Tuesday, April 8, 2014

पत्रकारहरूको पलयानका कुरा

आजकल पत्रकारहरू पेशाबाट पलायन भएर साउदी, कतारतिर गएका समाचार लगालग आउन थालेका छन् । मलाई सम्झना छ, मेरो पत्रकारिताका प्रारम्भिक दिनहरूमा अत्यन्त्य कठिन अवस्था थियो । उदयपुरबाट स्ट्रिन्जरका रूपमा विभिन्न सञ्चारमाध्यममा समाचार पठाउँथे, साप्ताहिक पत्रिकाका सम्पादक-प्रकासकहरूलाई समाचार चाहिने तर भुक्तानी दिन नसक्ने यहाँसम्म कि कुरियर गरेको पैसासमेत नदिने । लोकपत्र दैनिकले प्रति शब्द २५ पैसा भुक्तानी दिन्थ्यो, ६ महिनामा पैसा लिन आयो जम्मा २५००-३ हजार हुने । जिल्लामा कौशल दाइहरूसँग साप्ताहिक पत्रिका निकाल्थ्यौं पकेट खर्च चल्थ्यो । दुई जना प्रकासक इमान्दार भेटेँ- बन्धु थापा (देशान्तर) र माल्दाइ, कृष्णप्रसाद गौतम (जनसत्ता,चण्डेश्वरी प्रकाशन), कहिल्यै खाली हात पठाएनन, गाडी भाडासमेत दिन्थे । पछि ०५३ सालदेखि समाचारपत्रमा काम गरेपछि अलि राम्रो पारिश्रमिक र प्रतिष्ठा पाइएको हो, ०५४ सालको अन्तिमतिर त यो खाल्डोतिरछिरिहालेँ, १२ वर्षसम्म नेपाल समाचारपत्रमै काम गरेँ ।
त्यसकालमा लगातार ठूला ब्रोडसिट पत्रिकाहरू बन्द भए- श्रीसगरमाथा, एभरेस्ट हेराल्ड, लोकपत्र, श्रीदेउराली, स्पेशटाइम र स्पेशटाइम टुडे । झन्डै तीन सय पत्रकारहरू सडकमा आए, त्यसमध्ये केही पत्रकारहरू गाउँ फर्केर कुखुरा पालन सुरू गरे, केही विदेश पलायन भए । केहीचाहिँ मिडियामै दुखम-सुखम टिकिरहनु भयो ।
पछि नेपाली मिडियामा एफएम लहर आयो, एफएमपछि टिभीका लहड चल्यो । थुप्रै कथाव्यथा छन, जो यहाँ लेखिसाध्य छैन । अहिले प्रिन्ट र इलेक्ट्रोनिक गरी १५ हजार सञ्चारकर्मी कार्यरत रहेको अनुमान छ । मिडिया बजार सानो छ, सञ्चारकर्मीको संख्या धेरै छ । केही अघि एउटा मिडिया संवादमा मैले भनेको थिएँ- यस्तै अवस्था रहिरहे, अबको केही वर्षभित्र ५ हजार सञ्चारकर्मी सडकमा आउने छन् ।
कामना गर्छु, मेरो यो भविष्यवाणी पूरा नहोस ।

Monday, September 23, 2013

पुरस्कारसँग जोडिएका दुई पीडा

प्रेस काउन्सिल नेपालले मलाई यस वर्षको प्रेस काउन्सिल सशक्त कलम पुरस्कार दिने पत्र केही दिन अघि नै प्राप्त भएको थियो । सूचना विभागको सभाकक्षमा हुने काउन्सिलको ४४ औँ वार्षिकोत्सव समारोहमा जान एक्लै अलि असहज हुने भएकाले श्रीमतीलाई पनि विदा लिन लगाएँ । सूचना विभाग पुगेपछि ट्याक्सीबाट ओर्लनासाथ अब कसरी माथि जाने भन्ने समस्या भयो, किनकी सुरूमै चार सिँढी छन । प्रेस काउन्सिलका झविन्द्रजीलाई ल अब बोकेरै लानु पर्यो भने । पहिला त तल्लो तलामै कार्यक्रम हुन्थे, त्यहीँ होला भन्ठान्या थेँ, पहिलो तल्लामा रहेछ । यस्तैमा सूचना विभागमा महानिर्देशक निस्किए, उनी आफैले भने के गर्ने व्हीलचेयर एक्सेसिबल छैन । समस्या पो भो त
मैले भनेः अब झ्याम्पल लिएर फोड्नु पर्ने भयो ।
१७ वर्षे पत्रकारिताका दौरानमा सुरूका केही वर्ष सूचना विभागका प्रेस पास सानो इगोका कारण लिएको थिइन्, सिंहदरबार छिर्ने प्रयोजनका लागि मात्र काम आउने त्यो प्रेसपासका अरू के प्रयोजन छ र भन्ने मेरो मान्यता रहिआयो । तर लगातार रिपोर्टिङमा लगातार सिंहदरबार नै जानु पर्ने भएपछि २०५८ सालमा नलिइ धर पाइन । सूचना विभाग अपांगमैत्री नभएका कारण २०६६ सालदेखि मैले सूचना विभागबाट जारी हुने प्रेस पास नवीकरण गराउन पाएको छैन । सिंहदरबार जाने काम पर्दा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय वा समाजकल्याण मन्त्रालयतिरबाट पास मगाएर जाने गरेको छु ।
हिजो २०७० असोज ६ गते सूचना विभागमै कार्यक्रम भएपछि नगइ भएन, अनि प्रेस काउन्सिलका ४ जना साथीहरूले झनाकुल्टुङ पारेर बोकेरै माथिल्लो तलासम्म लैजानु भयो । यसरी बोकिइएर जाँदा अरू साथीहरूलाई त पीडा हुन्छ नै, मलाई झन पीडा हुने गर्छ ।
कार्यक्रम भएको हल नै व्हीलचेयरमैत्री नभएपछि ट्वाइलेट-बाथरूममा समस्या हुने नै भयो, युरिनका समस्या हुन्छ भनेर दिनभरी पानी नपिइ बसियो, बेलुका त टाउको दुखेर खपिनसक्नु भयो ।
जे भए पनि, मेरो १७ वर्षे व्यावसायिक पत्रकारिताको प्रेस काउन्सिलले मूल्यांकन गरिदिँदा खुसी लाग्नु स्वभाविक हो, यसप्रति म प्रेस काउन्सिलमा रहनु भएका अग्रजहरूप्रति आभारी छु । 

......

Wednesday, March 6, 2013

म पनि करोडपति, "क" मेटेर

पुसको दिन थियो, बाहिर सिमसिम पानी परिरहेको थियो ।  अफिस, भीमसेनस्थन पुग्नु पर्ने, न्यूरोड हनुमानढोकाभन्दा तल । एक त अत्यन्तै थोरै तलब, त्यसमाथि तीन महिना भएको थियो, नपाएको । तलब माग्न गयो, लेखापालले छैन भन्दै फर्काउँथ्यो ।  तलब पाइहाले पनि किस्ताबन्दीमा । यस्तो लाग्थ्यो, जिन्दगी नै मानौ किस्ताबन्दीमा चलिरहेको छ । बिहे गर्ने बेलामा सरसापट ऋण गरेर लिएको रकम तलब हात पर्नासाथ बुझाउनु पर्थ्यो, अनि त हात लाग्यो शून्यसरह नै हुन्थ्यो महिनाभर ।
बानेश्वरबाट न्यूरोडसम्म चल्ने ब्रिकम ट्याम्पुमा भाडा ५ रूपैयाँ थियो, त्यो तिर्ने पैसासमेत गोजीमा हुँदैन थियो । अनि बानेश्वरबाट हनुमानस्थान हुदै पुतलीसडक, बागबजार हुँदै एक घण्टामा अफिस पुग्थेँ । बाहिर पानी परिरहेको थियो (जनवरी वर्षा), छाता बोकी हाल्ने अवस्थाचाहिँ थिएन । सिमसिमे पानीमा रूझ्दै अफिस पुगेँ, चिसोले समाइ त गयो । बेलुका घर फर्कँदा हनहनी ज्वरो आयो । उनले पानी तताएर त दिइन, तर त्यसले काम गरेन । सिटामोल नखाइ नहुने अवस्था आयो, पर्स हेरेँ खाली थियो । विभिन्न व्यवसायीहरूको भिजिटिङ कार्डहरूमात्र खाँदेर मोटो भएको रहेछ, खुइय गरेर फालेँ ।
"तिमीसँग ५ रूपैयाँ छ?" बुढीलाई सोधेँ
"छैन, कहाँबाट हुनु," उने भनिन ।
"हेर न कतै छ कि?" बिहेमा दाइजोमा आएको सुटकेश खोलखाल गरेर टक्टक्याउँदा पनि ५ रूपैयाँ निस्केन ।
"होस, केही भा छैन । जाबो ज्वरो हो ठीक भइहाल्छ, बरू मलाई बेसार पानी तताइ देउ", मैले उनलाई आग्रह गरेँ
स्टोभमा झ्वाराररर करायो,
'हरे एउटा ग्याससमेत किन्न सकेको छुइन, भरखर बिहे गरेर ल्याएकी श्रीमती के भन्दिहुन्', मनमनै सोचेँ ।
"पानी तात्यो, जाउली बनाइदिउँ", उनले भनिन
"पर्दैन, खान मन छैन, तिमी खाना खाएर सुत।"
उनले खाना खाइन कि खाइनन याद भएन
ज्वरो बढ्दै थियो, सिरक गम्लङ् ओढेर सुतेँ । एकैछिनपछि डङडङ काम छुट्न थाल्यो । उनले अंगालो मारिन, अँधेरोमा गाला छामे चिसो थियो, शायद आँखा रसाएका थिए ।
"कसैले पनि पत्रकारसँग त बिहे नगरून् । म भोलि गएर मेरा छोरी भए भने मेरा शाखासन्तान कसैलाई पत्रकारसँग बिहे गर्न दिन्न", उनले दुःखेसो गरिन् ।
बूढीलाई हँसाउने शैलीमा भने "बुढी, दाम नभएर के भो, नाम त छ नि । आर्थिक पत्रकार हु, करोडपतिहरू सँग उठबस छ, करोडपतिहरूले चिन्छन्, म पनि त करोडपति नै हुँ नि, तर क चाहिँ मेट्नु पर्छ ।"
उनी हाँसिन कि हाँसिनन, अँधेरोमा देखिन। म भने ज्वरोले झन झन चापेर बोल्नै नसक्ने अवस्थामा पुगिसकेको थिएँ ।
(यो २०५९ सालको घटना हो)

Sunday, March 3, 2013

नेपाल राष्ट्र ब्यांकमा वंशावली बुझाउने निवेदनको ढाँचा

श्री श्री श्री गभर्नर महाराज
नेपाल राष्ट्र ब्यांक
बालुवाटार दरबार ।
विषयः वंशावली पेश गरेको बारे ।
उपरोक्त सम्बन्धमा फिरंगीहरूद्वारा तयार पारिएका कानुनहरू अक्षरस लागू गर्ने सिलसिलामा महाराजद्वारा ब्यांकममा पिता र परपिताका नाम र नागरिकता नम्बर अनिवार्य पेश गर्ने नियम चैत १ गतेदेखि लागू गरिबक्सन हुकुम फर्मान जारी भएकोमा कुन दिन यहाँका मन विचारमा के परिवर्तन हुने हो र वंशावली माग गरिबक्सेला भनि अग्रीम रूपमा मेरो वंशावली पेश गरेको छु ।
मेरा परपिताका पनि परपिताहरू कर्णाली सिंजा प्रदेशबाट देशका विभिन्न भागमा फैलिएका र सोही क्रममा कर्णाली प्रदेशमा रहेकाहरूले हालसम्म बूढा क्षेत्री लेख्ने गरेकामा अन्यत्र भने बुढाथोकी लेख्ने गरेको महाराजमा जाहेर गर्दछु ।
मेरा पर पिताहरू खोटाङ जिल्लाको अर्खौलेमा बसोबास गर्दै आएकामा रणध्वजका परिवार त्यहाँबाट बसाइ सरी खोटाङ, दोर्पामा थातथलो बनाएका वंशावलीमा देखिन आयो महाराज । रणध्वजका पाँच भाइ छोरामध्ये काइला भैरवबहादुरका चार भाइ छोरामध्ये कुल्दीपबहादुर बुढाथोकी मेरा परपिता भएको र उहाँका ६ भाइ छोरामध्ये काइला भक्तबहादुरको म एकमात्र छोरा भएको यो वंशावली नेपाल राष्ट्र ब्यांकको प्रयोजनका लागि महाराजको पाउमा बिन्ति बिसाएको छु । मेरा परपिताको २०२९ सालमै देहावसन भइसकेको र पिताजीसँग विगत ८ वर्षदेखि भेटघाट नभएका कारण उहाँको समेत नागरिकता नम्बर महाराजका पाउमा बिसाउन पाइन । यसमा महराजद्वारा क्षमादान बक्सनु हवस भनी महाराजमा यो बिन्तिपत्र प्रस्तुत गरेको छु ।
महराजको जो आज्ञा
महाराजको हुकुमले अन्योलमा परेको एक नेपाली
गजेन्द्रसिंह बुढाथोकी

Thursday, November 22, 2012

उपान्यासः गम्भीरे

मन उद्वेलित छ, अशान्त छ, उत्तरको चिसो हावा उप्किसकेको बाँसको टाटीभित्र छिर्छ ।
"मधेशमा खोरिया फाडन पाइन्छ रे, हिड जाउँ," मानेले भनेको थियो ।
दुबै मिल्ने दौँतरी, जात फरक भए पनि, हितका दौँतरी थिए । ठालूहरूका नजरमा दुवै पानी नचल्ने । भरखर जुंगा रेखी बसेका मने र गम्भीरे झरेका थिए, मधेश । अलिकति खोरिया पनि नफाँडेका हैनन, तर जमिन्दारको आँखा लाग्यो । नेपाली कागतमा ल्याप्चे ठोकाएका हुन ।
ए भाते, मेरो जग्गा छाड, एक दिन जिम्मुवालले घोडामा आएर कोर्रा घुमाउँदै उर्दी जारी गरे ।
मालिक यो त हाम्रो जग्गा, हाम्ले खोरिया फाँड्या, गम्भीरेले आँट कसेर भन्यो ।
तेरीमा फलान्थोक गर्ने, तेरो बाउको हो? हेर माथि कपुरबोटेदेखि माझनदीसम्म १२८ बिघा मेरो नाममा राजाले पञ्चापत्र गर्या छन्, एउटा कागजको खोस्टो देखाउँदै छालाको कोर्राले कमिज फाट्ने गरी जमिन्दार रामबहादुर काजीले बजाए ।
स्वाँठठठठठठठ कोर्राले बज्रेर छर्ररर रगत निस्क्यो ।
के जानुँ मालिक राजाका कुरा, तर त्यतातिर बोटेको, उता थारूको, त्यो दमै गाउँ पो पर्छ त मालिक, अलि उग्र हुँदै मानेले के भनेको थियो ।
डम्बरबहादुरको भरूवा पड्कियो ड्याम्म
मरे आम्मा, माजेठाउँ ठाउँ भयो, वरपर रगतको आहाल बग्यो ।
जजसले हाम्रा विरोध गर्छ, यही गति हुन्छ । अंग्रेजसँग लडेका थापाका सन्तान हौ याद गर..... जमिन्दारहरू उर्दी गर्दै हिँडे, पुलिस प्रशासन हाम्रा गोजीमा छन, नेपाल खाल्डोमा राजाले हाम्लाई अधिकार द्या छन् ।
दुईचार भाइ बोटे र थारूहरूको साथ लिएर त्यही रात वनमारा झाडीमा मनेका लास गाडियो ।
..................
हितको साथी सामन्तको हातबाट मारिएपछि गम्भीरे त्यस रातभर सुत्न सकेन ।
गम्भीरेको मन अशान्त छ, सुत्न सक्या छैन । सँगको साथी पनि मरी गो । कि त पहाड फर्कन्छु कि कोइलाखाततिर लाग्छु मनमनै सोच्यो, यहाँ बसिरह्यो भने ज्यानै नरहने भो ।

जसै भाले बास्यो, उ कहीँ कसैलाई खबर नगरी कोइलाखादतिर जान भनेर हिँड्यो ।

कहाँ पर्छ, कसरी जानु पर्छ केही थाह थिएन । पूर्व झापाबाट जान्छन रे, त्यतिमात्र सुनेको थियो । सात दिनको हिँडाइपछि सिलगढी आइपुग्यो । कालो डिब्बा भएको भ्वाँक भ्वाँक कराउने रेल कुद्दो रैछ । जसोतसो वनका फलका खाएकै भरमा पुगेको गम्भीरे भोकले लखतरान थियो । माटो खाउँकी ढुंगा खाउँ भइसकेको थियो ।

ओ नेपाली छोकरा काम कर्थो है? रेल्वे स्टेशनमा जुलेबी-पुरीको दोकान चलाउने एउटा बंगाली साहुले सोध्यो ।

नेपालीमात्र जान्ने गम्भीरे के भनेको भनेर अलमलमा पर्यो, नेपाली र काम भन्नेचाहिँ उसले बुझ्यो । नबुझे पनि उसले टाउको हल्लायो ।

परधान यिसको काम दिखायो ।
सिलगुढी स्टेशनमा भेटिएका उही रामप्रसाद प्रधानले गम्भीरेलाई दार्जिलिङ पुर्याएका थिए ।
................
दार्जेलिङको चौरास्तामा देख्या हो गम्भीरेले इन्दिरालाई । घुमतिर घर अरे भन्ने सुनेको थियो, त्यतिखेर ऊ बंगाली बाबुको मिठाइ पसलमा काम गर्थ्यो । मिरिकको चिया बगान जान्थे, हुलै बाँधेर पत्ती टिप्न ।
"डेढ रूप्पेको जुलेबी देउ त," मिठो लयमा इन्दिराले जुलेबी माँगेकी थिइ ।
गम्भीरे हेरेको हेरै भयो । हरेक बिहान ऊ डेढ रूप्पेको तीनटा जुलेबी किन्थी, गम्भीरे कहिले काँही साहुको आँखा छलेर चार वटा दिन्थ्यो ।
"संसारको जति पनि खराबी छ, मैमा छ । नराम्रो छु, .....गरिब छु,.....बोल्न ढंग पुर्याउँदिन,..... थातबासको टुंगो छैन, ......तर एउटा गुनचैं छ है ममा, तिमीलाई औधि मन परपाउँछु," गम्भीरेले एक दिन मिरिक चियाबगानमै पुगेर हात थामेर भन्यो ।

Monday, November 12, 2012

कथाः रसूवाघाटको हुरीले उडाएन मायाँ

-गजेन्द्र बुढाथोकी-
रसुवाघाटमा चिसो बढेको छ । सुनकोशीको सिरेटोले हान्छ । छाना मक्किएछ, जुनले आकासबाट चिहाएपछि ठूलीले खुइय्या सुस्केरा हालेर मनमनै भनि । मंगली र डल्ले जाडोले गुँडुल्की परेका थिए । टुकीको धिपधिपमा ठूलीको घर-कम-हुटेल खण्डहरजस्तै देखिएको थियो । ठूलीले आफ्नो पुरानो मजेत्रो तानी र दुवैलाई ओढाइ दिइ, बाहिर भरखर ब्याएकी काली कुकुर्नी कुइ-कुइ गरिरहेका आफ्ना छाउरा-छाउरीलाई दूध चुसाउँदै थिइ ।

दिउँसोतिर साइला आफ्नी स्वास्नी र छोरा बोकेर ओख्रनीतिर चढेको देखेदेखि ठूलीका मनमा चैन छैन । बाटो पारी सिरान घरेका दोकानमा साइँलाले स्वास्नी र छोरालाई चिया र बिस्कुट ख्वाएको उसले आफ्नो दैलो किनारबाट हेरिरही ।

 "मुर्कट्टा तँ मूला दमैसँग जाने देखिस, अहिले यही खुर्पाले दिएर कोशीमा झार्दिन्छु अनि.... "१५ वर्षअघि साइँलाले मेला जाँदा पिरतीको भाका व्यक्त गर्दा आफैले भनेका शब्द ठूलीका कानमा गुन्जिरहेका थिए, "म त ठकुरीकी छोरी, राजखान्दान हुँ, राजखान्दान ।"

 उनका बाउपुर्खा कहिले कहाँका राजा थिए, त्यो भने ठूलीलाई थाह छैन ।

 दोहोरो ज्यानकी ठूली वरपर साइला घुम्न भने छाडेन, तर ठूलीका रिसको झ्वाँकमा एकचोटी परिसकेको उसले नजिक पर्ने हिम्मत भने गरेन । हरेक मंगलबार उनीहरू गाईघाट झर्थे, कहिले सिन्कौली बोकेर त कहिले सुन्तला, निबुवा बोकेर । साइला भारी बोक्थ्यो, साहुहरूको  । सुरिलो मुरली बजाउँथ्यो उ ।

पहिलो पल्ट बाबरीमा देख्या हो, उसले ठूलीलाई । ठूल्ठूला आँखा, चन्चले स्वभाव, चुस्स परेको नाक । पोटिला गाला । हजार जनाको भीडमा पनि नहराउने जस्तो । पहिलो पल्टकै देखादेखमा साइला भुतुक्क भएथ्यो । कहिल्यै नाम सोध्ने हिम्मत आएन, गाईघाट जाने फर्कने क्रममा अरूले बोलाएको सुनेथ्यो, ठूली । एक दिन खाँबुबाट अलि तल झरेपछि ठूलीको खुट्टामा मैदाल बिझेछ, सबै साथीभाइ अगाडि गइसक्या थे । पछिपछि रहेको ठूलेले हतारहतार आफ्नो ढाकर बिसायो र खुट्टा समातेर मैदालको काँडा झिकिदियो । काँडा झिकेको ठाउँबाट रगत बग्न थाल्यो । बनमाराको मुन्टा निचरेर लगाइ दियो । पैतला भतभत पोल्न भने छाडेन । साइलाले फुफू गरेर फुकिदियो,

ठूली म तिम्लाई औधि मन पराउँछु, तिम्ले मान्यौ भने जिन्दगीभरि यसरी नै पैतला फुकेर बसौँला... सकिनसकी उसका मुखबाट फुत्कियो ।

"मुर्कट्टा तँ मूला दमैसँग जाने देखिस, अहिले यही खुर्पाले दिएर कोशीमा झार्दिन्छु अनि.... " ठूली सिंहझैं गर्जिइ,"म त ठकुरीकी छोरी, राजखान्दान हुँ, राजखान्दान ।"

यति हो, ठूली र साइलाको सम्बन्ध ।

गाईघाट झर्दा ठूलीका हुलबाट उसँधै टाढा पर्थ्यो, टाढैबाट हेरिरहन्थ्यो । फेरि आँट गरेर भनौँ कि भन्ने नलागेको होइन, तर जातको तगारोले उसलाई रोक्यो । धेरै वर्षअघि त्यहाँका ठकुरीहरूले छोरीचेलीलाई आँखा लगाएको भनेर रसुवाघाटै बेपार गरिबस्ने एउटा नेवारलाई कुटीकुटी मारेको कथा उसले सुनेको थियो ।

त्यहीबेलामा माओवादीको विद्रोह सुरू भयो । साँझसाँझ माओवादी कमरेडहरू गाउँगाउँ छिर्थे, प्रचन्डपथ लेखेका कितापहरू बाँड्थे, गाउँलेहरूलाई माओवादीमा लाग्न भन्थे । "जनताको मुक्ति हुन्छ, धनी गरिब सब बराबर हुन्छन, जातपात बराबर हुन्छ," मनकामना भन्ने कमरेडले रसुवाघाट पुल छेउमा उभिएर लामै भाषण गरिन । खोटाङ ६ नं इलाकाबाट भर्ति खुल्ने भो । साइला जनमुक्ति सेनामा लागेर वन छिर्यो रे गाउँमा हल्ला चल्यो ।

पछि गाईघाटतिरबाट सेनाहरू आए । सेनाको टुकडी वारी क्याम्प बनाएर बसेको थियो । ड्रेसमा हिडेका सेनाका जवानको रवाफै बेग्लै । तरूनी-बरूनी केटी देखे जिस्काउँथे, केटाहरू देखे, साला माओवादी तातो गोलीले भुन्दिउँ भनेर थर्काउँथे । वनजंगलमा घाँसदाउरा गर्न जान, एक्लै हिड्न त्राहिमाम थियो ।

एक दिन सेनाको जवान अग्लो, हृस्टपुस्ट, अष्टबहादुरले ठूलीलाई फकायो ।

"बुझ्यौ, राजाको सेनामा छु, १० हज्जार तलप खान्छु । जागिरै छाडे पनि सात हल जाने खेत छ, राम्रैसँग पाल्छु हउ," उसले एकान्तमा हात समातेर भनेको थियो ।

एकातिर त्रास अर्कातिर निकै तलप खाने ठकुरीकै छोरा भनेपछि ठूलीको मन सुरक्षा र सम्पतिको मोहमा राम्रैसँग पग्लियो । दुवैले घरजम गरे ।  अष्टबहादुर सेनामा जागिर खाने, ठूली रसुवाघाटमा बेपार गरिबस्न थाले

२०६२ सालमा ठूलै आन्दोलन भयो अरे सहरमा, अनि सदरमुकामतिर ।

"हेर ठूली क्याम्प फिर्ने भो, म तिमीलाई छिट्टै लिन आउँछु," ०६३ वैशाख १४ या १५ गतेतिर एक साँझ अष्टबहादुरले कुम्लोकुटुरो कस्दै भनेको सम्झना छ, ठूलीलाई । त्यतिखेरसम्म मंगली र डल्ले जन्मिसकेका थिए ।

तर अष्टबहादुर कहिल्यै लिन फर्केन । गाईघाटमा ठूलो क्याम्पमा गएर पनि लेफ्टेन, क्याप्टेनहरूलाई पटक पटक भनी । तर अष्टबहादुरको सरूवा पश्चिमतिर भएको भन्दै उसको कुनै उजुरबाजुर लागेन । पछि सुनी- अष्टबहादुरको त पश्चिमकतातिर पहिलेकै घरबार छ रे ।

दोकानमा राखेका सामानहरू अलिअलि गर्दै सकिन थाले, अब त रसुवाघाटमा जाँड र रक्सी बेच्नुबाहेक अरू केही सीप रहेन ।

०६९ सालको दशैंमा साइला, स्वेच्छिक अवकास रोजेको कमरेड भीष्मप्रतिज्ञा बनेर गाउँ फर्कँदै थियो । सरकारले दिएको पाँच लाख रूपैयाँले गाउँमै गएर केही व्यापार-व्यवसाय गरौँला भनेर जनमुक्ति सेनामै भेट भएकी मालती चौधरी र दुई वर्षको छोरा बोकेर उ उकालो चढ्दै थियो ।

"साइलाले देख्यो कि देखेन, देख्यो भने के सोच्यो होला है, मेरो बिजोक देखेर हाँस्यो होला, खुब घमण्ड गर्थी भेटी भन्यो होला...."कोल्टे फर्केर ठूलीले सिरानीमा तरक्क आँशु चुहाइ

Saturday, October 20, 2012

दशैं र गोधुली यादहरू

देहातको एउटा बजार, पहाड र तराईको संगम । आदिवासी थारू, दनुवारहरूको मूल बस्ती । क्षेत्री, बाहुन, राई, लिम्बू र मगरहरू पनि पर्याप्त संख्यामा थिए ।  मुसलमानहरूको पनि बस्ती थियो । गाईघाट । २०४२ सालअघि सडकले छोएको थिएन । उदयपुर सिमेन्ट उद्यो बन्ने भएपछि बल्ल ट्रयाक खुल्यो,  चुरेको ठाडो भीरपट्टिबाट । सडकको आकारचाहिँ २०४९ मा मात्र पायो ।
गाडी चढ्न सप्तरी जिल्लाको फत्तेपुर पुग्नु पर्थ्यो । गाईघाटबाट फत्तेपुर पुग्न ६-७ घण्टा लाग्थ्यो । दशैंले छोएको थियो, लुरे मामा घर जान उत्साहित थियो । आमालाई सन्चो थिएन, त्यही भएर लुरे बुवासँग मामाघर हिड्यो ।
कार्तिकमा पनि शीर (रौतहा) तिर पानी परेर त्रियुगा नदीमा बाढी आएको थियो । खैजनपुरनेरको जङ्घारबाट त्रियुगा नदी तर्नु पर्थ्यो । त्रियुगाको भसेट (बालुवाको दलदल)ले धेरै मान्छे खान्थ्यो,  वर्षाका बेलामा । हेर्दाहेर्दै लुरे भासियो, घाँटीमाथिबाट पानी बग्न थाल्यो । बुवा हरेक उपाय गरेर माथि उठाउने प्रयास गर्नुहुन्थ्यो, लुरे बाँच्न हातखुट्टा चलाउँथ्यो । त्रियुगाको बलौटो पानी उसका मुखबाट पसिरहेको थियो । बल्लतल्ल गरेर बुवाले बचाउनु भयो । जोगिदह-खैराहाबीचको नर्सरी (त्रियुगा नदीको कटानबाट बचाउन गरिएको वृक्षारोपण)का बीचमा एउटा चिया पसल थियो, बुवाले चिया एक गिलास चिया फुकिफुकी ख्वाएपछि लुरेको त्राण फर्क्यो ।
हडियाँ र सुन्दरपुरबीच बाक्लो जंगल थियो । मूलतः त्यो चुरे जंगल भए पनि स्थानीयहरू चास कोष जंगल अर्थात चार कोषसम्म फैलिएको जंगल भन्थे । बयलगाडामात्र कुद्ने त्यो जंगलका बीचको बाटोबाट साँझ घाम अस्ताउने बेलामा गोठालाहरूले गाईबस्तु फर्काउँदै गर्दा गाईबस्तुले उडाउने धुलोले धपक्कै ढाकेको क्षितिज अर्थात गोधुली वर्णनको सीमाभन्दा बाहिर हुन्थ्यो । काठ तस्करहरूको आँखा परिनसकेको त्यो बाक्लो जंगलबीच कालो हरिण, चित्तल, नीलगाई, बँदेल, मयुर, लुइचे, कालिज त कैयन पटक लुरेले आफ्नै आँखाले देख्यो । बाघ, भालु पनि पाइने, कहिलेकाँही बाघले मान्छे खाएको हल्ला सुनिन्थ्यो । त्यही भएकाले त्रियुगा किनारै किनार जतिसक्दो चाडो जंगल पार गरेर फत्तेपुर पुर्याउन बुवाले हतार लगाउनु हुन्यो । लुरे साना खुट्टाले सकी नसकी दौडिइरहेको थियो ।
हडियाको जंगलमा लुरेले पानीले लपक्क भिजेको पाँच रूपैयाँको नोट भेट्यो । डेढ रूपैयाँ कप चिया, दुई रूपैयाँमा ग्लुकोज बिस्कुट आउने त्योबेलामा लुरेका लागि पाँच रूपैयाँ (६ वर्षको उमेरका बच्चाका लागि) सबैभन्दा ठूलो नोट भइदिएको थियो ।  उसले आफूलाई राजाभन्दा मै धनी भन्ने सोच्यो, हडिँयादेखि सँगै हिडेका एक जना सहयात्रीले सोधे, के गर्छौ बाबु यो पैसाले । लुरेले पाँच रूपैयाँ कसरी खर्च गर्ने केही योजना बताउन सकेन ।
मामाघर पुगेपछि थाह भयो । मामाहरूलाई सुतक परेको रहेछ (परिवारमा कसैको जन्म भएको) । त्यो वर्ष मामाघर पुग्नुमात्र पर्यो, दशैंमा टीका लगाउन पाइएन । 
अर्को वर्ष लुरे, लुरेकी आमा, लुरेकी बहिनी बस चढेर उर्लाबारी गए । मामाघरको आकर्षण नै बेग्ले हुन्छ, बच्चाहरूलाई । कानेपोखरीको जंगलको बीचमा खिर बेचिन्थ्यो, असाध्यै मीठो । बसहरू रोकेर खिर खान्थे, यात्रुहरू । लुरेहरू मामाघर पुगे, उर्लाबारी स्कूलनजिकको मामाघर । वरिपरि हरियाली, धानको खेत, लहलह झुलेका धानका बालाहरू । कतै धान काटिँदै, कतै दाँइ गरिदै । त्यो दृष्य साँच्चै मोहक थियो ।
आमा टाँडमा मामासँग कुराकानी गर्न थाल्नु भयो ।भित्र माइजु खानेकुरा बनाउँदै हुनुहुन्थो, लुरेभन्दा दुइ वर्ष कान्छी बहिनी प्यास लागेर भान्छामा पसिन । 
हुँदैन हुँदैन भान्जी, तपाई क्षेत्रीहरू हाम्रो भान्सामा पस्नु हुँदैन भन्दै माइजुले झन्याकुल्टुङ पार्दै निकाल्नु भयो । बहिनी कहालिएर रून थाली । लुरेका बाबुले त्यस जमानामा बाहुनकी छोरीसँग क्षेत्रीले बिबाह गरेका गर्नु भएको थियो । बहिनीमाथि भएको दुर्व्यवहारले सात वर्षको लुरेको मन कुँडियो, आमा जाउँ, यिनीहरूका घरमा अबदेखि कहिल्यै नआउँ लुरेले भन्यो र त्यसपछि कहिल्यै लुरेले कहिल्यो मामाघर जाने रहर गरेन अनि गएन पनि ।
आजकल लुरे बूढा भएका मामा-माइजुलाई भेट्न चाहन्छ, मनभरिको गुनासा गर्न चाहन्छ, तर लुरे जान सक्दैन, केबल गोधुली सम्झनामा मामाघर सम्झन्छ ।