Friday, November 28, 2014

दर्जीको नसिइको मन





नामः कालुमान दर्जी
उमेरः ५२ वर्ष

खटटटटटटटटटटट एकहोरो मेसिनका अवाज चलिरहेको छ ।
दुर्गाका कुर्ता सकिदिनु पर्ने बिहेमा जानु छ भन्दै थिइ ।......मोरीका जीउ कस्तो टमक्क कसिएको....छातीका उकास पनि मज्जैले भइसकेछ । मैले देख्दादेख्दै जन्मेकी, पातली, पिलन्धरी थिइ । खाली रूइरक्थी । दूध कटुवा हो त्यो । त्यो वर्षीकी नहुँदै बाहुनीले फेरि बोकिछे, क्यार्नु । उमा नभइदेकी भए त मर्थी होला, उमाले दूध ख्वारै हुर्की । के गर्नु अाफ्नो बिग्री गो........
कालुमान मनसंवाद गर्दै विगतमा फर्कियो ।
............
१६ वर्षे जवानी थियो । कालुमान असाध्यै राम्रो गीत गाउँथ्यो ।
"तैंले गीत गाइस भन्दिन्खुन त । रेड्योको नारान गोपालजस्तै लाग्छ", भन्थी उर्मे ।
चुस्स परेका नाक, गोरी । ठूल्ठूला अाँखा, ठूलो निधार, लामो कपाल । सँधै हाँसिरहने बानी । उर्मिलामा जोकोहीलाई पनि  अाकर्षण गर्ने शक्ति थियो ।
बढ्न बिर्सेको कालु । नामजस्तै अलिअलि कालोकालो । राख्न त बाबुले नाम राजेश राखेका हुन । बाउ राजेश खन्नाका फ्यान थिए रे, दिल्लीमा दरबानी गर्दा खुब फिलिम हेर्थे रे । धनका लोभ पलाएछ, अाफू पाले बसेकै घरबाट गरगहना चोरेछन, पुलिसले उतै पक्रेछ । जेल हालेछ । राजेश दर्जी, कालुकै नामबाट बोलाइन्थ्यो । अामाले पछि अर्को बे गरिन । कान्छा बाउ मानबहादुर पट्टीका २ जना भाइहरू छन, उनीहरू परियार लेख्छन, पढेका छन । काठमाण्डूमा बस्छ ठूलो भाइ प्रकाशकुमार । सिनिमा खेल्छ रे ।  कान्छो भाइ सदरमुकाममामा छ । कान्छबाउ नेता हुन, कम्निष्ट पार्टीका । ०५४ सालमा गाविस अध्यक्षमा उठेका थिए, हारे । उनी पार्टीको भातृ संगठन दलित अधिकार रक्षा मञ्चका केन्द्रिय महासचिव । भाइ दिलिप त्यसकै कार्यक्रमहरू चलाउँछ, जिल्लामा । मोटरसाइकिल चढ्छ ।
कालुमानलाई कहिल्यै कान्छबाउले माया देखाएनन । स्कूल कुन चराको नाम हो, उसले कहिले थाह पाएन । नागरिकता त बनाइ दिए, तर नागरिकतामा नाम लेखाइ दिए, कालुमान दर्जी ।
उर्मे, अर्थात उर्मिला । परियारै जातकी भए पनि, अलि हुनेखाने परिवारकी, टन्नै खेतबारी छ । लामो ठूलो अागन भएको, काठको घर छ । दहलमान कान्छाकी कान्छी छोरी । उर्मिलाकी दिदी हो उमा । कालुमानभन्दा २ वर्ष जेठी । पहिलो घरबार बिग्रेर माइतीघरै बस्थी, रूपरंगमा त कमी हैन, तर बालबच्चा भएन भनेर लोग्नेले कान्छी ल्याएछ । साकैतासँग बसीखान सकिन, अनि माइतै बस्न थाली ।
दहलमानले बडाहाकिम, चक्रमान थापाका खुब सेवा गरे । थोरैतिना अक्षर चिनेका । डिठ्ठा लीलबहादुरका संगतले कागजपत्र लेख्न जाने । ०१७ सालपछि बडाहाकिमका जागिर सकियो, बडाहाकिमहरू झापा फर्के । दहलमानलाई पञ्चायतले पत्यायो, सरकारी जागिर दियो । उनी दलित बस्तीका अर्का बडाहाकिमका रूपमा उदाए ।
दहलमानकी छोरी ताक्नु चानचुने कुरा थिएन । पुलिस लगाएर थुनाइदिन सक्थे । पोहर सालकै कुरा हो, महाभारेका केटाहरू देउसी खेल्न अाउँदा उर्मीलाई नाच्न हात समातेर तानेछन । दहलमानले पुलिस लगाएर ती ४ भाइलाई थुनाइ दिए ।
..............
"उर्मी (उ उर्मेबाट उर्मीमा उक्लियो) एउटा कुरा भन्छु, मान्छेस", मन उद्वैलित थियो । दहलमानको डर पनि थियो ।
"भन न, के कुरा ।"
एक छिन अनकनायो, हिम्मत जुटायो
"मसँग ब्या गर्छस ......"
उर्मिलाले केही जवाफ दिइन ।
भन्न न मसँग ब्या गर्छन ।
"म विचारेर भन्छु"
..............
त्यसपछि उर्मिला नजिक पर्न छाडी । कालुमानलाई देख्दा पनि नदेखेझैं व्यवहार गर्न थाली । साथीहरूसँग भन्थी रे, त्यो कालो, पोल्दापोल्दै उम्केजस्तोले मलाई ब्या गर्छु भन्यो ।
कालुमानका मन साह्रै कुँडियो । उसले दिल्ली जाने विचार गरेर घर छाडेर हिड्यो
...........
जोगबनीमा उसका पैसा लुटियो, बाटोमा विचल्ली पर्यो । विराटनगरको एउटा घरमा आग्रह गर्यो, त्यही काम माग्यो । ती काङ्ग्रेस नेता मधुवन शर्माको घर रहेछ । भाँडा माज्ने, वस्तु हेर्ने काम पायो । उ मधुवन दासँग कहिलेकाँही कोइराला निवास पनि जान्थ्यो । राजनीतिका कुरा अलिअलि बुझ्न थाल्यो । ०३६ सालका जनमत संग्रह भन्थे, मधुवन दाले कालुमानलाई कागतपत्र बोकाएर गाउँगाउँमा लगे ।
अर्थात, उ काङ्ग्रेस भयो ।
.............
२ वर्षपछि उ गाउँ फर्कियो, तर उर्मिला गाउँमा थिइन । पूर्व धरान बिहे भयो रे, प्रधानपञ्च जगतमानका छोरासँग । खिस्रिक परेर फर्किन लाग्या थ्यो ।
"ए, कालुमान । के गर्दैछस नि विराटनगरमा?" उमाले भनी
"काम त खासै केही गर्दिन। प्रजातन्त्रका अान्दोलनमा लडिराछु," नेताका भाका बक्न थालेको थियो, कालुमानले पनि । लवाइ खुवाइ पनि जानेको । कालोकालो भए पनि हिस्सी देखिन थालेको थियो ।
..........
एक दिन साल्घारीको पानीदहमा कालुमान नुहाउँदै थियो । पानीदह, जरूवापानीको मुहान, बाह्रैमास पानी अाउनी । गाउँका खानेपानी लिने, नुहाइधुवाइ गर्ने एउटै थलो ।
उमा पानी लिन अाइ, कालुमानले छेउ सरेर ठाउँ थियो ।
गाग्रा भरी, माथिदेखि तलसम्म कालुमानलाई हेरी ।
कालुमान मयलमाड्दै थियो ।
"जिउ त निकै बलियो रैछ"
उमा जिस्की ।
"बसी खाइ लागेको", कालुमानले भन्यो ।
"विराटनगरमा त राम्राराम्रा अाइमाइहरू हुँदाहुन है", उमा अर्कै मुडमा थिइ ।
"तिमेरू जतिको त हैन..."कालुमान पनि के कम ।
"फुर्काउँछस"
"साँच्चै, गाईखाने होला । तिमीहरूजस्ता राम्रा केटी पाए त जसले पनि लान्छ"
"मलाई लान्छस त?"
अचानक तेर्सिएको यो प्रश्नले कालुमान स्तब्ध भयो । एक छिन जवाफ दिएन, जिउ यताउता चलाउन थाल्यो ।
"तिमी त.....".मात्र भन्यो ।
"जारी लाग्दैन, त्यो नामर्दोलाई छाडिसकेँ, ४ साल भो । त्यसले अर्कै घरबार गरिसको । अाफ्नो बीउ कमजोर छ, अाइमाईलाई दोष दिन्छ, नामर्दो," उमाले घृणाले पिच्च थुकी।
"हैन, मैले त्यसो भन्न् खोज्या हैन, तर पनि तिमीसँग......".कालुमानले कुरा अधुरै छाड्यो ।
"कि तिम्रो पनि सामानले काम गर्दैन?" उमाले त्यही औंल्याउँदै उसको पुरूषत्वमाथि नै प्रहार गरी
"गर्छ कि गर्दैन, त्यो त सुतेपछि थाह हुन्छ," १८ वर्षको लक्का कालुमान पनि के कम ।
.........
भोलिपल्ट गाउँमा हल्ला भयो, कालेले उमालाई भगायो रे । कालुमान विराटनगर पनि गएन । उनीहरू सर्लाही पुगे । उमाले अलिकता गहना गुरिया ल्याएकी थिइ, त्यही बेचेर कल मिसिन किने । सिलाइका काम थाले ।
उमा गर्भावती त भइ, तर ७ महिना नपुग्दै बच्चा बिग्रियो । ०४० सालका कुरा थियो यो । उता छिमेकी कुलभद्र बाहुनका ४ बहिनी छोरी नै छोरी थिए, बर्स्याउनीका । पिण्ड दिन छोरा त चाहिन्छ भन्थे ।
"अहिलेका जमानामा पनि यस्ता कुरा गर्ने बाजे? छोरी पनि शक्ति हुन, उता हेर त इन्दिरा गान्धीले हिन्दुस्थानमा देश चलाइराकी," अलिअलि राजनीतिक चेत पसेको कालुमान भन्थ्यो ।
"त्यस्तो हुँदैन, कालु दर्जी । तिमी शास्त्रका कुरा बुझ्दैनौ," भन्थे कुलभद्र ।
त्यही बेलामा जन्मेकी हो, दुर्गा ।
भाइ पेटमा अाएकाले दूध राम्रोसँग खान पाएकी थिइन, यता उमा बच्चा खेर गएका कारण दूध गान्निएर मर्नु न बाँच्नु हुन्थी । उसैले दूध चुसाउँथी दुर्गालाई ।
.........
०४२ सालमा फेरि उमाको पेट बस्यो । तर यस पटक स्थिति झनै खराब भयो । अत्याधिक रक्तश्राब भयो, स्वस्थ्य चाकीमा लाँदा बाहिर लानु पर्छ भने । कालुमानसँग त्यति पैसा थिएन । त्यही रक्तश्राबले उमाको ज्यान गयो ।
.......
कालुमान विरक्तिएर माझ गाउँ फर्कियो । उ एकहोरो कुरा गर्थ्यो, पंचायती व्यवस्थाले स्वास्नी मारिदियो भन्थ्यो । प्रजातन्त्र अाउँछ भन्थ्यो । बिहानैदेखि रक्सी पिउँथ्यो । होहल्ला गर्दै हिड्थ्यो ।
"त्यो उर्मी मेरै हो, जेठी पनि मेरी, कान्छी पनि मेरी । मेरो पिरेम भत्कार बे गरिदियो दलेले । म फिर्कार ल्याउँछु," भन्दै हिड्थ्यो ।
सुरूसुरूमा त बाैलाह भनेर कसैले वास्ता गरेनन, अति भएपछि दहलमानले व्यवस्थाविरोधी भनेर प्रशासनमा उजुरी गरे र कालुमानलाई जेल हालिदिए ।
...........
२०४६ मा प्रजातन्त्र अाएपछि ०४७ सालमा कालुमान छुटे । तर उनलाई प्रजातन्त्र अाएन, किनकी उनका ससुरा दहलमान पहिला नै काङ्ग्रेस भइसकेछन् । ०४८ सालमा काङ्ग्रेसले दहलमानलाई सांसदको टिकट दियो, दहलमान कडा काङ्ग्रेस भएर निस्के । कालुमान पटकपटक कोइराला निवास पुगे । मधुवन दाका कहाँ पुगे । पार्टीमा सम्माजनक ठाउँ दिने कुरा भयो, तर कालुमानले त्यो सम्मानजनक ठाउँ कहिल्यै पाएनन ।
उनका कान्छाबाबु मानबहादुर मालेमा लागे । कालुमानलाई माले बन्न उनैले दिएनन, यो काङ्ग्रेसी गुप्तचर हो भनिदिएछन पार्टीमा ।
०५१ सालसम्म उ गाउँमै देखिन्थ्यो, उही पारा रक्सी खान्थ्यो । हल्ला गर्थ्यो । कल चलाउँथ्यो । अचानक ०५२ सालमा उ हरायो । माओवादी भयो अरे भन्थे । कहाँ गयो कुनै पत्तै भएन ।
०६३ सालमा देखियो, प्लाटुन कमान्डर बलवीर । शिविरमा । देशमा मुक्तिका लडाइमा लागेछ, जनतामा समानताको लडाइ लडेछ । युद्ध सकियो, ल अब शान्ति प्रकृया सकियो । हतियार बिसाउँ नेताहरूले भने । उसले पनि हतियार बिसायो । शिविरमा गएर बस्यो, नयाँ पुराना सेनाहरूलाई पिटी गराउँथ्यो । शारीरिक तन्दुरूस्तिका तालिम दिन्थ्यो ।
नेपाली सेनामा समायोजन हुने कुरा अायो, उ उमेरले, उचाइले अयोग्यमा दरियो । साढे २ लाख दिएर बिदा गरियो । तर गाउँ फर्केन, सर्लाही फर्कियो, अनि कुलभद्र बाजेसँगै जग्गा किनेर फेरि त्यही पुरानो थलोमा सिलाइ थाल्यो
............
विगत सम्झेर कालुमानको मन चटक्क कुडियो, जुरूक्क उठ्यो । बजारतिर निस्क्यो ।
"ए, साइली । एक बोतल देउ त....."
"बिहानै कालुमान काका? तपाई नेताजस्तो मान्छेले"
"अँ के गर्नु नेता भएर । गरिबका सपना पूरा हुँदैन रैछ साइली.... लुगा सिउने कलले मन सिउँदैन रैछ के गर्नु?"
खाली पेटमै उसले बोतलबाटै ठाडो घाँटी लायो ।