देहातको एउटा बजार, पहाड र तराईको संगम । आदिवासी थारू, दनुवारहरूको मूल बस्ती । क्षेत्री, बाहुन, राई, लिम्बू र मगरहरू पनि पर्याप्त संख्यामा थिए । मुसलमानहरूको पनि बस्ती थियो । गाईघाट । २०४२ सालअघि सडकले छोएको थिएन । उदयपुर सिमेन्ट उद्यो बन्ने भएपछि बल्ल ट्रयाक खुल्यो, चुरेको ठाडो भीरपट्टिबाट । सडकको आकारचाहिँ २०४९ मा मात्र पायो ।
गाडी चढ्न सप्तरी जिल्लाको फत्तेपुर पुग्नु पर्थ्यो । गाईघाटबाट फत्तेपुर पुग्न ६-७ घण्टा लाग्थ्यो । दशैंले छोएको थियो, लुरे मामा घर जान उत्साहित थियो । आमालाई सन्चो थिएन, त्यही भएर लुरे बुवासँग मामाघर हिड्यो ।
कार्तिकमा पनि शीर (रौतहा) तिर पानी परेर त्रियुगा नदीमा बाढी आएको थियो । खैजनपुरनेरको जङ्घारबाट त्रियुगा नदी तर्नु पर्थ्यो । त्रियुगाको भसेट (बालुवाको दलदल)ले धेरै मान्छे खान्थ्यो, वर्षाका बेलामा । हेर्दाहेर्दै लुरे भासियो, घाँटीमाथिबाट पानी बग्न थाल्यो । बुवा हरेक उपाय गरेर माथि उठाउने प्रयास गर्नुहुन्थ्यो, लुरे बाँच्न हातखुट्टा चलाउँथ्यो । त्रियुगाको बलौटो पानी उसका मुखबाट पसिरहेको थियो । बल्लतल्ल गरेर बुवाले बचाउनु भयो । जोगिदह-खैराहाबीचको नर्सरी (त्रियुगा नदीको कटानबाट बचाउन गरिएको वृक्षारोपण)का बीचमा एउटा चिया पसल थियो, बुवाले चिया एक गिलास चिया फुकिफुकी ख्वाएपछि लुरेको त्राण फर्क्यो ।
हडियाँ र सुन्दरपुरबीच बाक्लो जंगल थियो । मूलतः त्यो चुरे जंगल भए पनि स्थानीयहरू चास कोष जंगल अर्थात चार कोषसम्म फैलिएको जंगल भन्थे । बयलगाडामात्र कुद्ने त्यो जंगलका बीचको बाटोबाट साँझ घाम अस्ताउने बेलामा गोठालाहरूले गाईबस्तु फर्काउँदै गर्दा गाईबस्तुले उडाउने धुलोले धपक्कै ढाकेको क्षितिज अर्थात गोधुली वर्णनको सीमाभन्दा बाहिर हुन्थ्यो । काठ तस्करहरूको आँखा परिनसकेको त्यो बाक्लो जंगलबीच कालो हरिण, चित्तल, नीलगाई, बँदेल, मयुर, लुइचे, कालिज त कैयन पटक लुरेले आफ्नै आँखाले देख्यो । बाघ, भालु पनि पाइने, कहिलेकाँही बाघले मान्छे खाएको हल्ला सुनिन्थ्यो । त्यही भएकाले त्रियुगा किनारै किनार जतिसक्दो चाडो जंगल पार गरेर फत्तेपुर पुर्याउन बुवाले हतार लगाउनु हुन्यो । लुरे साना खुट्टाले सकी नसकी दौडिइरहेको थियो ।
हडियाको जंगलमा लुरेले पानीले लपक्क भिजेको पाँच रूपैयाँको नोट भेट्यो । डेढ रूपैयाँ कप चिया, दुई रूपैयाँमा ग्लुकोज बिस्कुट आउने त्योबेलामा लुरेका लागि पाँच रूपैयाँ (६ वर्षको उमेरका बच्चाका लागि) सबैभन्दा ठूलो नोट भइदिएको थियो । उसले आफूलाई राजाभन्दा मै धनी भन्ने सोच्यो, हडिँयादेखि सँगै हिडेका एक जना सहयात्रीले सोधे, के गर्छौ बाबु यो पैसाले । लुरेले पाँच रूपैयाँ कसरी खर्च गर्ने केही योजना बताउन सकेन ।
मामाघर पुगेपछि थाह भयो । मामाहरूलाई सुतक परेको रहेछ (परिवारमा कसैको जन्म भएको) । त्यो वर्ष मामाघर पुग्नुमात्र पर्यो, दशैंमा टीका लगाउन पाइएन ।
अर्को वर्ष लुरे, लुरेकी आमा, लुरेकी बहिनी बस चढेर उर्लाबारी गए । मामाघरको आकर्षण नै बेग्ले हुन्छ, बच्चाहरूलाई । कानेपोखरीको जंगलको बीचमा खिर बेचिन्थ्यो, असाध्यै मीठो । बसहरू रोकेर खिर खान्थे, यात्रुहरू । लुरेहरू मामाघर पुगे, उर्लाबारी स्कूलनजिकको मामाघर । वरिपरि हरियाली, धानको खेत, लहलह झुलेका धानका बालाहरू । कतै धान काटिँदै, कतै दाँइ गरिदै । त्यो दृष्य साँच्चै मोहक थियो ।
आमा टाँडमा मामासँग कुराकानी गर्न थाल्नु भयो ।भित्र माइजु खानेकुरा बनाउँदै हुनुहुन्थो, लुरेभन्दा दुइ वर्ष कान्छी बहिनी प्यास लागेर भान्छामा पसिन ।
हुँदैन हुँदैन भान्जी, तपाई क्षेत्रीहरू हाम्रो भान्सामा पस्नु हुँदैन भन्दै माइजुले झन्याकुल्टुङ पार्दै निकाल्नु भयो । बहिनी कहालिएर रून थाली । लुरेका बाबुले त्यस जमानामा बाहुनकी छोरीसँग क्षेत्रीले बिबाह गरेका गर्नु भएको थियो । बहिनीमाथि भएको दुर्व्यवहारले सात वर्षको लुरेको मन कुँडियो, आमा जाउँ, यिनीहरूका घरमा अबदेखि कहिल्यै नआउँ लुरेले भन्यो र त्यसपछि कहिल्यै लुरेले कहिल्यो मामाघर जाने रहर गरेन अनि गएन पनि ।
आजकल लुरे बूढा भएका मामा-माइजुलाई भेट्न चाहन्छ, मनभरिको गुनासा गर्न चाहन्छ, तर लुरे जान सक्दैन, केबल गोधुली सम्झनामा मामाघर सम्झन्छ ।