Saturday, August 12, 2017

पानीको प्रहार

-बुढाथोकी गजेन-

पानी, जीवन दिन्छ प्राणीलाई
तर, जीवन पनि छिन्छ उसैले
उर्लँदै राैद्र रुपमा
बगाउँदै उर्बर भूमि
पानी पुजिन्छ पनि
तर प्रलय ल्याउँदै
आकास घोप्ट्याउँछ समुद्र
गरिबका आगनमा!
हे राम हे रहिम
आशा तेरो यदि बाँकी छ कतै भने
किन आउँछस्, संकट बनी
हरेक वर्ष रूप फेरिफेरि?
भत्कियो ओतकाे छानाे पनि
विचल्ली परेका लालाबाला
अतालिएका बाख्रापाठा
डुब्दै गएको तिलस्मी मायाको घर
शक्तिको उन्माद देखाउँछ
साला, एक खहरे भंगालाे पनि
मानिलिउँ यही बेला प्रलय ल्याउँदैछ ।
जवानी हुँदैन सँधै नै उस्तै
बिलाउनु, अस्ताउनु पनि छ
आखिर त्याे पनि त कुनै दिन ।
गेग्र्यानमा फल्ने छैन अन्न
आँशुका भेल बग्दैछ
आगन पसेको नहरसँगै
बोकेर आउनेछन्
दुइचार मुठ्ठी चिउरा
फ्याँकिएको जडारी
अलिकता आशा बोकेर
राहतवीरहरू
अनि,
पानी, रक्सी र चाउचाउ बेचेर
अर्ब कमाउनेहरू
समाजसेवाका प्रचार गर्दै
विज्ञापनमा उद्धार र राहतका
कमाल देखाउन छन् ।
***
-कुटी/बालुवाखानी, कपन
(तस्बिर साभारः नागरिक दैनिक)


Wednesday, April 12, 2017

कविताः तस्बिर संवाद

-बुढाथोकी गजेन-

म उदास भएको पल
तिम्रो तस्बिर चिहाउँछु 
तस्बिर बोल्दैन मनका भावना
मेरा हरेक तर्कहरूमा
जनाउँदै माैन समर्थन
तिमी बोलिदिएजस्तो लाग्छ ।
अस्ताउँदो घाम
उदाउँदो जुन 
एक पलको गोधुली
सजाइएका म्यानेक्विनहरूले
बोल्दैनन उम्लिएका ज्वारभाटा
बक्ररेखामा कोरिएको भाग्य
अधुरा चाहना
धुँवा त तिमीले देख्याै होला
वन डढेलोको त्यतै कतै
मन ढडेको पो यहाँ कसले देख्छ र?
स्वार्थी छ संसार
तिमीले बुझ्न बाँकी नै छ
फूल देखाएर काँडामा धकेल्न
तत्पर हुन्छन् मान्छेहरू
उर्लिँदा मनका चाहना
असरल्ल नपोखिनु
वर्षायाममा खहरे त जो पनि बन्छ
नीलो शान्त समुद्र
गहिरो सागरमा हराउँछ सगर पनि
अलिकता आकास खुलेका दिन
बिहानै हेर्नु
सुनाैलो घामका झुल्कामा
अलिकता न्यानो महसुस गर्याै भने
म त्यहीँ-कतै हुनेछु
भावनाको सम्बन्धमा 
नदी किनारमा कतै
माटीकोरेको मुखमा छट्पटाउँदो माछा देखे
सम्झनु जिन्दगीको लडाइमा
लड्दै छु म त्यतै कतै ।
फेरि पनि स्नेह त बाँड्नु नै छ ।
आँखाभरि, मुटुभरि ।
-कपन, बालुवाखानी

Friday, November 28, 2014

दर्जीको नसिइको मन





नामः कालुमान दर्जी
उमेरः ५२ वर्ष

खटटटटटटटटटटट एकहोरो मेसिनका अवाज चलिरहेको छ ।
दुर्गाका कुर्ता सकिदिनु पर्ने बिहेमा जानु छ भन्दै थिइ ।......मोरीका जीउ कस्तो टमक्क कसिएको....छातीका उकास पनि मज्जैले भइसकेछ । मैले देख्दादेख्दै जन्मेकी, पातली, पिलन्धरी थिइ । खाली रूइरक्थी । दूध कटुवा हो त्यो । त्यो वर्षीकी नहुँदै बाहुनीले फेरि बोकिछे, क्यार्नु । उमा नभइदेकी भए त मर्थी होला, उमाले दूध ख्वारै हुर्की । के गर्नु अाफ्नो बिग्री गो........
कालुमान मनसंवाद गर्दै विगतमा फर्कियो ।
............
१६ वर्षे जवानी थियो । कालुमान असाध्यै राम्रो गीत गाउँथ्यो ।
"तैंले गीत गाइस भन्दिन्खुन त । रेड्योको नारान गोपालजस्तै लाग्छ", भन्थी उर्मे ।
चुस्स परेका नाक, गोरी । ठूल्ठूला अाँखा, ठूलो निधार, लामो कपाल । सँधै हाँसिरहने बानी । उर्मिलामा जोकोहीलाई पनि  अाकर्षण गर्ने शक्ति थियो ।
बढ्न बिर्सेको कालु । नामजस्तै अलिअलि कालोकालो । राख्न त बाबुले नाम राजेश राखेका हुन । बाउ राजेश खन्नाका फ्यान थिए रे, दिल्लीमा दरबानी गर्दा खुब फिलिम हेर्थे रे । धनका लोभ पलाएछ, अाफू पाले बसेकै घरबाट गरगहना चोरेछन, पुलिसले उतै पक्रेछ । जेल हालेछ । राजेश दर्जी, कालुकै नामबाट बोलाइन्थ्यो । अामाले पछि अर्को बे गरिन । कान्छा बाउ मानबहादुर पट्टीका २ जना भाइहरू छन, उनीहरू परियार लेख्छन, पढेका छन । काठमाण्डूमा बस्छ ठूलो भाइ प्रकाशकुमार । सिनिमा खेल्छ रे ।  कान्छो भाइ सदरमुकाममामा छ । कान्छबाउ नेता हुन, कम्निष्ट पार्टीका । ०५४ सालमा गाविस अध्यक्षमा उठेका थिए, हारे । उनी पार्टीको भातृ संगठन दलित अधिकार रक्षा मञ्चका केन्द्रिय महासचिव । भाइ दिलिप त्यसकै कार्यक्रमहरू चलाउँछ, जिल्लामा । मोटरसाइकिल चढ्छ ।
कालुमानलाई कहिल्यै कान्छबाउले माया देखाएनन । स्कूल कुन चराको नाम हो, उसले कहिले थाह पाएन । नागरिकता त बनाइ दिए, तर नागरिकतामा नाम लेखाइ दिए, कालुमान दर्जी ।
उर्मे, अर्थात उर्मिला । परियारै जातकी भए पनि, अलि हुनेखाने परिवारकी, टन्नै खेतबारी छ । लामो ठूलो अागन भएको, काठको घर छ । दहलमान कान्छाकी कान्छी छोरी । उर्मिलाकी दिदी हो उमा । कालुमानभन्दा २ वर्ष जेठी । पहिलो घरबार बिग्रेर माइतीघरै बस्थी, रूपरंगमा त कमी हैन, तर बालबच्चा भएन भनेर लोग्नेले कान्छी ल्याएछ । साकैतासँग बसीखान सकिन, अनि माइतै बस्न थाली ।
दहलमानले बडाहाकिम, चक्रमान थापाका खुब सेवा गरे । थोरैतिना अक्षर चिनेका । डिठ्ठा लीलबहादुरका संगतले कागजपत्र लेख्न जाने । ०१७ सालपछि बडाहाकिमका जागिर सकियो, बडाहाकिमहरू झापा फर्के । दहलमानलाई पञ्चायतले पत्यायो, सरकारी जागिर दियो । उनी दलित बस्तीका अर्का बडाहाकिमका रूपमा उदाए ।
दहलमानकी छोरी ताक्नु चानचुने कुरा थिएन । पुलिस लगाएर थुनाइदिन सक्थे । पोहर सालकै कुरा हो, महाभारेका केटाहरू देउसी खेल्न अाउँदा उर्मीलाई नाच्न हात समातेर तानेछन । दहलमानले पुलिस लगाएर ती ४ भाइलाई थुनाइ दिए ।
..............
"उर्मी (उ उर्मेबाट उर्मीमा उक्लियो) एउटा कुरा भन्छु, मान्छेस", मन उद्वैलित थियो । दहलमानको डर पनि थियो ।
"भन न, के कुरा ।"
एक छिन अनकनायो, हिम्मत जुटायो
"मसँग ब्या गर्छस ......"
उर्मिलाले केही जवाफ दिइन ।
भन्न न मसँग ब्या गर्छन ।
"म विचारेर भन्छु"
..............
त्यसपछि उर्मिला नजिक पर्न छाडी । कालुमानलाई देख्दा पनि नदेखेझैं व्यवहार गर्न थाली । साथीहरूसँग भन्थी रे, त्यो कालो, पोल्दापोल्दै उम्केजस्तोले मलाई ब्या गर्छु भन्यो ।
कालुमानका मन साह्रै कुँडियो । उसले दिल्ली जाने विचार गरेर घर छाडेर हिड्यो
...........
जोगबनीमा उसका पैसा लुटियो, बाटोमा विचल्ली पर्यो । विराटनगरको एउटा घरमा आग्रह गर्यो, त्यही काम माग्यो । ती काङ्ग्रेस नेता मधुवन शर्माको घर रहेछ । भाँडा माज्ने, वस्तु हेर्ने काम पायो । उ मधुवन दासँग कहिलेकाँही कोइराला निवास पनि जान्थ्यो । राजनीतिका कुरा अलिअलि बुझ्न थाल्यो । ०३६ सालका जनमत संग्रह भन्थे, मधुवन दाले कालुमानलाई कागतपत्र बोकाएर गाउँगाउँमा लगे ।
अर्थात, उ काङ्ग्रेस भयो ।
.............
२ वर्षपछि उ गाउँ फर्कियो, तर उर्मिला गाउँमा थिइन । पूर्व धरान बिहे भयो रे, प्रधानपञ्च जगतमानका छोरासँग । खिस्रिक परेर फर्किन लाग्या थ्यो ।
"ए, कालुमान । के गर्दैछस नि विराटनगरमा?" उमाले भनी
"काम त खासै केही गर्दिन। प्रजातन्त्रका अान्दोलनमा लडिराछु," नेताका भाका बक्न थालेको थियो, कालुमानले पनि । लवाइ खुवाइ पनि जानेको । कालोकालो भए पनि हिस्सी देखिन थालेको थियो ।
..........
एक दिन साल्घारीको पानीदहमा कालुमान नुहाउँदै थियो । पानीदह, जरूवापानीको मुहान, बाह्रैमास पानी अाउनी । गाउँका खानेपानी लिने, नुहाइधुवाइ गर्ने एउटै थलो ।
उमा पानी लिन अाइ, कालुमानले छेउ सरेर ठाउँ थियो ।
गाग्रा भरी, माथिदेखि तलसम्म कालुमानलाई हेरी ।
कालुमान मयलमाड्दै थियो ।
"जिउ त निकै बलियो रैछ"
उमा जिस्की ।
"बसी खाइ लागेको", कालुमानले भन्यो ।
"विराटनगरमा त राम्राराम्रा अाइमाइहरू हुँदाहुन है", उमा अर्कै मुडमा थिइ ।
"तिमेरू जतिको त हैन..."कालुमान पनि के कम ।
"फुर्काउँछस"
"साँच्चै, गाईखाने होला । तिमीहरूजस्ता राम्रा केटी पाए त जसले पनि लान्छ"
"मलाई लान्छस त?"
अचानक तेर्सिएको यो प्रश्नले कालुमान स्तब्ध भयो । एक छिन जवाफ दिएन, जिउ यताउता चलाउन थाल्यो ।
"तिमी त.....".मात्र भन्यो ।
"जारी लाग्दैन, त्यो नामर्दोलाई छाडिसकेँ, ४ साल भो । त्यसले अर्कै घरबार गरिसको । अाफ्नो बीउ कमजोर छ, अाइमाईलाई दोष दिन्छ, नामर्दो," उमाले घृणाले पिच्च थुकी।
"हैन, मैले त्यसो भन्न् खोज्या हैन, तर पनि तिमीसँग......".कालुमानले कुरा अधुरै छाड्यो ।
"कि तिम्रो पनि सामानले काम गर्दैन?" उमाले त्यही औंल्याउँदै उसको पुरूषत्वमाथि नै प्रहार गरी
"गर्छ कि गर्दैन, त्यो त सुतेपछि थाह हुन्छ," १८ वर्षको लक्का कालुमान पनि के कम ।
.........
भोलिपल्ट गाउँमा हल्ला भयो, कालेले उमालाई भगायो रे । कालुमान विराटनगर पनि गएन । उनीहरू सर्लाही पुगे । उमाले अलिकता गहना गुरिया ल्याएकी थिइ, त्यही बेचेर कल मिसिन किने । सिलाइका काम थाले ।
उमा गर्भावती त भइ, तर ७ महिना नपुग्दै बच्चा बिग्रियो । ०४० सालका कुरा थियो यो । उता छिमेकी कुलभद्र बाहुनका ४ बहिनी छोरी नै छोरी थिए, बर्स्याउनीका । पिण्ड दिन छोरा त चाहिन्छ भन्थे ।
"अहिलेका जमानामा पनि यस्ता कुरा गर्ने बाजे? छोरी पनि शक्ति हुन, उता हेर त इन्दिरा गान्धीले हिन्दुस्थानमा देश चलाइराकी," अलिअलि राजनीतिक चेत पसेको कालुमान भन्थ्यो ।
"त्यस्तो हुँदैन, कालु दर्जी । तिमी शास्त्रका कुरा बुझ्दैनौ," भन्थे कुलभद्र ।
त्यही बेलामा जन्मेकी हो, दुर्गा ।
भाइ पेटमा अाएकाले दूध राम्रोसँग खान पाएकी थिइन, यता उमा बच्चा खेर गएका कारण दूध गान्निएर मर्नु न बाँच्नु हुन्थी । उसैले दूध चुसाउँथी दुर्गालाई ।
.........
०४२ सालमा फेरि उमाको पेट बस्यो । तर यस पटक स्थिति झनै खराब भयो । अत्याधिक रक्तश्राब भयो, स्वस्थ्य चाकीमा लाँदा बाहिर लानु पर्छ भने । कालुमानसँग त्यति पैसा थिएन । त्यही रक्तश्राबले उमाको ज्यान गयो ।
.......
कालुमान विरक्तिएर माझ गाउँ फर्कियो । उ एकहोरो कुरा गर्थ्यो, पंचायती व्यवस्थाले स्वास्नी मारिदियो भन्थ्यो । प्रजातन्त्र अाउँछ भन्थ्यो । बिहानैदेखि रक्सी पिउँथ्यो । होहल्ला गर्दै हिड्थ्यो ।
"त्यो उर्मी मेरै हो, जेठी पनि मेरी, कान्छी पनि मेरी । मेरो पिरेम भत्कार बे गरिदियो दलेले । म फिर्कार ल्याउँछु," भन्दै हिड्थ्यो ।
सुरूसुरूमा त बाैलाह भनेर कसैले वास्ता गरेनन, अति भएपछि दहलमानले व्यवस्थाविरोधी भनेर प्रशासनमा उजुरी गरे र कालुमानलाई जेल हालिदिए ।
...........
२०४६ मा प्रजातन्त्र अाएपछि ०४७ सालमा कालुमान छुटे । तर उनलाई प्रजातन्त्र अाएन, किनकी उनका ससुरा दहलमान पहिला नै काङ्ग्रेस भइसकेछन् । ०४८ सालमा काङ्ग्रेसले दहलमानलाई सांसदको टिकट दियो, दहलमान कडा काङ्ग्रेस भएर निस्के । कालुमान पटकपटक कोइराला निवास पुगे । मधुवन दाका कहाँ पुगे । पार्टीमा सम्माजनक ठाउँ दिने कुरा भयो, तर कालुमानले त्यो सम्मानजनक ठाउँ कहिल्यै पाएनन ।
उनका कान्छाबाबु मानबहादुर मालेमा लागे । कालुमानलाई माले बन्न उनैले दिएनन, यो काङ्ग्रेसी गुप्तचर हो भनिदिएछन पार्टीमा ।
०५१ सालसम्म उ गाउँमै देखिन्थ्यो, उही पारा रक्सी खान्थ्यो । हल्ला गर्थ्यो । कल चलाउँथ्यो । अचानक ०५२ सालमा उ हरायो । माओवादी भयो अरे भन्थे । कहाँ गयो कुनै पत्तै भएन ।
०६३ सालमा देखियो, प्लाटुन कमान्डर बलवीर । शिविरमा । देशमा मुक्तिका लडाइमा लागेछ, जनतामा समानताको लडाइ लडेछ । युद्ध सकियो, ल अब शान्ति प्रकृया सकियो । हतियार बिसाउँ नेताहरूले भने । उसले पनि हतियार बिसायो । शिविरमा गएर बस्यो, नयाँ पुराना सेनाहरूलाई पिटी गराउँथ्यो । शारीरिक तन्दुरूस्तिका तालिम दिन्थ्यो ।
नेपाली सेनामा समायोजन हुने कुरा अायो, उ उमेरले, उचाइले अयोग्यमा दरियो । साढे २ लाख दिएर बिदा गरियो । तर गाउँ फर्केन, सर्लाही फर्कियो, अनि कुलभद्र बाजेसँगै जग्गा किनेर फेरि त्यही पुरानो थलोमा सिलाइ थाल्यो
............
विगत सम्झेर कालुमानको मन चटक्क कुडियो, जुरूक्क उठ्यो । बजारतिर निस्क्यो ।
"ए, साइली । एक बोतल देउ त....."
"बिहानै कालुमान काका? तपाई नेताजस्तो मान्छेले"
"अँ के गर्नु नेता भएर । गरिबका सपना पूरा हुँदैन रैछ साइली.... लुगा सिउने कलले मन सिउँदैन रैछ के गर्नु?"
खाली पेटमै उसले बोतलबाटै ठाडो घाँटी लायो ।

Tuesday, May 20, 2014

म एक्लो बृहस्पति, झुठा हैन सत्य

कुनै हिन्दी फिल्ममा अमरिस पुरीका डाइलग थियो- डन (डोङ) कभी रङ नही होता । नेपालमा विश्व बैंकको करिब ८ अर्ब ऋण र डीएफआइडीको थप वित्तीय सहयोगमा सन् २००० देखि वित्तीय क्षेत्र सुधार कार्यक्रम (Financial Sector Reform Program -FS REFORM) सञ्चालन भएको थियो । नेपालका दुई ठूला वाणिज्य बैंकहरू राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको खराब कर्जा (एनपीएल) ६० प्रतिशतभन्दा बढी भएको, तिनको पुँजीकोष क्षय भइसकेको र समग्र वित्तीय प्रणाालीमाथि नै जोखिम सिर्जना भइसकेको भन्दै उक्त ऋणमा सुधार कार्यक्रम सुरू गरिएको थियो । जसको दोस्रो चरणमा राष्ट्र बैंकको रिइन्जिनियरिङ (अर्थात पुनरसंचरना) सामेल थियो । सुधार कार्यक्रम द इकोनोमिस्टमा सूचना प्रकासित गरेर आरम्भ भएको थियो । सुधार कार्यक्रम हाँक्नका लागि नेपाल राष्ट्र बैंकमा छुट्टै महाशाखा नै थियो, जसको नेतृत्व बैंक तथा वित्तीय संस्था निगमन विभागका कार्यकारी निर्देशकले गर्थे । सुधार कार्यक्रमअन्तर्गत सुरूमा नेपाल बैंक र रावा बैंकको व्यवस्थापन विदेशीलाई जिम्मा दिइयो । सुधारका लागि केही मानक (म्याट्रिक्स)हरू तोकिएका थिए । जसमा ती दुई बैंकका खराब कर्जालाई एकल अंकमा झार्ने पनि प्रमुख सूचक थियो । सन् २००५ सम्म त सुधार कार्यक्रम सही गति (पेस)मा चलिरहेको थियो, तर त्यसपछि भने सही प्रतिफल दिने गरी सुधार अघि बढ्न सकेन भन्ने कुरा विश्व बैंक आफैले महसुस गर्न थाल्यो र अान्तरिक पत्राचारबाट यस कुराप्रति नेपाल राष्ट्र बैंकसमक्ष असन्तुष्टि जनाउने, दबाब दिनेलगायतका कार्य गर्न थाल्यो । खराब ऋणीलाई कारबाहीका लागि नेपाल सरकारलाई नै पत्राचार गरेर दबाब दियो, जुन कुरा सर्वभौम सम्पन्न राष्ट्रमाथि खुल्ला हस्तक्षेप भयो भनेर संसदको सार्वजनिक लेखा समितिमा समेत कुरा उठ्यो ।
वित्तीय क्षेत्र सुधार कार्यक्रम सही बाटोबाट नहिडेको, तोकिएका म्याट्रिक्सहरू पूरा नभएको, विफलताको बाटोमा अगाडि बढेको भन्ने लगायतका यावत मुद्दाहरूमा मैले २००६ देखि नै नेपाल समाचारपत्रमा र त्यसपछि राजधानीमा लगातार समाचारहरू सम्प्रेषण गरिरहेँ । त्यसपछि २००९ देखि २०११ सम्म अन्नपूर्ण पोस्ट, गोरखापत्र, दैनिकी.कम र कारोबार दैनिकमा यस विषयमा लेख र विश्लेषणहरू पनि लेखेँ । FS REFORM फेल भएका विषयमा कलम चलाउने एक्लो पत्रकारका रूपमा दरिएँ । (उक्त विषयमा कलम चलाए बापत केही व्यक्तिले समाचारपत्रबाट मेरो जागिर खाइदिने चेस्टासमेत गर्नु भएको थियो, तर प्रधानसम्पादक पुस्करलाल श्रेष्ठ मेरो पक्षमा हुनुहुन्थ्यो) ।
सन् २०११ मा अवधि सकिएपछि भने केही आर्थिक पत्रकार मित्रहरूले स्वयं FS REFORM विफल भएको स्वीकार्नु भयो (जो विगतमा FS REFORMका पक्षमा धुरन्धर हुनुहुन्थो), विश्व बैंक स्वयंले FS REFORM लाई विफल परियोजनाका कोटीमा राख्यो । अहिले त्यतिखेरका विफलताका, भ्रष्टाचारका समाचारहरू फेरि देखिन थालेका छन् । आजै नागरिकले FS REFORM मा भएको भ्रष्टाचारका मुद्दा उठाएको छ ।
त्यही भएर मलाई भन्न मन लाग्यो- डोङ कभी रङ नही होता । ( म सत्य थिएँ, सही विषयमा एक्लैले भए पनि कलम चलाएको थिएँ, कसैले नराम्रो भने पनि आखिर सत्य एक दिन प्रमाणित भएरै छाड्छ)

Tuesday, April 8, 2014

पत्रकारहरूको पलयानका कुरा

आजकल पत्रकारहरू पेशाबाट पलायन भएर साउदी, कतारतिर गएका समाचार लगालग आउन थालेका छन् । मलाई सम्झना छ, मेरो पत्रकारिताका प्रारम्भिक दिनहरूमा अत्यन्त्य कठिन अवस्था थियो । उदयपुरबाट स्ट्रिन्जरका रूपमा विभिन्न सञ्चारमाध्यममा समाचार पठाउँथे, साप्ताहिक पत्रिकाका सम्पादक-प्रकासकहरूलाई समाचार चाहिने तर भुक्तानी दिन नसक्ने यहाँसम्म कि कुरियर गरेको पैसासमेत नदिने । लोकपत्र दैनिकले प्रति शब्द २५ पैसा भुक्तानी दिन्थ्यो, ६ महिनामा पैसा लिन आयो जम्मा २५००-३ हजार हुने । जिल्लामा कौशल दाइहरूसँग साप्ताहिक पत्रिका निकाल्थ्यौं पकेट खर्च चल्थ्यो । दुई जना प्रकासक इमान्दार भेटेँ- बन्धु थापा (देशान्तर) र माल्दाइ, कृष्णप्रसाद गौतम (जनसत्ता,चण्डेश्वरी प्रकाशन), कहिल्यै खाली हात पठाएनन, गाडी भाडासमेत दिन्थे । पछि ०५३ सालदेखि समाचारपत्रमा काम गरेपछि अलि राम्रो पारिश्रमिक र प्रतिष्ठा पाइएको हो, ०५४ सालको अन्तिमतिर त यो खाल्डोतिरछिरिहालेँ, १२ वर्षसम्म नेपाल समाचारपत्रमै काम गरेँ ।
त्यसकालमा लगातार ठूला ब्रोडसिट पत्रिकाहरू बन्द भए- श्रीसगरमाथा, एभरेस्ट हेराल्ड, लोकपत्र, श्रीदेउराली, स्पेशटाइम र स्पेशटाइम टुडे । झन्डै तीन सय पत्रकारहरू सडकमा आए, त्यसमध्ये केही पत्रकारहरू गाउँ फर्केर कुखुरा पालन सुरू गरे, केही विदेश पलायन भए । केहीचाहिँ मिडियामै दुखम-सुखम टिकिरहनु भयो ।
पछि नेपाली मिडियामा एफएम लहर आयो, एफएमपछि टिभीका लहड चल्यो । थुप्रै कथाव्यथा छन, जो यहाँ लेखिसाध्य छैन । अहिले प्रिन्ट र इलेक्ट्रोनिक गरी १५ हजार सञ्चारकर्मी कार्यरत रहेको अनुमान छ । मिडिया बजार सानो छ, सञ्चारकर्मीको संख्या धेरै छ । केही अघि एउटा मिडिया संवादमा मैले भनेको थिएँ- यस्तै अवस्था रहिरहे, अबको केही वर्षभित्र ५ हजार सञ्चारकर्मी सडकमा आउने छन् ।
कामना गर्छु, मेरो यो भविष्यवाणी पूरा नहोस ।

Monday, September 23, 2013

पुरस्कारसँग जोडिएका दुई पीडा

प्रेस काउन्सिल नेपालले मलाई यस वर्षको प्रेस काउन्सिल सशक्त कलम पुरस्कार दिने पत्र केही दिन अघि नै प्राप्त भएको थियो । सूचना विभागको सभाकक्षमा हुने काउन्सिलको ४४ औँ वार्षिकोत्सव समारोहमा जान एक्लै अलि असहज हुने भएकाले श्रीमतीलाई पनि विदा लिन लगाएँ । सूचना विभाग पुगेपछि ट्याक्सीबाट ओर्लनासाथ अब कसरी माथि जाने भन्ने समस्या भयो, किनकी सुरूमै चार सिँढी छन । प्रेस काउन्सिलका झविन्द्रजीलाई ल अब बोकेरै लानु पर्यो भने । पहिला त तल्लो तलामै कार्यक्रम हुन्थे, त्यहीँ होला भन्ठान्या थेँ, पहिलो तल्लामा रहेछ । यस्तैमा सूचना विभागमा महानिर्देशक निस्किए, उनी आफैले भने के गर्ने व्हीलचेयर एक्सेसिबल छैन । समस्या पो भो त
मैले भनेः अब झ्याम्पल लिएर फोड्नु पर्ने भयो ।
१७ वर्षे पत्रकारिताका दौरानमा सुरूका केही वर्ष सूचना विभागका प्रेस पास सानो इगोका कारण लिएको थिइन्, सिंहदरबार छिर्ने प्रयोजनका लागि मात्र काम आउने त्यो प्रेसपासका अरू के प्रयोजन छ र भन्ने मेरो मान्यता रहिआयो । तर लगातार रिपोर्टिङमा लगातार सिंहदरबार नै जानु पर्ने भएपछि २०५८ सालमा नलिइ धर पाइन । सूचना विभाग अपांगमैत्री नभएका कारण २०६६ सालदेखि मैले सूचना विभागबाट जारी हुने प्रेस पास नवीकरण गराउन पाएको छैन । सिंहदरबार जाने काम पर्दा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय वा समाजकल्याण मन्त्रालयतिरबाट पास मगाएर जाने गरेको छु ।
हिजो २०७० असोज ६ गते सूचना विभागमै कार्यक्रम भएपछि नगइ भएन, अनि प्रेस काउन्सिलका ४ जना साथीहरूले झनाकुल्टुङ पारेर बोकेरै माथिल्लो तलासम्म लैजानु भयो । यसरी बोकिइएर जाँदा अरू साथीहरूलाई त पीडा हुन्छ नै, मलाई झन पीडा हुने गर्छ ।
कार्यक्रम भएको हल नै व्हीलचेयरमैत्री नभएपछि ट्वाइलेट-बाथरूममा समस्या हुने नै भयो, युरिनका समस्या हुन्छ भनेर दिनभरी पानी नपिइ बसियो, बेलुका त टाउको दुखेर खपिनसक्नु भयो ।
जे भए पनि, मेरो १७ वर्षे व्यावसायिक पत्रकारिताको प्रेस काउन्सिलले मूल्यांकन गरिदिँदा खुसी लाग्नु स्वभाविक हो, यसप्रति म प्रेस काउन्सिलमा रहनु भएका अग्रजहरूप्रति आभारी छु । 

......

Wednesday, March 6, 2013

म पनि करोडपति, "क" मेटेर

पुसको दिन थियो, बाहिर सिमसिम पानी परिरहेको थियो ।  अफिस, भीमसेनस्थन पुग्नु पर्ने, न्यूरोड हनुमानढोकाभन्दा तल । एक त अत्यन्तै थोरै तलब, त्यसमाथि तीन महिना भएको थियो, नपाएको । तलब माग्न गयो, लेखापालले छैन भन्दै फर्काउँथ्यो ।  तलब पाइहाले पनि किस्ताबन्दीमा । यस्तो लाग्थ्यो, जिन्दगी नै मानौ किस्ताबन्दीमा चलिरहेको छ । बिहे गर्ने बेलामा सरसापट ऋण गरेर लिएको रकम तलब हात पर्नासाथ बुझाउनु पर्थ्यो, अनि त हात लाग्यो शून्यसरह नै हुन्थ्यो महिनाभर ।
बानेश्वरबाट न्यूरोडसम्म चल्ने ब्रिकम ट्याम्पुमा भाडा ५ रूपैयाँ थियो, त्यो तिर्ने पैसासमेत गोजीमा हुँदैन थियो । अनि बानेश्वरबाट हनुमानस्थान हुदै पुतलीसडक, बागबजार हुँदै एक घण्टामा अफिस पुग्थेँ । बाहिर पानी परिरहेको थियो (जनवरी वर्षा), छाता बोकी हाल्ने अवस्थाचाहिँ थिएन । सिमसिमे पानीमा रूझ्दै अफिस पुगेँ, चिसोले समाइ त गयो । बेलुका घर फर्कँदा हनहनी ज्वरो आयो । उनले पानी तताएर त दिइन, तर त्यसले काम गरेन । सिटामोल नखाइ नहुने अवस्था आयो, पर्स हेरेँ खाली थियो । विभिन्न व्यवसायीहरूको भिजिटिङ कार्डहरूमात्र खाँदेर मोटो भएको रहेछ, खुइय गरेर फालेँ ।
"तिमीसँग ५ रूपैयाँ छ?" बुढीलाई सोधेँ
"छैन, कहाँबाट हुनु," उने भनिन ।
"हेर न कतै छ कि?" बिहेमा दाइजोमा आएको सुटकेश खोलखाल गरेर टक्टक्याउँदा पनि ५ रूपैयाँ निस्केन ।
"होस, केही भा छैन । जाबो ज्वरो हो ठीक भइहाल्छ, बरू मलाई बेसार पानी तताइ देउ", मैले उनलाई आग्रह गरेँ
स्टोभमा झ्वाराररर करायो,
'हरे एउटा ग्याससमेत किन्न सकेको छुइन, भरखर बिहे गरेर ल्याएकी श्रीमती के भन्दिहुन्', मनमनै सोचेँ ।
"पानी तात्यो, जाउली बनाइदिउँ", उनले भनिन
"पर्दैन, खान मन छैन, तिमी खाना खाएर सुत।"
उनले खाना खाइन कि खाइनन याद भएन
ज्वरो बढ्दै थियो, सिरक गम्लङ् ओढेर सुतेँ । एकैछिनपछि डङडङ काम छुट्न थाल्यो । उनले अंगालो मारिन, अँधेरोमा गाला छामे चिसो थियो, शायद आँखा रसाएका थिए ।
"कसैले पनि पत्रकारसँग त बिहे नगरून् । म भोलि गएर मेरा छोरी भए भने मेरा शाखासन्तान कसैलाई पत्रकारसँग बिहे गर्न दिन्न", उनले दुःखेसो गरिन् ।
बूढीलाई हँसाउने शैलीमा भने "बुढी, दाम नभएर के भो, नाम त छ नि । आर्थिक पत्रकार हु, करोडपतिहरू सँग उठबस छ, करोडपतिहरूले चिन्छन्, म पनि त करोडपति नै हुँ नि, तर क चाहिँ मेट्नु पर्छ ।"
उनी हाँसिन कि हाँसिनन, अँधेरोमा देखिन। म भने ज्वरोले झन झन चापेर बोल्नै नसक्ने अवस्थामा पुगिसकेको थिएँ ।
(यो २०५९ सालको घटना हो)