नामः
कालुमान दर्जी
उमेरः
५२ वर्ष
खटटटटटटटटटटट
एकहोरो मेसिनका अवाज चलिरहेको छ ।
दुर्गाका
कुर्ता सकिदिनु पर्ने बिहेमा जानु छ भन्दै थिइ ।......मोरीका जीउ कस्तो टमक्क
कसिएको....छातीका उकास पनि मज्जैले भइसकेछ । मैले देख्दादेख्दै जन्मेकी, पातली,
पिलन्धरी थिइ । खाली रूइरक्थी । दूध कटुवा हो त्यो । त्यो वर्षीकी नहुँदै बाहुनीले
फेरि बोकिछे, क्यार्नु । उमा नभइदेकी भए त मर्थी होला, उमाले दूध ख्वारै हुर्की ।
के गर्नु अाफ्नो बिग्री गो........
कालुमान
मनसंवाद गर्दै विगतमा फर्कियो ।
............
१६
वर्षे जवानी थियो । कालुमान असाध्यै राम्रो गीत गाउँथ्यो ।
"तैंले
गीत गाइस भन्दिन्खुन त । रेड्योको नारान गोपालजस्तै लाग्छ", भन्थी उर्मे ।
चुस्स
परेका नाक, गोरी । ठूल्ठूला अाँखा, ठूलो निधार, लामो कपाल । सँधै हाँसिरहने बानी ।
उर्मिलामा जोकोहीलाई पनि अाकर्षण गर्ने
शक्ति थियो ।
बढ्न
बिर्सेको कालु । नामजस्तै अलिअलि कालोकालो । राख्न त बाबुले नाम राजेश राखेका हुन
। बाउ राजेश खन्नाका फ्यान थिए रे, दिल्लीमा दरबानी गर्दा खुब फिलिम हेर्थे रे ।
धनका लोभ पलाएछ, अाफू पाले बसेकै घरबाट गरगहना चोरेछन, पुलिसले उतै पक्रेछ । जेल हालेछ
। राजेश दर्जी, कालुकै नामबाट बोलाइन्थ्यो । अामाले पछि अर्को बे गरिन । कान्छा
बाउ मानबहादुर पट्टीका २ जना भाइहरू छन, उनीहरू परियार लेख्छन, पढेका छन ।
काठमाण्डूमा बस्छ ठूलो भाइ प्रकाशकुमार । सिनिमा खेल्छ रे । कान्छो भाइ सदरमुकाममामा छ । कान्छबाउ नेता हुन,
कम्निष्ट पार्टीका । ०५४ सालमा गाविस अध्यक्षमा उठेका थिए, हारे । उनी पार्टीको
भातृ संगठन दलित अधिकार रक्षा मञ्चका केन्द्रिय महासचिव । भाइ दिलिप त्यसकै
कार्यक्रमहरू चलाउँछ, जिल्लामा । मोटरसाइकिल चढ्छ ।
कालुमानलाई
कहिल्यै कान्छबाउले माया देखाएनन । स्कूल कुन चराको नाम हो, उसले कहिले थाह पाएन ।
नागरिकता त बनाइ दिए, तर नागरिकतामा नाम लेखाइ दिए, कालुमान दर्जी ।
उर्मे,
अर्थात उर्मिला । परियारै जातकी भए पनि, अलि हुनेखाने परिवारकी, टन्नै खेतबारी छ ।
लामो ठूलो अागन भएको, काठको घर छ । दहलमान कान्छाकी कान्छी छोरी । उर्मिलाकी दिदी
हो उमा । कालुमानभन्दा २ वर्ष जेठी । पहिलो घरबार बिग्रेर माइतीघरै बस्थी,
रूपरंगमा त कमी हैन, तर बालबच्चा भएन भनेर लोग्नेले कान्छी ल्याएछ । साकैतासँग बसीखान सकिन, अनि माइतै बस्न थाली ।
दहलमानले
बडाहाकिम, चक्रमान थापाका खुब सेवा गरे । थोरैतिना अक्षर चिनेका । डिठ्ठा
लीलबहादुरका संगतले कागजपत्र लेख्न जाने । ०१७ सालपछि बडाहाकिमका जागिर सकियो,
बडाहाकिमहरू झापा फर्के । दहलमानलाई पञ्चायतले पत्यायो, सरकारी जागिर दियो । उनी
दलित बस्तीका अर्का बडाहाकिमका रूपमा उदाए ।
दहलमानकी
छोरी ताक्नु चानचुने कुरा थिएन । पुलिस लगाएर थुनाइदिन सक्थे । पोहर सालकै कुरा
हो, महाभारेका केटाहरू देउसी खेल्न अाउँदा उर्मीलाई नाच्न हात समातेर तानेछन ।
दहलमानले पुलिस लगाएर ती ४ भाइलाई थुनाइ दिए ।
..............
"उर्मी
(उ उर्मेबाट उर्मीमा उक्लियो) एउटा कुरा भन्छु, मान्छेस", मन उद्वैलित थियो ।
दहलमानको डर पनि थियो ।
"भन
न, के कुरा ।"
एक
छिन अनकनायो, हिम्मत जुटायो
"मसँग
ब्या गर्छस ......"
उर्मिलाले
केही जवाफ दिइन ।
भन्न
न मसँग ब्या गर्छन ।
"म
विचारेर भन्छु"
..............
त्यसपछि
उर्मिला नजिक पर्न छाडी । कालुमानलाई देख्दा पनि नदेखेझैं व्यवहार गर्न थाली ।
साथीहरूसँग भन्थी रे, त्यो कालो, पोल्दापोल्दै उम्केजस्तोले मलाई ब्या गर्छु भन्यो
।
कालुमानका
मन साह्रै कुँडियो । उसले दिल्ली जाने विचार गरेर घर छाडेर हिड्यो
...........
जोगबनीमा
उसका पैसा लुटियो, बाटोमा विचल्ली पर्यो । विराटनगरको एउटा घरमा आग्रह गर्यो, त्यही
काम माग्यो । ती काङ्ग्रेस नेता मधुवन शर्माको घर रहेछ । भाँडा माज्ने, वस्तु
हेर्ने काम पायो । उ मधुवन दासँग कहिलेकाँही कोइराला निवास पनि जान्थ्यो ।
राजनीतिका कुरा अलिअलि बुझ्न थाल्यो । ०३६ सालका जनमत संग्रह भन्थे, मधुवन दाले
कालुमानलाई कागतपत्र बोकाएर गाउँगाउँमा लगे ।
अर्थात,
उ काङ्ग्रेस भयो ।
.............
२
वर्षपछि उ गाउँ फर्कियो, तर उर्मिला गाउँमा थिइन । पूर्व धरान बिहे भयो रे,
प्रधानपञ्च जगतमानका छोरासँग । खिस्रिक परेर फर्किन लाग्या थ्यो ।
"ए,
कालुमान । के गर्दैछस नि विराटनगरमा?" उमाले भनी
"काम
त खासै केही गर्दिन। प्रजातन्त्रका अान्दोलनमा लडिराछु," नेताका भाका बक्न थालेको
थियो, कालुमानले पनि । लवाइ खुवाइ पनि जानेको । कालोकालो भए पनि हिस्सी देखिन
थालेको थियो ।
..........
एक
दिन साल्घारीको पानीदहमा कालुमान नुहाउँदै थियो । पानीदह, जरूवापानीको मुहान,
बाह्रैमास पानी अाउनी । गाउँका खानेपानी लिने, नुहाइधुवाइ गर्ने एउटै थलो ।
उमा
पानी लिन अाइ, कालुमानले छेउ सरेर ठाउँ थियो ।
गाग्रा
भरी, माथिदेखि तलसम्म कालुमानलाई हेरी ।
कालुमान
मयलमाड्दै थियो ।
"जिउ
त निकै बलियो रैछ"
उमा
जिस्की ।
"बसी
खाइ लागेको", कालुमानले भन्यो ।
"विराटनगरमा
त राम्राराम्रा अाइमाइहरू हुँदाहुन है", उमा अर्कै मुडमा थिइ ।
"तिमेरू
जतिको त हैन..."कालुमान पनि के कम ।
"फुर्काउँछस"
"साँच्चै,
गाईखाने होला । तिमीहरूजस्ता राम्रा केटी पाए त जसले पनि लान्छ"
"मलाई
लान्छस त?"
अचानक
तेर्सिएको यो प्रश्नले कालुमान स्तब्ध भयो । एक छिन जवाफ दिएन, जिउ यताउता चलाउन
थाल्यो ।
"तिमी
त.....".मात्र भन्यो ।
"जारी
लाग्दैन, त्यो नामर्दोलाई छाडिसकेँ, ४ साल भो । त्यसले अर्कै घरबार गरिसको । अाफ्नो
बीउ कमजोर छ, अाइमाईलाई दोष दिन्छ, नामर्दो," उमाले घृणाले पिच्च थुकी।
"हैन,
मैले त्यसो भन्न् खोज्या हैन, तर पनि तिमीसँग......".कालुमानले कुरा अधुरै छाड्यो ।
"कि
तिम्रो पनि सामानले काम गर्दैन?" उमाले त्यही औंल्याउँदै उसको पुरूषत्वमाथि नै
प्रहार गरी
"गर्छ
कि गर्दैन, त्यो त सुतेपछि थाह हुन्छ," १८ वर्षको लक्का कालुमान पनि के कम ।
.........
भोलिपल्ट
गाउँमा हल्ला भयो, कालेले उमालाई भगायो रे । कालुमान विराटनगर पनि गएन । उनीहरू
सर्लाही पुगे । उमाले अलिकता गहना गुरिया ल्याएकी थिइ, त्यही बेचेर कल मिसिन किने
। सिलाइका काम थाले ।
उमा
गर्भावती त भइ, तर ७ महिना नपुग्दै बच्चा बिग्रियो । ०४० सालका कुरा थियो यो । उता
छिमेकी कुलभद्र बाहुनका ४ बहिनी छोरी नै छोरी थिए, बर्स्याउनीका । पिण्ड दिन छोरा
त चाहिन्छ भन्थे ।
"अहिलेका
जमानामा पनि यस्ता कुरा गर्ने बाजे? छोरी पनि शक्ति हुन, उता हेर त इन्दिरा
गान्धीले हिन्दुस्थानमा देश चलाइराकी," अलिअलि राजनीतिक चेत पसेको कालुमान भन्थ्यो
।
"त्यस्तो
हुँदैन, कालु दर्जी । तिमी शास्त्रका कुरा बुझ्दैनौ," भन्थे कुलभद्र ।
त्यही बेलामा जन्मेकी
हो, दुर्गा ।
भाइ पेटमा अाएकाले
दूध राम्रोसँग खान पाएकी थिइन, यता उमा बच्चा खेर गएका कारण दूध गान्निएर मर्नु न
बाँच्नु हुन्थी । उसैले दूध चुसाउँथी दुर्गालाई ।
.........
०४२ सालमा फेरि उमाको
पेट बस्यो । तर यस पटक स्थिति झनै खराब भयो । अत्याधिक रक्तश्राब भयो, स्वस्थ्य
चाकीमा लाँदा बाहिर लानु पर्छ भने । कालुमानसँग त्यति पैसा थिएन । त्यही
रक्तश्राबले उमाको ज्यान गयो ।
.......
कालुमान विरक्तिएर
माझ गाउँ फर्कियो । उ एकहोरो कुरा गर्थ्यो, पंचायती व्यवस्थाले स्वास्नी मारिदियो
भन्थ्यो । प्रजातन्त्र अाउँछ भन्थ्यो । बिहानैदेखि रक्सी पिउँथ्यो । होहल्ला गर्दै
हिड्थ्यो ।
"त्यो उर्मी मेरै हो,
जेठी पनि मेरी, कान्छी पनि मेरी । मेरो पिरेम भत्कार बे गरिदियो दलेले । म फिर्कार
ल्याउँछु," भन्दै हिड्थ्यो ।
सुरूसुरूमा त बाैलाह
भनेर कसैले वास्ता गरेनन, अति भएपछि दहलमानले व्यवस्थाविरोधी भनेर प्रशासनमा उजुरी
गरे र कालुमानलाई जेल हालिदिए ।
...........
२०४६ मा प्रजातन्त्र
अाएपछि ०४७ सालमा कालुमान छुटे । तर उनलाई प्रजातन्त्र अाएन, किनकी उनका ससुरा
दहलमान पहिला नै काङ्ग्रेस भइसकेछन् । ०४८ सालमा काङ्ग्रेसले दहलमानलाई सांसदको
टिकट दियो, दहलमान कडा काङ्ग्रेस भएर निस्के । कालुमान पटकपटक कोइराला निवास पुगे
। मधुवन दाका कहाँ पुगे । पार्टीमा सम्माजनक ठाउँ दिने कुरा भयो, तर कालुमानले
त्यो सम्मानजनक ठाउँ कहिल्यै पाएनन ।
उनका कान्छाबाबु मानबहादुर मालेमा लागे । कालुमानलाई
माले बन्न उनैले दिएनन, यो काङ्ग्रेसी गुप्तचर हो भनिदिएछन पार्टीमा ।
०५१ सालसम्म उ गाउँमै
देखिन्थ्यो, उही पारा रक्सी खान्थ्यो । हल्ला गर्थ्यो । कल चलाउँथ्यो । अचानक ०५२
सालमा उ हरायो । माओवादी भयो अरे भन्थे । कहाँ गयो कुनै पत्तै भएन ।
०६३ सालमा देखियो,
प्लाटुन कमान्डर बलवीर । शिविरमा । देशमा मुक्तिका लडाइमा लागेछ, जनतामा समानताको
लडाइ लडेछ । युद्ध सकियो, ल अब शान्ति प्रकृया सकियो । हतियार बिसाउँ नेताहरूले
भने । उसले पनि हतियार बिसायो । शिविरमा गएर बस्यो, नयाँ पुराना सेनाहरूलाई पिटी
गराउँथ्यो । शारीरिक तन्दुरूस्तिका तालिम दिन्थ्यो ।
नेपाली सेनामा
समायोजन हुने कुरा अायो, उ उमेरले, उचाइले अयोग्यमा दरियो । साढे २ लाख दिएर बिदा गरियो
। तर गाउँ फर्केन, सर्लाही फर्कियो, अनि कुलभद्र बाजेसँगै जग्गा किनेर
फेरि त्यही पुरानो थलोमा सिलाइ थाल्यो
............
विगत सम्झेर
कालुमानको मन चटक्क कुडियो, जुरूक्क उठ्यो । बजारतिर निस्क्यो ।
"ए, साइली । एक बोतल
देउ त....."
"बिहानै कालुमान काका? तपाई नेताजस्तो मान्छेले"
"अँ के गर्नु नेता भएर । गरिबका सपना पूरा हुँदैन रैछ साइली.... लुगा सिउने कलले मन सिउँदैन रैछ के गर्नु?"
खाली पेटमै उसले
बोतलबाटै ठाडो घाँटी लायो ।
No comments:
Post a Comment