायज कुरा भन्दा पनि दुख्दो रहेछ ।  यस पटक त्यस्तै भयो । हिजो बेलुकी म आफैलाई सम्झेर, परिस्थितिलाई सम्झेर धेरै बेर रोएँ । स्पाइनल कर्ड इन्जुरीपछि स्वेच्छिक मृत्यूवरण (इथानेसिया) बारे बनेको सिनेमा गुजारिस छैटौँ पटक हेरेँ, अनि रोइरहेँ, आँखालाई बग्न दिए, खुल्ला ।  रूनुको पनि विशेष अर्थ छ,शायद आँशुले पीडा बगाउँछ । बिहान उठ्दा मन हलुको भयो अनि टबेल बाथ गरेँ ।

असोज ८ गतेको एक्सिडेन्टपछि २०६५ असोज ११ गते टिचिङ अस्पतालको एउटा सिकारू डाक्टरले तीतो शैलीमा "अब तेरो जिन्दगी यस्तै हो, ड्यामेज्ड" भन्निदाँ रोएको थिएँ, धेरै बेर । अनि अप्रेशनपछि एसआईआरसीमा पुग्दा पहिलो रात बिरक्तिएर रोएको थिएँ ।
त्यसपछि आफूले आफैलाई सम्हालेर कर्मक्षेत्रमा फर्किए । चार वर्ष भयो, व्हीलचेयरमै बसेर नियमित काम गरिरहेको छु ।
जीवनलाई जति सुन्दर बनाउन खोज्छु, झन्-झन घिनलाग्दो बन्दै गएछ । यो स्पाइनल कर्ड इन्जुरी त सबैभन्दा ठूलो कु-कर्म/ पाप गर्नेलाई पनि नहोस्, साला जिन्दगी । दिसा-पिसाब थाह हुँदैन । सरसफाइ नगरौँ, फोहरी बसौँ त कसलाई पो मन हुन्छ र?
मैले आफूलाई कमजोर बनाउन खोजेको होइन , न त कमजोरी नै देखाउन खोजेको हो के गर्ने कतिपय परिस्थिति आफ्नो नियन्त्रणबाहिर हुँदो रहेछ । अनि मनको पल्लो कुनामा दुख्छ चसक्क, अर्काको सहारामा बाँच्नुको पनि अर्कै बिडम्बना छन । जुनकुरा शब्दमा व्याख्या गर्न गाह्रो छ ।
हरेक बिहान ८ बजे श्रीमतीले व्हीलचेयरमा ट्रान्फर गराइदिएर जान्छिन, बेलुका एकै पटक ८ बजे बेडमा ट्रान्सफर हुने हो । अनि व्हीलचेयरमै बसेर काम गर्छु । जसले गर्दा साथीभाइ आउँदा लथालिङ्ग अवस्थामा हुन्छु । आफैलाई ग्लानी महसुस हुन्छ, अनि त्यसै आँखा रसाउन थाल्छ........
---------------

आत्मसंवादः एक आत्मवार्ता

 मेरो पुरानो ब्लग pen4peace लाई रूपान्तर गरेर gajenomics.blogspot.com मा परिणत गरे पनि त्यसलाई मैले विशुद्ध आर्थिक लेखनीको ब्लगमा कायमै राखेर साहित्य र भावनाका लागि यो नयाँ ब्लग आरम्भ गरेको छु । कतिपय कुरा फेसबुक स्ट्याटसमा लेखिसकेका भए पनि त्यसलाई विस्तारित रूपमा लेख्न यसलाई प्लेटफर्म बनाउने छु ।
गजेन्द्र बुढाथोकी