Monday, September 23, 2013

पुरस्कारसँग जोडिएका दुई पीडा

प्रेस काउन्सिल नेपालले मलाई यस वर्षको प्रेस काउन्सिल सशक्त कलम पुरस्कार दिने पत्र केही दिन अघि नै प्राप्त भएको थियो । सूचना विभागको सभाकक्षमा हुने काउन्सिलको ४४ औँ वार्षिकोत्सव समारोहमा जान एक्लै अलि असहज हुने भएकाले श्रीमतीलाई पनि विदा लिन लगाएँ । सूचना विभाग पुगेपछि ट्याक्सीबाट ओर्लनासाथ अब कसरी माथि जाने भन्ने समस्या भयो, किनकी सुरूमै चार सिँढी छन । प्रेस काउन्सिलका झविन्द्रजीलाई ल अब बोकेरै लानु पर्यो भने । पहिला त तल्लो तलामै कार्यक्रम हुन्थे, त्यहीँ होला भन्ठान्या थेँ, पहिलो तल्लामा रहेछ । यस्तैमा सूचना विभागमा महानिर्देशक निस्किए, उनी आफैले भने के गर्ने व्हीलचेयर एक्सेसिबल छैन । समस्या पो भो त
मैले भनेः अब झ्याम्पल लिएर फोड्नु पर्ने भयो ।
१७ वर्षे पत्रकारिताका दौरानमा सुरूका केही वर्ष सूचना विभागका प्रेस पास सानो इगोका कारण लिएको थिइन्, सिंहदरबार छिर्ने प्रयोजनका लागि मात्र काम आउने त्यो प्रेसपासका अरू के प्रयोजन छ र भन्ने मेरो मान्यता रहिआयो । तर लगातार रिपोर्टिङमा लगातार सिंहदरबार नै जानु पर्ने भएपछि २०५८ सालमा नलिइ धर पाइन । सूचना विभाग अपांगमैत्री नभएका कारण २०६६ सालदेखि मैले सूचना विभागबाट जारी हुने प्रेस पास नवीकरण गराउन पाएको छैन । सिंहदरबार जाने काम पर्दा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय वा समाजकल्याण मन्त्रालयतिरबाट पास मगाएर जाने गरेको छु ।
हिजो २०७० असोज ६ गते सूचना विभागमै कार्यक्रम भएपछि नगइ भएन, अनि प्रेस काउन्सिलका ४ जना साथीहरूले झनाकुल्टुङ पारेर बोकेरै माथिल्लो तलासम्म लैजानु भयो । यसरी बोकिइएर जाँदा अरू साथीहरूलाई त पीडा हुन्छ नै, मलाई झन पीडा हुने गर्छ ।
कार्यक्रम भएको हल नै व्हीलचेयरमैत्री नभएपछि ट्वाइलेट-बाथरूममा समस्या हुने नै भयो, युरिनका समस्या हुन्छ भनेर दिनभरी पानी नपिइ बसियो, बेलुका त टाउको दुखेर खपिनसक्नु भयो ।
जे भए पनि, मेरो १७ वर्षे व्यावसायिक पत्रकारिताको प्रेस काउन्सिलले मूल्यांकन गरिदिँदा खुसी लाग्नु स्वभाविक हो, यसप्रति म प्रेस काउन्सिलमा रहनु भएका अग्रजहरूप्रति आभारी छु । 

......

Wednesday, March 6, 2013

म पनि करोडपति, "क" मेटेर

पुसको दिन थियो, बाहिर सिमसिम पानी परिरहेको थियो ।  अफिस, भीमसेनस्थन पुग्नु पर्ने, न्यूरोड हनुमानढोकाभन्दा तल । एक त अत्यन्तै थोरै तलब, त्यसमाथि तीन महिना भएको थियो, नपाएको । तलब माग्न गयो, लेखापालले छैन भन्दै फर्काउँथ्यो ।  तलब पाइहाले पनि किस्ताबन्दीमा । यस्तो लाग्थ्यो, जिन्दगी नै मानौ किस्ताबन्दीमा चलिरहेको छ । बिहे गर्ने बेलामा सरसापट ऋण गरेर लिएको रकम तलब हात पर्नासाथ बुझाउनु पर्थ्यो, अनि त हात लाग्यो शून्यसरह नै हुन्थ्यो महिनाभर ।
बानेश्वरबाट न्यूरोडसम्म चल्ने ब्रिकम ट्याम्पुमा भाडा ५ रूपैयाँ थियो, त्यो तिर्ने पैसासमेत गोजीमा हुँदैन थियो । अनि बानेश्वरबाट हनुमानस्थान हुदै पुतलीसडक, बागबजार हुँदै एक घण्टामा अफिस पुग्थेँ । बाहिर पानी परिरहेको थियो (जनवरी वर्षा), छाता बोकी हाल्ने अवस्थाचाहिँ थिएन । सिमसिमे पानीमा रूझ्दै अफिस पुगेँ, चिसोले समाइ त गयो । बेलुका घर फर्कँदा हनहनी ज्वरो आयो । उनले पानी तताएर त दिइन, तर त्यसले काम गरेन । सिटामोल नखाइ नहुने अवस्था आयो, पर्स हेरेँ खाली थियो । विभिन्न व्यवसायीहरूको भिजिटिङ कार्डहरूमात्र खाँदेर मोटो भएको रहेछ, खुइय गरेर फालेँ ।
"तिमीसँग ५ रूपैयाँ छ?" बुढीलाई सोधेँ
"छैन, कहाँबाट हुनु," उने भनिन ।
"हेर न कतै छ कि?" बिहेमा दाइजोमा आएको सुटकेश खोलखाल गरेर टक्टक्याउँदा पनि ५ रूपैयाँ निस्केन ।
"होस, केही भा छैन । जाबो ज्वरो हो ठीक भइहाल्छ, बरू मलाई बेसार पानी तताइ देउ", मैले उनलाई आग्रह गरेँ
स्टोभमा झ्वाराररर करायो,
'हरे एउटा ग्याससमेत किन्न सकेको छुइन, भरखर बिहे गरेर ल्याएकी श्रीमती के भन्दिहुन्', मनमनै सोचेँ ।
"पानी तात्यो, जाउली बनाइदिउँ", उनले भनिन
"पर्दैन, खान मन छैन, तिमी खाना खाएर सुत।"
उनले खाना खाइन कि खाइनन याद भएन
ज्वरो बढ्दै थियो, सिरक गम्लङ् ओढेर सुतेँ । एकैछिनपछि डङडङ काम छुट्न थाल्यो । उनले अंगालो मारिन, अँधेरोमा गाला छामे चिसो थियो, शायद आँखा रसाएका थिए ।
"कसैले पनि पत्रकारसँग त बिहे नगरून् । म भोलि गएर मेरा छोरी भए भने मेरा शाखासन्तान कसैलाई पत्रकारसँग बिहे गर्न दिन्न", उनले दुःखेसो गरिन् ।
बूढीलाई हँसाउने शैलीमा भने "बुढी, दाम नभएर के भो, नाम त छ नि । आर्थिक पत्रकार हु, करोडपतिहरू सँग उठबस छ, करोडपतिहरूले चिन्छन्, म पनि त करोडपति नै हुँ नि, तर क चाहिँ मेट्नु पर्छ ।"
उनी हाँसिन कि हाँसिनन, अँधेरोमा देखिन। म भने ज्वरोले झन झन चापेर बोल्नै नसक्ने अवस्थामा पुगिसकेको थिएँ ।
(यो २०५९ सालको घटना हो)

Sunday, March 3, 2013

नेपाल राष्ट्र ब्यांकमा वंशावली बुझाउने निवेदनको ढाँचा

श्री श्री श्री गभर्नर महाराज
नेपाल राष्ट्र ब्यांक
बालुवाटार दरबार ।
विषयः वंशावली पेश गरेको बारे ।
उपरोक्त सम्बन्धमा फिरंगीहरूद्वारा तयार पारिएका कानुनहरू अक्षरस लागू गर्ने सिलसिलामा महाराजद्वारा ब्यांकममा पिता र परपिताका नाम र नागरिकता नम्बर अनिवार्य पेश गर्ने नियम चैत १ गतेदेखि लागू गरिबक्सन हुकुम फर्मान जारी भएकोमा कुन दिन यहाँका मन विचारमा के परिवर्तन हुने हो र वंशावली माग गरिबक्सेला भनि अग्रीम रूपमा मेरो वंशावली पेश गरेको छु ।
मेरा परपिताका पनि परपिताहरू कर्णाली सिंजा प्रदेशबाट देशका विभिन्न भागमा फैलिएका र सोही क्रममा कर्णाली प्रदेशमा रहेकाहरूले हालसम्म बूढा क्षेत्री लेख्ने गरेकामा अन्यत्र भने बुढाथोकी लेख्ने गरेको महाराजमा जाहेर गर्दछु ।
मेरा पर पिताहरू खोटाङ जिल्लाको अर्खौलेमा बसोबास गर्दै आएकामा रणध्वजका परिवार त्यहाँबाट बसाइ सरी खोटाङ, दोर्पामा थातथलो बनाएका वंशावलीमा देखिन आयो महाराज । रणध्वजका पाँच भाइ छोरामध्ये काइला भैरवबहादुरका चार भाइ छोरामध्ये कुल्दीपबहादुर बुढाथोकी मेरा परपिता भएको र उहाँका ६ भाइ छोरामध्ये काइला भक्तबहादुरको म एकमात्र छोरा भएको यो वंशावली नेपाल राष्ट्र ब्यांकको प्रयोजनका लागि महाराजको पाउमा बिन्ति बिसाएको छु । मेरा परपिताको २०२९ सालमै देहावसन भइसकेको र पिताजीसँग विगत ८ वर्षदेखि भेटघाट नभएका कारण उहाँको समेत नागरिकता नम्बर महाराजका पाउमा बिसाउन पाइन । यसमा महराजद्वारा क्षमादान बक्सनु हवस भनी महाराजमा यो बिन्तिपत्र प्रस्तुत गरेको छु ।
महराजको जो आज्ञा
महाराजको हुकुमले अन्योलमा परेको एक नेपाली
गजेन्द्रसिंह बुढाथोकी