Monday, November 12, 2012

कथाः रसूवाघाटको हुरीले उडाएन मायाँ

-गजेन्द्र बुढाथोकी-
रसुवाघाटमा चिसो बढेको छ । सुनकोशीको सिरेटोले हान्छ । छाना मक्किएछ, जुनले आकासबाट चिहाएपछि ठूलीले खुइय्या सुस्केरा हालेर मनमनै भनि । मंगली र डल्ले जाडोले गुँडुल्की परेका थिए । टुकीको धिपधिपमा ठूलीको घर-कम-हुटेल खण्डहरजस्तै देखिएको थियो । ठूलीले आफ्नो पुरानो मजेत्रो तानी र दुवैलाई ओढाइ दिइ, बाहिर भरखर ब्याएकी काली कुकुर्नी कुइ-कुइ गरिरहेका आफ्ना छाउरा-छाउरीलाई दूध चुसाउँदै थिइ ।

दिउँसोतिर साइला आफ्नी स्वास्नी र छोरा बोकेर ओख्रनीतिर चढेको देखेदेखि ठूलीका मनमा चैन छैन । बाटो पारी सिरान घरेका दोकानमा साइँलाले स्वास्नी र छोरालाई चिया र बिस्कुट ख्वाएको उसले आफ्नो दैलो किनारबाट हेरिरही ।

 "मुर्कट्टा तँ मूला दमैसँग जाने देखिस, अहिले यही खुर्पाले दिएर कोशीमा झार्दिन्छु अनि.... "१५ वर्षअघि साइँलाले मेला जाँदा पिरतीको भाका व्यक्त गर्दा आफैले भनेका शब्द ठूलीका कानमा गुन्जिरहेका थिए, "म त ठकुरीकी छोरी, राजखान्दान हुँ, राजखान्दान ।"

 उनका बाउपुर्खा कहिले कहाँका राजा थिए, त्यो भने ठूलीलाई थाह छैन ।

 दोहोरो ज्यानकी ठूली वरपर साइला घुम्न भने छाडेन, तर ठूलीका रिसको झ्वाँकमा एकचोटी परिसकेको उसले नजिक पर्ने हिम्मत भने गरेन । हरेक मंगलबार उनीहरू गाईघाट झर्थे, कहिले सिन्कौली बोकेर त कहिले सुन्तला, निबुवा बोकेर । साइला भारी बोक्थ्यो, साहुहरूको  । सुरिलो मुरली बजाउँथ्यो उ ।

पहिलो पल्ट बाबरीमा देख्या हो, उसले ठूलीलाई । ठूल्ठूला आँखा, चन्चले स्वभाव, चुस्स परेको नाक । पोटिला गाला । हजार जनाको भीडमा पनि नहराउने जस्तो । पहिलो पल्टकै देखादेखमा साइला भुतुक्क भएथ्यो । कहिल्यै नाम सोध्ने हिम्मत आएन, गाईघाट जाने फर्कने क्रममा अरूले बोलाएको सुनेथ्यो, ठूली । एक दिन खाँबुबाट अलि तल झरेपछि ठूलीको खुट्टामा मैदाल बिझेछ, सबै साथीभाइ अगाडि गइसक्या थे । पछिपछि रहेको ठूलेले हतारहतार आफ्नो ढाकर बिसायो र खुट्टा समातेर मैदालको काँडा झिकिदियो । काँडा झिकेको ठाउँबाट रगत बग्न थाल्यो । बनमाराको मुन्टा निचरेर लगाइ दियो । पैतला भतभत पोल्न भने छाडेन । साइलाले फुफू गरेर फुकिदियो,

ठूली म तिम्लाई औधि मन पराउँछु, तिम्ले मान्यौ भने जिन्दगीभरि यसरी नै पैतला फुकेर बसौँला... सकिनसकी उसका मुखबाट फुत्कियो ।

"मुर्कट्टा तँ मूला दमैसँग जाने देखिस, अहिले यही खुर्पाले दिएर कोशीमा झार्दिन्छु अनि.... " ठूली सिंहझैं गर्जिइ,"म त ठकुरीकी छोरी, राजखान्दान हुँ, राजखान्दान ।"

यति हो, ठूली र साइलाको सम्बन्ध ।

गाईघाट झर्दा ठूलीका हुलबाट उसँधै टाढा पर्थ्यो, टाढैबाट हेरिरहन्थ्यो । फेरि आँट गरेर भनौँ कि भन्ने नलागेको होइन, तर जातको तगारोले उसलाई रोक्यो । धेरै वर्षअघि त्यहाँका ठकुरीहरूले छोरीचेलीलाई आँखा लगाएको भनेर रसुवाघाटै बेपार गरिबस्ने एउटा नेवारलाई कुटीकुटी मारेको कथा उसले सुनेको थियो ।

त्यहीबेलामा माओवादीको विद्रोह सुरू भयो । साँझसाँझ माओवादी कमरेडहरू गाउँगाउँ छिर्थे, प्रचन्डपथ लेखेका कितापहरू बाँड्थे, गाउँलेहरूलाई माओवादीमा लाग्न भन्थे । "जनताको मुक्ति हुन्छ, धनी गरिब सब बराबर हुन्छन, जातपात बराबर हुन्छ," मनकामना भन्ने कमरेडले रसुवाघाट पुल छेउमा उभिएर लामै भाषण गरिन । खोटाङ ६ नं इलाकाबाट भर्ति खुल्ने भो । साइला जनमुक्ति सेनामा लागेर वन छिर्यो रे गाउँमा हल्ला चल्यो ।

पछि गाईघाटतिरबाट सेनाहरू आए । सेनाको टुकडी वारी क्याम्प बनाएर बसेको थियो । ड्रेसमा हिडेका सेनाका जवानको रवाफै बेग्लै । तरूनी-बरूनी केटी देखे जिस्काउँथे, केटाहरू देखे, साला माओवादी तातो गोलीले भुन्दिउँ भनेर थर्काउँथे । वनजंगलमा घाँसदाउरा गर्न जान, एक्लै हिड्न त्राहिमाम थियो ।

एक दिन सेनाको जवान अग्लो, हृस्टपुस्ट, अष्टबहादुरले ठूलीलाई फकायो ।

"बुझ्यौ, राजाको सेनामा छु, १० हज्जार तलप खान्छु । जागिरै छाडे पनि सात हल जाने खेत छ, राम्रैसँग पाल्छु हउ," उसले एकान्तमा हात समातेर भनेको थियो ।

एकातिर त्रास अर्कातिर निकै तलप खाने ठकुरीकै छोरा भनेपछि ठूलीको मन सुरक्षा र सम्पतिको मोहमा राम्रैसँग पग्लियो । दुवैले घरजम गरे ।  अष्टबहादुर सेनामा जागिर खाने, ठूली रसुवाघाटमा बेपार गरिबस्न थाले

२०६२ सालमा ठूलै आन्दोलन भयो अरे सहरमा, अनि सदरमुकामतिर ।

"हेर ठूली क्याम्प फिर्ने भो, म तिमीलाई छिट्टै लिन आउँछु," ०६३ वैशाख १४ या १५ गतेतिर एक साँझ अष्टबहादुरले कुम्लोकुटुरो कस्दै भनेको सम्झना छ, ठूलीलाई । त्यतिखेरसम्म मंगली र डल्ले जन्मिसकेका थिए ।

तर अष्टबहादुर कहिल्यै लिन फर्केन । गाईघाटमा ठूलो क्याम्पमा गएर पनि लेफ्टेन, क्याप्टेनहरूलाई पटक पटक भनी । तर अष्टबहादुरको सरूवा पश्चिमतिर भएको भन्दै उसको कुनै उजुरबाजुर लागेन । पछि सुनी- अष्टबहादुरको त पश्चिमकतातिर पहिलेकै घरबार छ रे ।

दोकानमा राखेका सामानहरू अलिअलि गर्दै सकिन थाले, अब त रसुवाघाटमा जाँड र रक्सी बेच्नुबाहेक अरू केही सीप रहेन ।

०६९ सालको दशैंमा साइला, स्वेच्छिक अवकास रोजेको कमरेड भीष्मप्रतिज्ञा बनेर गाउँ फर्कँदै थियो । सरकारले दिएको पाँच लाख रूपैयाँले गाउँमै गएर केही व्यापार-व्यवसाय गरौँला भनेर जनमुक्ति सेनामै भेट भएकी मालती चौधरी र दुई वर्षको छोरा बोकेर उ उकालो चढ्दै थियो ।

"साइलाले देख्यो कि देखेन, देख्यो भने के सोच्यो होला है, मेरो बिजोक देखेर हाँस्यो होला, खुब घमण्ड गर्थी भेटी भन्यो होला...."कोल्टे फर्केर ठूलीले सिरानीमा तरक्क आँशु चुहाइ

No comments:

Post a Comment