Saturday, August 12, 2017

पानीको प्रहार

-बुढाथोकी गजेन-

पानी, जीवन दिन्छ प्राणीलाई
तर, जीवन पनि छिन्छ उसैले
उर्लँदै राैद्र रुपमा
बगाउँदै उर्बर भूमि
पानी पुजिन्छ पनि
तर प्रलय ल्याउँदै
आकास घोप्ट्याउँछ समुद्र
गरिबका आगनमा!
हे राम हे रहिम
आशा तेरो यदि बाँकी छ कतै भने
किन आउँछस्, संकट बनी
हरेक वर्ष रूप फेरिफेरि?
भत्कियो ओतकाे छानाे पनि
विचल्ली परेका लालाबाला
अतालिएका बाख्रापाठा
डुब्दै गएको तिलस्मी मायाको घर
शक्तिको उन्माद देखाउँछ
साला, एक खहरे भंगालाे पनि
मानिलिउँ यही बेला प्रलय ल्याउँदैछ ।
जवानी हुँदैन सँधै नै उस्तै
बिलाउनु, अस्ताउनु पनि छ
आखिर त्याे पनि त कुनै दिन ।
गेग्र्यानमा फल्ने छैन अन्न
आँशुका भेल बग्दैछ
आगन पसेको नहरसँगै
बोकेर आउनेछन्
दुइचार मुठ्ठी चिउरा
फ्याँकिएको जडारी
अलिकता आशा बोकेर
राहतवीरहरू
अनि,
पानी, रक्सी र चाउचाउ बेचेर
अर्ब कमाउनेहरू
समाजसेवाका प्रचार गर्दै
विज्ञापनमा उद्धार र राहतका
कमाल देखाउन छन् ।
***
-कुटी/बालुवाखानी, कपन
(तस्बिर साभारः नागरिक दैनिक)


Wednesday, April 12, 2017

कविताः तस्बिर संवाद

-बुढाथोकी गजेन-

म उदास भएको पल
तिम्रो तस्बिर चिहाउँछु 
तस्बिर बोल्दैन मनका भावना
मेरा हरेक तर्कहरूमा
जनाउँदै माैन समर्थन
तिमी बोलिदिएजस्तो लाग्छ ।
अस्ताउँदो घाम
उदाउँदो जुन 
एक पलको गोधुली
सजाइएका म्यानेक्विनहरूले
बोल्दैनन उम्लिएका ज्वारभाटा
बक्ररेखामा कोरिएको भाग्य
अधुरा चाहना
धुँवा त तिमीले देख्याै होला
वन डढेलोको त्यतै कतै
मन ढडेको पो यहाँ कसले देख्छ र?
स्वार्थी छ संसार
तिमीले बुझ्न बाँकी नै छ
फूल देखाएर काँडामा धकेल्न
तत्पर हुन्छन् मान्छेहरू
उर्लिँदा मनका चाहना
असरल्ल नपोखिनु
वर्षायाममा खहरे त जो पनि बन्छ
नीलो शान्त समुद्र
गहिरो सागरमा हराउँछ सगर पनि
अलिकता आकास खुलेका दिन
बिहानै हेर्नु
सुनाैलो घामका झुल्कामा
अलिकता न्यानो महसुस गर्याै भने
म त्यहीँ-कतै हुनेछु
भावनाको सम्बन्धमा 
नदी किनारमा कतै
माटीकोरेको मुखमा छट्पटाउँदो माछा देखे
सम्झनु जिन्दगीको लडाइमा
लड्दै छु म त्यतै कतै ।
फेरि पनि स्नेह त बाँड्नु नै छ ।
आँखाभरि, मुटुभरि ।
-कपन, बालुवाखानी