Wednesday, April 12, 2017

कविताः तस्बिर संवाद

-बुढाथोकी गजेन-

म उदास भएको पल
तिम्रो तस्बिर चिहाउँछु 
तस्बिर बोल्दैन मनका भावना
मेरा हरेक तर्कहरूमा
जनाउँदै माैन समर्थन
तिमी बोलिदिएजस्तो लाग्छ ।
अस्ताउँदो घाम
उदाउँदो जुन 
एक पलको गोधुली
सजाइएका म्यानेक्विनहरूले
बोल्दैनन उम्लिएका ज्वारभाटा
बक्ररेखामा कोरिएको भाग्य
अधुरा चाहना
धुँवा त तिमीले देख्याै होला
वन डढेलोको त्यतै कतै
मन ढडेको पो यहाँ कसले देख्छ र?
स्वार्थी छ संसार
तिमीले बुझ्न बाँकी नै छ
फूल देखाएर काँडामा धकेल्न
तत्पर हुन्छन् मान्छेहरू
उर्लिँदा मनका चाहना
असरल्ल नपोखिनु
वर्षायाममा खहरे त जो पनि बन्छ
नीलो शान्त समुद्र
गहिरो सागरमा हराउँछ सगर पनि
अलिकता आकास खुलेका दिन
बिहानै हेर्नु
सुनाैलो घामका झुल्कामा
अलिकता न्यानो महसुस गर्याै भने
म त्यहीँ-कतै हुनेछु
भावनाको सम्बन्धमा 
नदी किनारमा कतै
माटीकोरेको मुखमा छट्पटाउँदो माछा देखे
सम्झनु जिन्दगीको लडाइमा
लड्दै छु म त्यतै कतै ।
फेरि पनि स्नेह त बाँड्नु नै छ ।
आँखाभरि, मुटुभरि ।
-कपन, बालुवाखानी