Tuesday, April 8, 2014

पत्रकारहरूको पलयानका कुरा

आजकल पत्रकारहरू पेशाबाट पलायन भएर साउदी, कतारतिर गएका समाचार लगालग आउन थालेका छन् । मलाई सम्झना छ, मेरो पत्रकारिताका प्रारम्भिक दिनहरूमा अत्यन्त्य कठिन अवस्था थियो । उदयपुरबाट स्ट्रिन्जरका रूपमा विभिन्न सञ्चारमाध्यममा समाचार पठाउँथे, साप्ताहिक पत्रिकाका सम्पादक-प्रकासकहरूलाई समाचार चाहिने तर भुक्तानी दिन नसक्ने यहाँसम्म कि कुरियर गरेको पैसासमेत नदिने । लोकपत्र दैनिकले प्रति शब्द २५ पैसा भुक्तानी दिन्थ्यो, ६ महिनामा पैसा लिन आयो जम्मा २५००-३ हजार हुने । जिल्लामा कौशल दाइहरूसँग साप्ताहिक पत्रिका निकाल्थ्यौं पकेट खर्च चल्थ्यो । दुई जना प्रकासक इमान्दार भेटेँ- बन्धु थापा (देशान्तर) र माल्दाइ, कृष्णप्रसाद गौतम (जनसत्ता,चण्डेश्वरी प्रकाशन), कहिल्यै खाली हात पठाएनन, गाडी भाडासमेत दिन्थे । पछि ०५३ सालदेखि समाचारपत्रमा काम गरेपछि अलि राम्रो पारिश्रमिक र प्रतिष्ठा पाइएको हो, ०५४ सालको अन्तिमतिर त यो खाल्डोतिरछिरिहालेँ, १२ वर्षसम्म नेपाल समाचारपत्रमै काम गरेँ ।
त्यसकालमा लगातार ठूला ब्रोडसिट पत्रिकाहरू बन्द भए- श्रीसगरमाथा, एभरेस्ट हेराल्ड, लोकपत्र, श्रीदेउराली, स्पेशटाइम र स्पेशटाइम टुडे । झन्डै तीन सय पत्रकारहरू सडकमा आए, त्यसमध्ये केही पत्रकारहरू गाउँ फर्केर कुखुरा पालन सुरू गरे, केही विदेश पलायन भए । केहीचाहिँ मिडियामै दुखम-सुखम टिकिरहनु भयो ।
पछि नेपाली मिडियामा एफएम लहर आयो, एफएमपछि टिभीका लहड चल्यो । थुप्रै कथाव्यथा छन, जो यहाँ लेखिसाध्य छैन । अहिले प्रिन्ट र इलेक्ट्रोनिक गरी १५ हजार सञ्चारकर्मी कार्यरत रहेको अनुमान छ । मिडिया बजार सानो छ, सञ्चारकर्मीको संख्या धेरै छ । केही अघि एउटा मिडिया संवादमा मैले भनेको थिएँ- यस्तै अवस्था रहिरहे, अबको केही वर्षभित्र ५ हजार सञ्चारकर्मी सडकमा आउने छन् ।
कामना गर्छु, मेरो यो भविष्यवाणी पूरा नहोस ।

No comments:

Post a Comment