Thursday, November 22, 2012

उपान्यासः गम्भीरे

मन उद्वेलित छ, अशान्त छ, उत्तरको चिसो हावा उप्किसकेको बाँसको टाटीभित्र छिर्छ ।
"मधेशमा खोरिया फाडन पाइन्छ रे, हिड जाउँ," मानेले भनेको थियो ।
दुबै मिल्ने दौँतरी, जात फरक भए पनि, हितका दौँतरी थिए । ठालूहरूका नजरमा दुवै पानी नचल्ने । भरखर जुंगा रेखी बसेका मने र गम्भीरे झरेका थिए, मधेश । अलिकति खोरिया पनि नफाँडेका हैनन, तर जमिन्दारको आँखा लाग्यो । नेपाली कागतमा ल्याप्चे ठोकाएका हुन ।
ए भाते, मेरो जग्गा छाड, एक दिन जिम्मुवालले घोडामा आएर कोर्रा घुमाउँदै उर्दी जारी गरे ।
मालिक यो त हाम्रो जग्गा, हाम्ले खोरिया फाँड्या, गम्भीरेले आँट कसेर भन्यो ।
तेरीमा फलान्थोक गर्ने, तेरो बाउको हो? हेर माथि कपुरबोटेदेखि माझनदीसम्म १२८ बिघा मेरो नाममा राजाले पञ्चापत्र गर्या छन्, एउटा कागजको खोस्टो देखाउँदै छालाको कोर्राले कमिज फाट्ने गरी जमिन्दार रामबहादुर काजीले बजाए ।
स्वाँठठठठठठठ कोर्राले बज्रेर छर्ररर रगत निस्क्यो ।
के जानुँ मालिक राजाका कुरा, तर त्यतातिर बोटेको, उता थारूको, त्यो दमै गाउँ पो पर्छ त मालिक, अलि उग्र हुँदै मानेले के भनेको थियो ।
डम्बरबहादुरको भरूवा पड्कियो ड्याम्म
मरे आम्मा, माजेठाउँ ठाउँ भयो, वरपर रगतको आहाल बग्यो ।
जजसले हाम्रा विरोध गर्छ, यही गति हुन्छ । अंग्रेजसँग लडेका थापाका सन्तान हौ याद गर..... जमिन्दारहरू उर्दी गर्दै हिँडे, पुलिस प्रशासन हाम्रा गोजीमा छन, नेपाल खाल्डोमा राजाले हाम्लाई अधिकार द्या छन् ।
दुईचार भाइ बोटे र थारूहरूको साथ लिएर त्यही रात वनमारा झाडीमा मनेका लास गाडियो ।
..................
हितको साथी सामन्तको हातबाट मारिएपछि गम्भीरे त्यस रातभर सुत्न सकेन ।
गम्भीरेको मन अशान्त छ, सुत्न सक्या छैन । सँगको साथी पनि मरी गो । कि त पहाड फर्कन्छु कि कोइलाखाततिर लाग्छु मनमनै सोच्यो, यहाँ बसिरह्यो भने ज्यानै नरहने भो ।

जसै भाले बास्यो, उ कहीँ कसैलाई खबर नगरी कोइलाखादतिर जान भनेर हिँड्यो ।

कहाँ पर्छ, कसरी जानु पर्छ केही थाह थिएन । पूर्व झापाबाट जान्छन रे, त्यतिमात्र सुनेको थियो । सात दिनको हिँडाइपछि सिलगढी आइपुग्यो । कालो डिब्बा भएको भ्वाँक भ्वाँक कराउने रेल कुद्दो रैछ । जसोतसो वनका फलका खाएकै भरमा पुगेको गम्भीरे भोकले लखतरान थियो । माटो खाउँकी ढुंगा खाउँ भइसकेको थियो ।

ओ नेपाली छोकरा काम कर्थो है? रेल्वे स्टेशनमा जुलेबी-पुरीको दोकान चलाउने एउटा बंगाली साहुले सोध्यो ।

नेपालीमात्र जान्ने गम्भीरे के भनेको भनेर अलमलमा पर्यो, नेपाली र काम भन्नेचाहिँ उसले बुझ्यो । नबुझे पनि उसले टाउको हल्लायो ।

परधान यिसको काम दिखायो ।
सिलगुढी स्टेशनमा भेटिएका उही रामप्रसाद प्रधानले गम्भीरेलाई दार्जिलिङ पुर्याएका थिए ।
................
दार्जेलिङको चौरास्तामा देख्या हो गम्भीरेले इन्दिरालाई । घुमतिर घर अरे भन्ने सुनेको थियो, त्यतिखेर ऊ बंगाली बाबुको मिठाइ पसलमा काम गर्थ्यो । मिरिकको चिया बगान जान्थे, हुलै बाँधेर पत्ती टिप्न ।
"डेढ रूप्पेको जुलेबी देउ त," मिठो लयमा इन्दिराले जुलेबी माँगेकी थिइ ।
गम्भीरे हेरेको हेरै भयो । हरेक बिहान ऊ डेढ रूप्पेको तीनटा जुलेबी किन्थी, गम्भीरे कहिले काँही साहुको आँखा छलेर चार वटा दिन्थ्यो ।
"संसारको जति पनि खराबी छ, मैमा छ । नराम्रो छु, .....गरिब छु,.....बोल्न ढंग पुर्याउँदिन,..... थातबासको टुंगो छैन, ......तर एउटा गुनचैं छ है ममा, तिमीलाई औधि मन परपाउँछु," गम्भीरेले एक दिन मिरिक चियाबगानमै पुगेर हात थामेर भन्यो ।

Monday, November 12, 2012

कथाः रसूवाघाटको हुरीले उडाएन मायाँ

-गजेन्द्र बुढाथोकी-
रसुवाघाटमा चिसो बढेको छ । सुनकोशीको सिरेटोले हान्छ । छाना मक्किएछ, जुनले आकासबाट चिहाएपछि ठूलीले खुइय्या सुस्केरा हालेर मनमनै भनि । मंगली र डल्ले जाडोले गुँडुल्की परेका थिए । टुकीको धिपधिपमा ठूलीको घर-कम-हुटेल खण्डहरजस्तै देखिएको थियो । ठूलीले आफ्नो पुरानो मजेत्रो तानी र दुवैलाई ओढाइ दिइ, बाहिर भरखर ब्याएकी काली कुकुर्नी कुइ-कुइ गरिरहेका आफ्ना छाउरा-छाउरीलाई दूध चुसाउँदै थिइ ।

दिउँसोतिर साइला आफ्नी स्वास्नी र छोरा बोकेर ओख्रनीतिर चढेको देखेदेखि ठूलीका मनमा चैन छैन । बाटो पारी सिरान घरेका दोकानमा साइँलाले स्वास्नी र छोरालाई चिया र बिस्कुट ख्वाएको उसले आफ्नो दैलो किनारबाट हेरिरही ।

 "मुर्कट्टा तँ मूला दमैसँग जाने देखिस, अहिले यही खुर्पाले दिएर कोशीमा झार्दिन्छु अनि.... "१५ वर्षअघि साइँलाले मेला जाँदा पिरतीको भाका व्यक्त गर्दा आफैले भनेका शब्द ठूलीका कानमा गुन्जिरहेका थिए, "म त ठकुरीकी छोरी, राजखान्दान हुँ, राजखान्दान ।"

 उनका बाउपुर्खा कहिले कहाँका राजा थिए, त्यो भने ठूलीलाई थाह छैन ।

 दोहोरो ज्यानकी ठूली वरपर साइला घुम्न भने छाडेन, तर ठूलीका रिसको झ्वाँकमा एकचोटी परिसकेको उसले नजिक पर्ने हिम्मत भने गरेन । हरेक मंगलबार उनीहरू गाईघाट झर्थे, कहिले सिन्कौली बोकेर त कहिले सुन्तला, निबुवा बोकेर । साइला भारी बोक्थ्यो, साहुहरूको  । सुरिलो मुरली बजाउँथ्यो उ ।

पहिलो पल्ट बाबरीमा देख्या हो, उसले ठूलीलाई । ठूल्ठूला आँखा, चन्चले स्वभाव, चुस्स परेको नाक । पोटिला गाला । हजार जनाको भीडमा पनि नहराउने जस्तो । पहिलो पल्टकै देखादेखमा साइला भुतुक्क भएथ्यो । कहिल्यै नाम सोध्ने हिम्मत आएन, गाईघाट जाने फर्कने क्रममा अरूले बोलाएको सुनेथ्यो, ठूली । एक दिन खाँबुबाट अलि तल झरेपछि ठूलीको खुट्टामा मैदाल बिझेछ, सबै साथीभाइ अगाडि गइसक्या थे । पछिपछि रहेको ठूलेले हतारहतार आफ्नो ढाकर बिसायो र खुट्टा समातेर मैदालको काँडा झिकिदियो । काँडा झिकेको ठाउँबाट रगत बग्न थाल्यो । बनमाराको मुन्टा निचरेर लगाइ दियो । पैतला भतभत पोल्न भने छाडेन । साइलाले फुफू गरेर फुकिदियो,

ठूली म तिम्लाई औधि मन पराउँछु, तिम्ले मान्यौ भने जिन्दगीभरि यसरी नै पैतला फुकेर बसौँला... सकिनसकी उसका मुखबाट फुत्कियो ।

"मुर्कट्टा तँ मूला दमैसँग जाने देखिस, अहिले यही खुर्पाले दिएर कोशीमा झार्दिन्छु अनि.... " ठूली सिंहझैं गर्जिइ,"म त ठकुरीकी छोरी, राजखान्दान हुँ, राजखान्दान ।"

यति हो, ठूली र साइलाको सम्बन्ध ।

गाईघाट झर्दा ठूलीका हुलबाट उसँधै टाढा पर्थ्यो, टाढैबाट हेरिरहन्थ्यो । फेरि आँट गरेर भनौँ कि भन्ने नलागेको होइन, तर जातको तगारोले उसलाई रोक्यो । धेरै वर्षअघि त्यहाँका ठकुरीहरूले छोरीचेलीलाई आँखा लगाएको भनेर रसुवाघाटै बेपार गरिबस्ने एउटा नेवारलाई कुटीकुटी मारेको कथा उसले सुनेको थियो ।

त्यहीबेलामा माओवादीको विद्रोह सुरू भयो । साँझसाँझ माओवादी कमरेडहरू गाउँगाउँ छिर्थे, प्रचन्डपथ लेखेका कितापहरू बाँड्थे, गाउँलेहरूलाई माओवादीमा लाग्न भन्थे । "जनताको मुक्ति हुन्छ, धनी गरिब सब बराबर हुन्छन, जातपात बराबर हुन्छ," मनकामना भन्ने कमरेडले रसुवाघाट पुल छेउमा उभिएर लामै भाषण गरिन । खोटाङ ६ नं इलाकाबाट भर्ति खुल्ने भो । साइला जनमुक्ति सेनामा लागेर वन छिर्यो रे गाउँमा हल्ला चल्यो ।

पछि गाईघाटतिरबाट सेनाहरू आए । सेनाको टुकडी वारी क्याम्प बनाएर बसेको थियो । ड्रेसमा हिडेका सेनाका जवानको रवाफै बेग्लै । तरूनी-बरूनी केटी देखे जिस्काउँथे, केटाहरू देखे, साला माओवादी तातो गोलीले भुन्दिउँ भनेर थर्काउँथे । वनजंगलमा घाँसदाउरा गर्न जान, एक्लै हिड्न त्राहिमाम थियो ।

एक दिन सेनाको जवान अग्लो, हृस्टपुस्ट, अष्टबहादुरले ठूलीलाई फकायो ।

"बुझ्यौ, राजाको सेनामा छु, १० हज्जार तलप खान्छु । जागिरै छाडे पनि सात हल जाने खेत छ, राम्रैसँग पाल्छु हउ," उसले एकान्तमा हात समातेर भनेको थियो ।

एकातिर त्रास अर्कातिर निकै तलप खाने ठकुरीकै छोरा भनेपछि ठूलीको मन सुरक्षा र सम्पतिको मोहमा राम्रैसँग पग्लियो । दुवैले घरजम गरे ।  अष्टबहादुर सेनामा जागिर खाने, ठूली रसुवाघाटमा बेपार गरिबस्न थाले

२०६२ सालमा ठूलै आन्दोलन भयो अरे सहरमा, अनि सदरमुकामतिर ।

"हेर ठूली क्याम्प फिर्ने भो, म तिमीलाई छिट्टै लिन आउँछु," ०६३ वैशाख १४ या १५ गतेतिर एक साँझ अष्टबहादुरले कुम्लोकुटुरो कस्दै भनेको सम्झना छ, ठूलीलाई । त्यतिखेरसम्म मंगली र डल्ले जन्मिसकेका थिए ।

तर अष्टबहादुर कहिल्यै लिन फर्केन । गाईघाटमा ठूलो क्याम्पमा गएर पनि लेफ्टेन, क्याप्टेनहरूलाई पटक पटक भनी । तर अष्टबहादुरको सरूवा पश्चिमतिर भएको भन्दै उसको कुनै उजुरबाजुर लागेन । पछि सुनी- अष्टबहादुरको त पश्चिमकतातिर पहिलेकै घरबार छ रे ।

दोकानमा राखेका सामानहरू अलिअलि गर्दै सकिन थाले, अब त रसुवाघाटमा जाँड र रक्सी बेच्नुबाहेक अरू केही सीप रहेन ।

०६९ सालको दशैंमा साइला, स्वेच्छिक अवकास रोजेको कमरेड भीष्मप्रतिज्ञा बनेर गाउँ फर्कँदै थियो । सरकारले दिएको पाँच लाख रूपैयाँले गाउँमै गएर केही व्यापार-व्यवसाय गरौँला भनेर जनमुक्ति सेनामै भेट भएकी मालती चौधरी र दुई वर्षको छोरा बोकेर उ उकालो चढ्दै थियो ।

"साइलाले देख्यो कि देखेन, देख्यो भने के सोच्यो होला है, मेरो बिजोक देखेर हाँस्यो होला, खुब घमण्ड गर्थी भेटी भन्यो होला...."कोल्टे फर्केर ठूलीले सिरानीमा तरक्क आँशु चुहाइ