Monday, September 10, 2012

किथ्रो, क्रिकेट र म

केही वर्षअघि नेपाल समाचारपत्रमा कार्यरत रहँदा उज्ज्वल आचार्यले हो या विनोद पाण्डेले कुनचाहि पत्रिकामा क्रिकेटमा गोल भो भनेर लेख्यो भनेर खुब हाँसो उठाउँथे, मेरा हकमा पनि लगभग त्यस्तै अमूर्त थियो क्रिकेट
, किरण मानन्धरका चित्रजस्तै । न क्रिकेटलाई मैले कहिल्यै बुझेँ, न क्रिकेटले मलाई । हाम्रातिर पाइने किथ्रो भन्ने किरालाई अंग्रेजीमा क्रिकेट भनिदो रहेछ । मेरा लागि किथ्रो र क्रिकेट उस्तै नै भयो । बरू क्रिकेटसँग मेरो सानो इगो रह्यो ।

म सानै हुँदा बस्नेत टोलका केटाहरूले क्रिकेट ब्याट, बल, स्टम्प आदि क्रिकेट सामग्री किनेर ल्याएका थिए । उनीहरू खेल्नका लागि भूसंरक्षणको मैदान (हाल सेनाले कब्जा गरेको ठाउँ)तिर झरे, म पनि पछि पछि लागेँ । उनीहरू पनि जान्ने त होइनन, तर तीमध्ये एउटा अलि जान्नेसुन्ने थियो, उसैले अरूलाई सिकाउँदै थियो । एउटाले रूप्पी मार्न बाँसघारीमा ढुंगा हानेजस्तै गरेर हान्थ्यो, अर्कोले लुगा कुट्ने मुङ्ग्री (हाम्रो आमाले लुगा धुँदा लुगा कुट्ने मुङ्ग्री त्यस्तै थियो) जस्तोले घोचामा लाग्न नदिने गरी खै कसरी कसरी फुत्त घुमाउँथ्यो । धेरै बेर कुर्दा पनि तर मलाई खेल्न त के छुनसम्म दिएनन । मञ्चमा बसेर हेरिरहे । एक पटक बल छुँदा एउटा( नाम नलेखौँ)ले नाक भाँच्चीञ्जेल दियो । रूँदै तिमीहरूका खेल तिमीहरू नै खेल, नखेलेर मर्छु र भनेर फर्किएँ । अनि चोकका साथीहरूसँग गुच्चा खेल्नतिर लागेँ, त्यो पनि सहजै खेल्न कहाँ पाउनु । पढ्नमा म तीक्ष्ण थिएँ, ५ कक्षाको जिल्लास्तरीय परीक्षामा जिल्लामै दोस्रो भएको थिएँ , अनि चिनेजानेका जसले देखेपछि घिच्चुकमा मर्ने गरी हान्थे, तँ पनि नपढ्नेहरूसँग लागेर गुच्चा खेल्नेतिर लागिस भनेर दनक दिइहाल्थे । बुबाले थाह पाए त जिउमा सुम्ला बस्ने गरी हान्नुहुन्थ्यो ।

पछि खरिदार टोलका दाइहरूले पनि बल, ब्याट ल्याएका थिए । त्यसमा पनि अवसर कहिल्यै पाइएन । आफू गरिबको छोरो, त्यस्ता खेल सामग्री किन्ने हैसियतै थिएन ।बरू हेमन्त राईले कराते सिकाए, महिनाको ३० रूपैयाँ लिन्थे । यल्लो बेल्टसम्म गरेपछि किक ब्यालेन्स भएन भएन भने एक मौसा (खुट्टाको पञ्जालाई हत्केलाजस्तो स्वरूपमा गालामा हान्ने) दिए, त्यसपछि करातेँ पनि छाडियो । फुटबलमा भने धेरै खेलाडी चाहिने भएकाले अवसर पाइन्थो है । बोक्सेमा नखेलाउने भएकाले प्रायः गाईघाट झर्थेँ, खेल्न पाइन्थ्यो । त्यसले फाइदा पनि गर्या थ्यो । एक पटक खै के कारणले हो, गाईघाट र बोक्सेका युवाहरूबीच ग्याङफाइट पर्या थ्यो, त्यसपछि बोक्सेकाले गाईघाटका युवाहरूलाई जहाँ देख्यो, त्यही ठट्टाउने, गाईघाटकाले बोक्सेकालाई । सबै अफिसहरू बोक्सेमा नगइ नहुने, स्कूल, कलेज मुख्य बजार गाईघाटमा नझरी नहुने । बोक्सेकाले आफ्नै भाइ भन्थे छाडिदिन्थे, गाईघाटका त्यतिखेरका दादा दाइहरूले मलाई प्रायः बजारमै देखेकाले उनीहरू पनि झुक्किए केही गरेनन ।

पछि काठमाडौँ आएर करियर बनाउने क्रममा सनेन्द्र माली, कृष्णहरि नेपाललगायतका दाइहरूले कति पटक बुझाउने प्रयास गरे, मरिगए बुझिन । लगान फिल्म आएपछि साथीहरूले हेर क्रिकेट बुझ्छस भने तीन चोटी हेरेँ, झन कन्फ्युज बनाइ दियो । गेँद, बल्ला र पल्ला भनेर । यो क्रिकेट मेरालागि क्रिथ्रो नै रह्यो ।

अहिले नेपाली क्रिकेट खासगरी युथ-१९, युथ-१७ आदिमा नयाँ पुस्ताका क्रिकेटरहरूले राम्रो प्रगति गरेका छन् । खेलको प्रक्रिया नबुझे पनि समाचार पढ्छु । उपयुक्त लगानी र पूर्वाधार नहुँदा त यति गरेका छन, यदि सरकार, राष्ट्रिय खेलकुद परिषद र निजी क्षेत्रले लगानी गरिदिने हो भने यो पुस्ताले विश्वकपमा नेपालको नाम राख्छ भन्ने मलाई लाग्न थालेको छ ।

No comments:

Post a Comment