Tuesday, July 17, 2012

व्हिलचेयर संवाद

 २०६५ साल असोज ८ भएको सडक दुर्घटनापछि म पूर्ण रूपमा व्हीलचेयर बाउन्ड अर्थात व्हीलचेयर आश्रित भएको छु ।  एक्सिडेन्ट भएको २८ दिनपछि मलाई मेरूदण्डको अप्रेशनका लागि बीएन्डबी अस्पताल लगियो । मैले ठ्याक्कै मिति त बिर्सेँ, अप्रेशनपछि व्हीलचेयरमा राख्नु पर्ने भयो । व्हीलचेयरमै बस्नु पर्ने भयो । त्यसपछि अस्पतालबाटै साथीहरूलाई खबर गरियो । आर्थिक पत्रकार मित्र शिव दुवाडीले इन्डिपेन्डेन्ट लिभिङ सेन्टर, कुपन्डोल देखेका रहेछन, उनैले त्यहाँ गएर व्हीलचेयरको बारेमा कुरा गरेछन् । त्यहाँबाट भोजराज श्रेष्ठले अपांग कल्याण संस्था, अनामगरमा राकेश बाबु हमालसँग व्हीलचेयरबारे कुरा गरिदिएछन् । व्हीलचेयर लिन त गए, कति नम्बरको चाहिने हो उनलाई पनि के थाह? बीएन्डबी अस्पतालका तारा भन्ने फिजियोथेरापिस्ट थिए, उनीसँग सोध्दा भरखर अप्रेशन गरेको ढाडलाई पूरै सपोर्ट हुने गरी २० नंको मगाइ दिए । 
अस्पतालमा त्यो व्हीलचेयर एक कि दुई दिन चढेँ होला । त्यसपछि स्पाइनल कर्ड रिह्याब सेन्टर, साँगा, काभ्रे जानु पर्यो । त्यहाँ पुगेपछि पो ठूलो आकारको व्हीलचेयर कामै नलाग्ने हुँदो रहेछ भन्ने थाह पाएँ । डेढ महिना एसआइआरसी बस्दा रोटरीले बाँड्ने रातो व्हीलचेयर १६ नंको चलाएँ । एसआईआरसीले व्हीलचेयर फाउन्डेशनबाट तीन पांग्रे व्हीलचेयर ल्याएर बेच्दो रहेछ, त्यतिखेर फिटिङ चार्ज भनेर ८००० लिन्थे, अहिले १५००० लिन थालेका रहेछन् । फर्कँदा त्यो एक थान किनेर ल्याएँ । 
२०६५ चैतमा दैनिकी.कममा सम्पादकका रूपमा काम गर्न थालेँ, एसआईआरसीबाट ल्याएको व्हीलचेयर त्यसको स्वरूपका कारण घुम्न पनि समस्या हुने, मूल कुरा त ट्याक्सीमा हिड्नु पर्दा फोल्ड नै नहुने । त्यो चलाउँदै नचलाइ राखियो भने पनि हुन्छ । फेरि  अपांग सहायाता केन्द्र, अनामगरमा अनुरोध गरेर १६ नंको व्हीलचेयर लिन आफै गएँ । व्हीलचेयर लिएर फर्कँदा गेटमा नराम्रोसँग लडेँ, मानिसहरू आएर उठाइदिए । 
त्यो व्हीलचेयरको ब्रेक र सिटलाई लक गर्ने प्लास्टिकको लकर भाँचिएपछि समाज कल्याण परिषदअन्तर्गतको अपांग कल्याण केन्द्रमा गएर श्रीमतीले व्हीलचेयर ल्याइदिइन, यो लगभग २५ किलो जतिको छ । सहज छैन चलाउन त्यही पनि बाध्यताबस चलाइरहेको छु । ह्यान्डरेष्ट छैन, बस्दा कुच्रुक्क परेर बसेजस्तो हुन्छ । असाध्यै ब्याक पेन हुन्छ, चक्का नजिकको साइडबार ननिस्कने, फिक्स्ड प्रकृतिको भएकाले ट्रान्सफर हुनेवेलामा एक जना चाहिन्छ ।
मेरो पेशा नै त्यही प्रकृतिको भएकाले बेलाबेलामा बाहिर भेटघाट, जमघटहरूमा गइरहनु पर्छ । सहर व्हीलचेयरमैत्री छैन । भवनहरू व्हीलचेयरमैत्री छैनन । त्यही भएकाले कतिपय अवस्थामा त आयोजकहरूले तीन-चार तल्लासम्म बोकेर लानु पर्छ । उनीहरूले कठिनाइ भोग्नु पर्ने त छँदैछ, मलाई समेत डर र संकोच हुन्छ ।
धेरै लामो समयदेखि म बाहिर निस्कनका लागि एउटा हलुका, ट्रान्फसरमा सजिलो, व्याक सपोर्ट, ह्यान्ड र फुटरेष्ट सहितको व्हीलचेयर र अर्को इलेक्ट्रिक व्हीलचेयर खोजिरहेको छु (करिब दुई वर्ष खेतान समूहका अध्यक्ष श्री राजेन्द्रकुमार खेतानले १००० डलर र मेरो आफ्नो लगानीसमेत गरी तीन पाङ्ग्रे स्कुटर त किनेँ, तर ट्रान्सफर तथा चलाउने प्राक्टिस नपुगेर त्यो काम नलाग्ने भयो) । भारतीय कम्पनीको नेपाली रोड सुहाउँदो  इलेक्ट्रिक व्हीलचेयरलाई २ लाख ३० हजार पर्दो रहेछ । चाइनिजचाहिँ १ लाख ७० हजारसम्मै आउने रहेछन्, यत्रो लगानी गरेर व्हीलचेयर किन्ने सामर्थ्य ममा नभएकाले केबल रहर भएको छ ।

Monday, July 16, 2012

अव्यक्त प्रेम

मान्छे, बल्ल आफूले पिडा पाएपछि
अरुका पिडा बुझ्छन्।
हो, तिमीले प्रेममा गुमाएपछि
बल्ल मेरो प्रेम बुझ्यौ
जति बढी कष्ट सह्यो
उति पलाउँछ/फैलिन्छ प्रेम
न घृणा बन्छ, न बदला लिन्छ कहिल्यै
चाहनाको सीमा हुँदैन
शायद बन्धन पनि
पाउनुमात्र होइन प्रेम
यो त साधनामा हुन्छ, प्रार्थनामा हुन्छ
बाँच्ने तरिका सिकाउँछ प्रेम
अभावमा, भोकमा, पिडामा
सुखमा, उन्मादमा
मिलनमा, बिछोडमा
जीतमा, हारमा।
हृदयमा फैलिन्छ यो
आँखाबाट बग्छ
ओठबाट फैलिन्छ
तिमी मुस्कुराउ हरपल
चाहना केवल यति छ
म चिताबाट पनि
तिम्रो उज्वल मुहारमा
खुसी देख्न चाहन्छु
आँशुजति मेरै भागमा परुन्
तिमी सुखी रहु
कामना छ केबल यति।
–बुढाथोकी गजेन






Wednesday, July 11, 2012

आँशु सम्बाद

रातभर रोए पछि मन हलुका भएको छ
पीडा जति धोए पछि मन हलुका भएको छ
धेरै कुरा भन्नु थियो, सुन्नु थियो
तिमीले छोए पछि मन हलुका भएको छ
रातभर रोए पछि मन हलुका भएको छ
(गजल लेख्न खोजेँ, पूरा भएन, त्यही भएर यसलाई दुई शेरमा सीमित पारेँ , मुक्तकका रूपमा)
-------------------------------
यो मन कति कमलो छ, मनभित्रका मान्छेले जायज कुरा भन्दा पनि दुख्दो रहेछ ।  यस पटक त्यस्तै भयो । हिजो बेलुकी म आफैलाई सम्झेर, परिस्थितिलाई सम्झेर धेरै बेर रोएँ । स्पाइनल कर्ड इन्जुरीपछि स्वेच्छिक मृत्यूवरण (इथानेसिया) बारे बनेको सिनेमा गुजारिस छैटौँ पटक हेरेँ, अनि रोइरहेँ, आँखालाई बग्न दिए, खुल्ला ।  रूनुको पनि विशेष अर्थ छ,शायद आँशुले पीडा बगाउँछ । बिहान उठ्दा मन हलुको भयो अनि टबेल बाथ गरेँ ।

असोज ८ गतेको एक्सिडेन्टपछि २०६५ असोज ११ गते टिचिङ अस्पतालको एउटा सिकारू डाक्टरले तीतो शैलीमा "अब तेरो जिन्दगी यस्तै हो, ड्यामेज्ड" भन्निदाँ रोएको थिएँ, धेरै बेर । अनि अप्रेशनपछि एसआईआरसीमा पुग्दा पहिलो रात बिरक्तिएर रोएको थिएँ ।
त्यसपछि आफूले आफैलाई सम्हालेर कर्मक्षेत्रमा फर्किए । चार वर्ष भयो, व्हीलचेयरमै बसेर नियमित काम गरिरहेको छु ।
जीवनलाई जति सुन्दर बनाउन खोज्छु, झन्-झन घिनलाग्दो बन्दै गएछ । यो स्पाइनल कर्ड इन्जुरी त सबैभन्दा ठूलो कु-कर्म/ पाप गर्नेलाई पनि नहोस्, साला जिन्दगी । दिसा-पिसाब थाह हुँदैन । सरसफाइ नगरौँ, फोहरी बसौँ त कसलाई पो मन हुन्छ र?
मैले आफूलाई कमजोर बनाउन खोजेको होइन , न त कमजोरी नै देखाउन खोजेको हो के गर्ने कतिपय परिस्थिति आफ्नो नियन्त्रणबाहिर हुँदो रहेछ । अनि मनको पल्लो कुनामा दुख्छ चसक्क, अर्काको सहारामा बाँच्नुको पनि अर्कै बिडम्बना छन । जुनकुरा शब्दमा व्याख्या गर्न गाह्रो छ ।
हरेक बिहान ८ बजे श्रीमतीले व्हीलचेयरमा ट्रान्फर गराइदिएर जान्छिन, बेलुका एकै पटक ८ बजे बेडमा ट्रान्सफर हुने हो । अनि व्हीलचेयरमै बसेर काम गर्छु । जसले गर्दा साथीभाइ आउँदा लथालिङ्ग अवस्थामा हुन्छु । आफैलाई ग्लानी महसुस हुन्छ, अनि त्यसै आँखा रसाउन थाल्छ........
---------------

आत्मसंवादः एक आत्मवार्ता

 मेरो पुरानो ब्लग pen4peace लाई रूपान्तर गरेर gajenomics.blogspot.com मा परिणत गरे पनि त्यसलाई मैले विशुद्ध आर्थिक लेखनीको ब्लगमा कायमै राखेर साहित्य र भावनाका लागि यो नयाँ ब्लग आरम्भ गरेको छु । कतिपय कुरा फेसबुक स्ट्याटसमा लेखिसकेका भए पनि त्यसलाई विस्तारित रूपमा लेख्न यसलाई प्लेटफर्म बनाउने छु ।
गजेन्द्र बुढाथोकी