Saturday, August 12, 2017

पानीको प्रहार

-बुढाथोकी गजेन-

पानी, जीवन दिन्छ प्राणीलाई
तर, जीवन पनि छिन्छ उसैले
उर्लँदै राैद्र रुपमा
बगाउँदै उर्बर भूमि
पानी पुजिन्छ पनि
तर प्रलय ल्याउँदै
आकास घोप्ट्याउँछ समुद्र
गरिबका आगनमा!
हे राम हे रहिम
आशा तेरो यदि बाँकी छ कतै भने
किन आउँछस्, संकट बनी
हरेक वर्ष रूप फेरिफेरि?
भत्कियो ओतकाे छानाे पनि
विचल्ली परेका लालाबाला
अतालिएका बाख्रापाठा
डुब्दै गएको तिलस्मी मायाको घर
शक्तिको उन्माद देखाउँछ
साला, एक खहरे भंगालाे पनि
मानिलिउँ यही बेला प्रलय ल्याउँदैछ ।
जवानी हुँदैन सँधै नै उस्तै
बिलाउनु, अस्ताउनु पनि छ
आखिर त्याे पनि त कुनै दिन ।
गेग्र्यानमा फल्ने छैन अन्न
आँशुका भेल बग्दैछ
आगन पसेको नहरसँगै
बोकेर आउनेछन्
दुइचार मुठ्ठी चिउरा
फ्याँकिएको जडारी
अलिकता आशा बोकेर
राहतवीरहरू
अनि,
पानी, रक्सी र चाउचाउ बेचेर
अर्ब कमाउनेहरू
समाजसेवाका प्रचार गर्दै
विज्ञापनमा उद्धार र राहतका
कमाल देखाउन छन् ।
***
-कुटी/बालुवाखानी, कपन
(तस्बिर साभारः नागरिक दैनिक)


Wednesday, April 12, 2017

कविताः तस्बिर संवाद

-बुढाथोकी गजेन-

म उदास भएको पल
तिम्रो तस्बिर चिहाउँछु 
तस्बिर बोल्दैन मनका भावना
मेरा हरेक तर्कहरूमा
जनाउँदै माैन समर्थन
तिमी बोलिदिएजस्तो लाग्छ ।
अस्ताउँदो घाम
उदाउँदो जुन 
एक पलको गोधुली
सजाइएका म्यानेक्विनहरूले
बोल्दैनन उम्लिएका ज्वारभाटा
बक्ररेखामा कोरिएको भाग्य
अधुरा चाहना
धुँवा त तिमीले देख्याै होला
वन डढेलोको त्यतै कतै
मन ढडेको पो यहाँ कसले देख्छ र?
स्वार्थी छ संसार
तिमीले बुझ्न बाँकी नै छ
फूल देखाएर काँडामा धकेल्न
तत्पर हुन्छन् मान्छेहरू
उर्लिँदा मनका चाहना
असरल्ल नपोखिनु
वर्षायाममा खहरे त जो पनि बन्छ
नीलो शान्त समुद्र
गहिरो सागरमा हराउँछ सगर पनि
अलिकता आकास खुलेका दिन
बिहानै हेर्नु
सुनाैलो घामका झुल्कामा
अलिकता न्यानो महसुस गर्याै भने
म त्यहीँ-कतै हुनेछु
भावनाको सम्बन्धमा 
नदी किनारमा कतै
माटीकोरेको मुखमा छट्पटाउँदो माछा देखे
सम्झनु जिन्दगीको लडाइमा
लड्दै छु म त्यतै कतै ।
फेरि पनि स्नेह त बाँड्नु नै छ ।
आँखाभरि, मुटुभरि ।
-कपन, बालुवाखानी

Friday, November 28, 2014

दर्जीको नसिइको मन





नामः कालुमान दर्जी
उमेरः ५२ वर्ष

खटटटटटटटटटटट एकहोरो मेसिनका अवाज चलिरहेको छ ।
दुर्गाका कुर्ता सकिदिनु पर्ने बिहेमा जानु छ भन्दै थिइ ।......मोरीका जीउ कस्तो टमक्क कसिएको....छातीका उकास पनि मज्जैले भइसकेछ । मैले देख्दादेख्दै जन्मेकी, पातली, पिलन्धरी थिइ । खाली रूइरक्थी । दूध कटुवा हो त्यो । त्यो वर्षीकी नहुँदै बाहुनीले फेरि बोकिछे, क्यार्नु । उमा नभइदेकी भए त मर्थी होला, उमाले दूध ख्वारै हुर्की । के गर्नु अाफ्नो बिग्री गो........
कालुमान मनसंवाद गर्दै विगतमा फर्कियो ।
............
१६ वर्षे जवानी थियो । कालुमान असाध्यै राम्रो गीत गाउँथ्यो ।
"तैंले गीत गाइस भन्दिन्खुन त । रेड्योको नारान गोपालजस्तै लाग्छ", भन्थी उर्मे ।
चुस्स परेका नाक, गोरी । ठूल्ठूला अाँखा, ठूलो निधार, लामो कपाल । सँधै हाँसिरहने बानी । उर्मिलामा जोकोहीलाई पनि  अाकर्षण गर्ने शक्ति थियो ।
बढ्न बिर्सेको कालु । नामजस्तै अलिअलि कालोकालो । राख्न त बाबुले नाम राजेश राखेका हुन । बाउ राजेश खन्नाका फ्यान थिए रे, दिल्लीमा दरबानी गर्दा खुब फिलिम हेर्थे रे । धनका लोभ पलाएछ, अाफू पाले बसेकै घरबाट गरगहना चोरेछन, पुलिसले उतै पक्रेछ । जेल हालेछ । राजेश दर्जी, कालुकै नामबाट बोलाइन्थ्यो । अामाले पछि अर्को बे गरिन । कान्छा बाउ मानबहादुर पट्टीका २ जना भाइहरू छन, उनीहरू परियार लेख्छन, पढेका छन । काठमाण्डूमा बस्छ ठूलो भाइ प्रकाशकुमार । सिनिमा खेल्छ रे ।  कान्छो भाइ सदरमुकाममामा छ । कान्छबाउ नेता हुन, कम्निष्ट पार्टीका । ०५४ सालमा गाविस अध्यक्षमा उठेका थिए, हारे । उनी पार्टीको भातृ संगठन दलित अधिकार रक्षा मञ्चका केन्द्रिय महासचिव । भाइ दिलिप त्यसकै कार्यक्रमहरू चलाउँछ, जिल्लामा । मोटरसाइकिल चढ्छ ।
कालुमानलाई कहिल्यै कान्छबाउले माया देखाएनन । स्कूल कुन चराको नाम हो, उसले कहिले थाह पाएन । नागरिकता त बनाइ दिए, तर नागरिकतामा नाम लेखाइ दिए, कालुमान दर्जी ।
उर्मे, अर्थात उर्मिला । परियारै जातकी भए पनि, अलि हुनेखाने परिवारकी, टन्नै खेतबारी छ । लामो ठूलो अागन भएको, काठको घर छ । दहलमान कान्छाकी कान्छी छोरी । उर्मिलाकी दिदी हो उमा । कालुमानभन्दा २ वर्ष जेठी । पहिलो घरबार बिग्रेर माइतीघरै बस्थी, रूपरंगमा त कमी हैन, तर बालबच्चा भएन भनेर लोग्नेले कान्छी ल्याएछ । साकैतासँग बसीखान सकिन, अनि माइतै बस्न थाली ।
दहलमानले बडाहाकिम, चक्रमान थापाका खुब सेवा गरे । थोरैतिना अक्षर चिनेका । डिठ्ठा लीलबहादुरका संगतले कागजपत्र लेख्न जाने । ०१७ सालपछि बडाहाकिमका जागिर सकियो, बडाहाकिमहरू झापा फर्के । दहलमानलाई पञ्चायतले पत्यायो, सरकारी जागिर दियो । उनी दलित बस्तीका अर्का बडाहाकिमका रूपमा उदाए ।
दहलमानकी छोरी ताक्नु चानचुने कुरा थिएन । पुलिस लगाएर थुनाइदिन सक्थे । पोहर सालकै कुरा हो, महाभारेका केटाहरू देउसी खेल्न अाउँदा उर्मीलाई नाच्न हात समातेर तानेछन । दहलमानले पुलिस लगाएर ती ४ भाइलाई थुनाइ दिए ।
..............
"उर्मी (उ उर्मेबाट उर्मीमा उक्लियो) एउटा कुरा भन्छु, मान्छेस", मन उद्वैलित थियो । दहलमानको डर पनि थियो ।
"भन न, के कुरा ।"
एक छिन अनकनायो, हिम्मत जुटायो
"मसँग ब्या गर्छस ......"
उर्मिलाले केही जवाफ दिइन ।
भन्न न मसँग ब्या गर्छन ।
"म विचारेर भन्छु"
..............
त्यसपछि उर्मिला नजिक पर्न छाडी । कालुमानलाई देख्दा पनि नदेखेझैं व्यवहार गर्न थाली । साथीहरूसँग भन्थी रे, त्यो कालो, पोल्दापोल्दै उम्केजस्तोले मलाई ब्या गर्छु भन्यो ।
कालुमानका मन साह्रै कुँडियो । उसले दिल्ली जाने विचार गरेर घर छाडेर हिड्यो
...........
जोगबनीमा उसका पैसा लुटियो, बाटोमा विचल्ली पर्यो । विराटनगरको एउटा घरमा आग्रह गर्यो, त्यही काम माग्यो । ती काङ्ग्रेस नेता मधुवन शर्माको घर रहेछ । भाँडा माज्ने, वस्तु हेर्ने काम पायो । उ मधुवन दासँग कहिलेकाँही कोइराला निवास पनि जान्थ्यो । राजनीतिका कुरा अलिअलि बुझ्न थाल्यो । ०३६ सालका जनमत संग्रह भन्थे, मधुवन दाले कालुमानलाई कागतपत्र बोकाएर गाउँगाउँमा लगे ।
अर्थात, उ काङ्ग्रेस भयो ।
.............
२ वर्षपछि उ गाउँ फर्कियो, तर उर्मिला गाउँमा थिइन । पूर्व धरान बिहे भयो रे, प्रधानपञ्च जगतमानका छोरासँग । खिस्रिक परेर फर्किन लाग्या थ्यो ।
"ए, कालुमान । के गर्दैछस नि विराटनगरमा?" उमाले भनी
"काम त खासै केही गर्दिन। प्रजातन्त्रका अान्दोलनमा लडिराछु," नेताका भाका बक्न थालेको थियो, कालुमानले पनि । लवाइ खुवाइ पनि जानेको । कालोकालो भए पनि हिस्सी देखिन थालेको थियो ।
..........
एक दिन साल्घारीको पानीदहमा कालुमान नुहाउँदै थियो । पानीदह, जरूवापानीको मुहान, बाह्रैमास पानी अाउनी । गाउँका खानेपानी लिने, नुहाइधुवाइ गर्ने एउटै थलो ।
उमा पानी लिन अाइ, कालुमानले छेउ सरेर ठाउँ थियो ।
गाग्रा भरी, माथिदेखि तलसम्म कालुमानलाई हेरी ।
कालुमान मयलमाड्दै थियो ।
"जिउ त निकै बलियो रैछ"
उमा जिस्की ।
"बसी खाइ लागेको", कालुमानले भन्यो ।
"विराटनगरमा त राम्राराम्रा अाइमाइहरू हुँदाहुन है", उमा अर्कै मुडमा थिइ ।
"तिमेरू जतिको त हैन..."कालुमान पनि के कम ।
"फुर्काउँछस"
"साँच्चै, गाईखाने होला । तिमीहरूजस्ता राम्रा केटी पाए त जसले पनि लान्छ"
"मलाई लान्छस त?"
अचानक तेर्सिएको यो प्रश्नले कालुमान स्तब्ध भयो । एक छिन जवाफ दिएन, जिउ यताउता चलाउन थाल्यो ।
"तिमी त.....".मात्र भन्यो ।
"जारी लाग्दैन, त्यो नामर्दोलाई छाडिसकेँ, ४ साल भो । त्यसले अर्कै घरबार गरिसको । अाफ्नो बीउ कमजोर छ, अाइमाईलाई दोष दिन्छ, नामर्दो," उमाले घृणाले पिच्च थुकी।
"हैन, मैले त्यसो भन्न् खोज्या हैन, तर पनि तिमीसँग......".कालुमानले कुरा अधुरै छाड्यो ।
"कि तिम्रो पनि सामानले काम गर्दैन?" उमाले त्यही औंल्याउँदै उसको पुरूषत्वमाथि नै प्रहार गरी
"गर्छ कि गर्दैन, त्यो त सुतेपछि थाह हुन्छ," १८ वर्षको लक्का कालुमान पनि के कम ।
.........
भोलिपल्ट गाउँमा हल्ला भयो, कालेले उमालाई भगायो रे । कालुमान विराटनगर पनि गएन । उनीहरू सर्लाही पुगे । उमाले अलिकता गहना गुरिया ल्याएकी थिइ, त्यही बेचेर कल मिसिन किने । सिलाइका काम थाले ।
उमा गर्भावती त भइ, तर ७ महिना नपुग्दै बच्चा बिग्रियो । ०४० सालका कुरा थियो यो । उता छिमेकी कुलभद्र बाहुनका ४ बहिनी छोरी नै छोरी थिए, बर्स्याउनीका । पिण्ड दिन छोरा त चाहिन्छ भन्थे ।
"अहिलेका जमानामा पनि यस्ता कुरा गर्ने बाजे? छोरी पनि शक्ति हुन, उता हेर त इन्दिरा गान्धीले हिन्दुस्थानमा देश चलाइराकी," अलिअलि राजनीतिक चेत पसेको कालुमान भन्थ्यो ।
"त्यस्तो हुँदैन, कालु दर्जी । तिमी शास्त्रका कुरा बुझ्दैनौ," भन्थे कुलभद्र ।
त्यही बेलामा जन्मेकी हो, दुर्गा ।
भाइ पेटमा अाएकाले दूध राम्रोसँग खान पाएकी थिइन, यता उमा बच्चा खेर गएका कारण दूध गान्निएर मर्नु न बाँच्नु हुन्थी । उसैले दूध चुसाउँथी दुर्गालाई ।
.........
०४२ सालमा फेरि उमाको पेट बस्यो । तर यस पटक स्थिति झनै खराब भयो । अत्याधिक रक्तश्राब भयो, स्वस्थ्य चाकीमा लाँदा बाहिर लानु पर्छ भने । कालुमानसँग त्यति पैसा थिएन । त्यही रक्तश्राबले उमाको ज्यान गयो ।
.......
कालुमान विरक्तिएर माझ गाउँ फर्कियो । उ एकहोरो कुरा गर्थ्यो, पंचायती व्यवस्थाले स्वास्नी मारिदियो भन्थ्यो । प्रजातन्त्र अाउँछ भन्थ्यो । बिहानैदेखि रक्सी पिउँथ्यो । होहल्ला गर्दै हिड्थ्यो ।
"त्यो उर्मी मेरै हो, जेठी पनि मेरी, कान्छी पनि मेरी । मेरो पिरेम भत्कार बे गरिदियो दलेले । म फिर्कार ल्याउँछु," भन्दै हिड्थ्यो ।
सुरूसुरूमा त बाैलाह भनेर कसैले वास्ता गरेनन, अति भएपछि दहलमानले व्यवस्थाविरोधी भनेर प्रशासनमा उजुरी गरे र कालुमानलाई जेल हालिदिए ।
...........
२०४६ मा प्रजातन्त्र अाएपछि ०४७ सालमा कालुमान छुटे । तर उनलाई प्रजातन्त्र अाएन, किनकी उनका ससुरा दहलमान पहिला नै काङ्ग्रेस भइसकेछन् । ०४८ सालमा काङ्ग्रेसले दहलमानलाई सांसदको टिकट दियो, दहलमान कडा काङ्ग्रेस भएर निस्के । कालुमान पटकपटक कोइराला निवास पुगे । मधुवन दाका कहाँ पुगे । पार्टीमा सम्माजनक ठाउँ दिने कुरा भयो, तर कालुमानले त्यो सम्मानजनक ठाउँ कहिल्यै पाएनन ।
उनका कान्छाबाबु मानबहादुर मालेमा लागे । कालुमानलाई माले बन्न उनैले दिएनन, यो काङ्ग्रेसी गुप्तचर हो भनिदिएछन पार्टीमा ।
०५१ सालसम्म उ गाउँमै देखिन्थ्यो, उही पारा रक्सी खान्थ्यो । हल्ला गर्थ्यो । कल चलाउँथ्यो । अचानक ०५२ सालमा उ हरायो । माओवादी भयो अरे भन्थे । कहाँ गयो कुनै पत्तै भएन ।
०६३ सालमा देखियो, प्लाटुन कमान्डर बलवीर । शिविरमा । देशमा मुक्तिका लडाइमा लागेछ, जनतामा समानताको लडाइ लडेछ । युद्ध सकियो, ल अब शान्ति प्रकृया सकियो । हतियार बिसाउँ नेताहरूले भने । उसले पनि हतियार बिसायो । शिविरमा गएर बस्यो, नयाँ पुराना सेनाहरूलाई पिटी गराउँथ्यो । शारीरिक तन्दुरूस्तिका तालिम दिन्थ्यो ।
नेपाली सेनामा समायोजन हुने कुरा अायो, उ उमेरले, उचाइले अयोग्यमा दरियो । साढे २ लाख दिएर बिदा गरियो । तर गाउँ फर्केन, सर्लाही फर्कियो, अनि कुलभद्र बाजेसँगै जग्गा किनेर फेरि त्यही पुरानो थलोमा सिलाइ थाल्यो
............
विगत सम्झेर कालुमानको मन चटक्क कुडियो, जुरूक्क उठ्यो । बजारतिर निस्क्यो ।
"ए, साइली । एक बोतल देउ त....."
"बिहानै कालुमान काका? तपाई नेताजस्तो मान्छेले"
"अँ के गर्नु नेता भएर । गरिबका सपना पूरा हुँदैन रैछ साइली.... लुगा सिउने कलले मन सिउँदैन रैछ के गर्नु?"
खाली पेटमै उसले बोतलबाटै ठाडो घाँटी लायो ।

Tuesday, May 20, 2014

म एक्लो बृहस्पति, झुठा हैन सत्य

कुनै हिन्दी फिल्ममा अमरिस पुरीका डाइलग थियो- डन (डोङ) कभी रङ नही होता । नेपालमा विश्व बैंकको करिब ८ अर्ब ऋण र डीएफआइडीको थप वित्तीय सहयोगमा सन् २००० देखि वित्तीय क्षेत्र सुधार कार्यक्रम (Financial Sector Reform Program -FS REFORM) सञ्चालन भएको थियो । नेपालका दुई ठूला वाणिज्य बैंकहरू राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको खराब कर्जा (एनपीएल) ६० प्रतिशतभन्दा बढी भएको, तिनको पुँजीकोष क्षय भइसकेको र समग्र वित्तीय प्रणाालीमाथि नै जोखिम सिर्जना भइसकेको भन्दै उक्त ऋणमा सुधार कार्यक्रम सुरू गरिएको थियो । जसको दोस्रो चरणमा राष्ट्र बैंकको रिइन्जिनियरिङ (अर्थात पुनरसंचरना) सामेल थियो । सुधार कार्यक्रम द इकोनोमिस्टमा सूचना प्रकासित गरेर आरम्भ भएको थियो । सुधार कार्यक्रम हाँक्नका लागि नेपाल राष्ट्र बैंकमा छुट्टै महाशाखा नै थियो, जसको नेतृत्व बैंक तथा वित्तीय संस्था निगमन विभागका कार्यकारी निर्देशकले गर्थे । सुधार कार्यक्रमअन्तर्गत सुरूमा नेपाल बैंक र रावा बैंकको व्यवस्थापन विदेशीलाई जिम्मा दिइयो । सुधारका लागि केही मानक (म्याट्रिक्स)हरू तोकिएका थिए । जसमा ती दुई बैंकका खराब कर्जालाई एकल अंकमा झार्ने पनि प्रमुख सूचक थियो । सन् २००५ सम्म त सुधार कार्यक्रम सही गति (पेस)मा चलिरहेको थियो, तर त्यसपछि भने सही प्रतिफल दिने गरी सुधार अघि बढ्न सकेन भन्ने कुरा विश्व बैंक आफैले महसुस गर्न थाल्यो र अान्तरिक पत्राचारबाट यस कुराप्रति नेपाल राष्ट्र बैंकसमक्ष असन्तुष्टि जनाउने, दबाब दिनेलगायतका कार्य गर्न थाल्यो । खराब ऋणीलाई कारबाहीका लागि नेपाल सरकारलाई नै पत्राचार गरेर दबाब दियो, जुन कुरा सर्वभौम सम्पन्न राष्ट्रमाथि खुल्ला हस्तक्षेप भयो भनेर संसदको सार्वजनिक लेखा समितिमा समेत कुरा उठ्यो ।
वित्तीय क्षेत्र सुधार कार्यक्रम सही बाटोबाट नहिडेको, तोकिएका म्याट्रिक्सहरू पूरा नभएको, विफलताको बाटोमा अगाडि बढेको भन्ने लगायतका यावत मुद्दाहरूमा मैले २००६ देखि नै नेपाल समाचारपत्रमा र त्यसपछि राजधानीमा लगातार समाचारहरू सम्प्रेषण गरिरहेँ । त्यसपछि २००९ देखि २०११ सम्म अन्नपूर्ण पोस्ट, गोरखापत्र, दैनिकी.कम र कारोबार दैनिकमा यस विषयमा लेख र विश्लेषणहरू पनि लेखेँ । FS REFORM फेल भएका विषयमा कलम चलाउने एक्लो पत्रकारका रूपमा दरिएँ । (उक्त विषयमा कलम चलाए बापत केही व्यक्तिले समाचारपत्रबाट मेरो जागिर खाइदिने चेस्टासमेत गर्नु भएको थियो, तर प्रधानसम्पादक पुस्करलाल श्रेष्ठ मेरो पक्षमा हुनुहुन्थ्यो) ।
सन् २०११ मा अवधि सकिएपछि भने केही आर्थिक पत्रकार मित्रहरूले स्वयं FS REFORM विफल भएको स्वीकार्नु भयो (जो विगतमा FS REFORMका पक्षमा धुरन्धर हुनुहुन्थो), विश्व बैंक स्वयंले FS REFORM लाई विफल परियोजनाका कोटीमा राख्यो । अहिले त्यतिखेरका विफलताका, भ्रष्टाचारका समाचारहरू फेरि देखिन थालेका छन् । आजै नागरिकले FS REFORM मा भएको भ्रष्टाचारका मुद्दा उठाएको छ ।
त्यही भएर मलाई भन्न मन लाग्यो- डोङ कभी रङ नही होता । ( म सत्य थिएँ, सही विषयमा एक्लैले भए पनि कलम चलाएको थिएँ, कसैले नराम्रो भने पनि आखिर सत्य एक दिन प्रमाणित भएरै छाड्छ)

Tuesday, April 8, 2014

पत्रकारहरूको पलयानका कुरा

आजकल पत्रकारहरू पेशाबाट पलायन भएर साउदी, कतारतिर गएका समाचार लगालग आउन थालेका छन् । मलाई सम्झना छ, मेरो पत्रकारिताका प्रारम्भिक दिनहरूमा अत्यन्त्य कठिन अवस्था थियो । उदयपुरबाट स्ट्रिन्जरका रूपमा विभिन्न सञ्चारमाध्यममा समाचार पठाउँथे, साप्ताहिक पत्रिकाका सम्पादक-प्रकासकहरूलाई समाचार चाहिने तर भुक्तानी दिन नसक्ने यहाँसम्म कि कुरियर गरेको पैसासमेत नदिने । लोकपत्र दैनिकले प्रति शब्द २५ पैसा भुक्तानी दिन्थ्यो, ६ महिनामा पैसा लिन आयो जम्मा २५००-३ हजार हुने । जिल्लामा कौशल दाइहरूसँग साप्ताहिक पत्रिका निकाल्थ्यौं पकेट खर्च चल्थ्यो । दुई जना प्रकासक इमान्दार भेटेँ- बन्धु थापा (देशान्तर) र माल्दाइ, कृष्णप्रसाद गौतम (जनसत्ता,चण्डेश्वरी प्रकाशन), कहिल्यै खाली हात पठाएनन, गाडी भाडासमेत दिन्थे । पछि ०५३ सालदेखि समाचारपत्रमा काम गरेपछि अलि राम्रो पारिश्रमिक र प्रतिष्ठा पाइएको हो, ०५४ सालको अन्तिमतिर त यो खाल्डोतिरछिरिहालेँ, १२ वर्षसम्म नेपाल समाचारपत्रमै काम गरेँ ।
त्यसकालमा लगातार ठूला ब्रोडसिट पत्रिकाहरू बन्द भए- श्रीसगरमाथा, एभरेस्ट हेराल्ड, लोकपत्र, श्रीदेउराली, स्पेशटाइम र स्पेशटाइम टुडे । झन्डै तीन सय पत्रकारहरू सडकमा आए, त्यसमध्ये केही पत्रकारहरू गाउँ फर्केर कुखुरा पालन सुरू गरे, केही विदेश पलायन भए । केहीचाहिँ मिडियामै दुखम-सुखम टिकिरहनु भयो ।
पछि नेपाली मिडियामा एफएम लहर आयो, एफएमपछि टिभीका लहड चल्यो । थुप्रै कथाव्यथा छन, जो यहाँ लेखिसाध्य छैन । अहिले प्रिन्ट र इलेक्ट्रोनिक गरी १५ हजार सञ्चारकर्मी कार्यरत रहेको अनुमान छ । मिडिया बजार सानो छ, सञ्चारकर्मीको संख्या धेरै छ । केही अघि एउटा मिडिया संवादमा मैले भनेको थिएँ- यस्तै अवस्था रहिरहे, अबको केही वर्षभित्र ५ हजार सञ्चारकर्मी सडकमा आउने छन् ।
कामना गर्छु, मेरो यो भविष्यवाणी पूरा नहोस ।

Monday, September 23, 2013

पुरस्कारसँग जोडिएका दुई पीडा

प्रेस काउन्सिल नेपालले मलाई यस वर्षको प्रेस काउन्सिल सशक्त कलम पुरस्कार दिने पत्र केही दिन अघि नै प्राप्त भएको थियो । सूचना विभागको सभाकक्षमा हुने काउन्सिलको ४४ औँ वार्षिकोत्सव समारोहमा जान एक्लै अलि असहज हुने भएकाले श्रीमतीलाई पनि विदा लिन लगाएँ । सूचना विभाग पुगेपछि ट्याक्सीबाट ओर्लनासाथ अब कसरी माथि जाने भन्ने समस्या भयो, किनकी सुरूमै चार सिँढी छन । प्रेस काउन्सिलका झविन्द्रजीलाई ल अब बोकेरै लानु पर्यो भने । पहिला त तल्लो तलामै कार्यक्रम हुन्थे, त्यहीँ होला भन्ठान्या थेँ, पहिलो तल्लामा रहेछ । यस्तैमा सूचना विभागमा महानिर्देशक निस्किए, उनी आफैले भने के गर्ने व्हीलचेयर एक्सेसिबल छैन । समस्या पो भो त
मैले भनेः अब झ्याम्पल लिएर फोड्नु पर्ने भयो ।
१७ वर्षे पत्रकारिताका दौरानमा सुरूका केही वर्ष सूचना विभागका प्रेस पास सानो इगोका कारण लिएको थिइन्, सिंहदरबार छिर्ने प्रयोजनका लागि मात्र काम आउने त्यो प्रेसपासका अरू के प्रयोजन छ र भन्ने मेरो मान्यता रहिआयो । तर लगातार रिपोर्टिङमा लगातार सिंहदरबार नै जानु पर्ने भएपछि २०५८ सालमा नलिइ धर पाइन । सूचना विभाग अपांगमैत्री नभएका कारण २०६६ सालदेखि मैले सूचना विभागबाट जारी हुने प्रेस पास नवीकरण गराउन पाएको छैन । सिंहदरबार जाने काम पर्दा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय वा समाजकल्याण मन्त्रालयतिरबाट पास मगाएर जाने गरेको छु ।
हिजो २०७० असोज ६ गते सूचना विभागमै कार्यक्रम भएपछि नगइ भएन, अनि प्रेस काउन्सिलका ४ जना साथीहरूले झनाकुल्टुङ पारेर बोकेरै माथिल्लो तलासम्म लैजानु भयो । यसरी बोकिइएर जाँदा अरू साथीहरूलाई त पीडा हुन्छ नै, मलाई झन पीडा हुने गर्छ ।
कार्यक्रम भएको हल नै व्हीलचेयरमैत्री नभएपछि ट्वाइलेट-बाथरूममा समस्या हुने नै भयो, युरिनका समस्या हुन्छ भनेर दिनभरी पानी नपिइ बसियो, बेलुका त टाउको दुखेर खपिनसक्नु भयो ।
जे भए पनि, मेरो १७ वर्षे व्यावसायिक पत्रकारिताको प्रेस काउन्सिलले मूल्यांकन गरिदिँदा खुसी लाग्नु स्वभाविक हो, यसप्रति म प्रेस काउन्सिलमा रहनु भएका अग्रजहरूप्रति आभारी छु । 

......

Wednesday, March 6, 2013

म पनि करोडपति, "क" मेटेर

पुसको दिन थियो, बाहिर सिमसिम पानी परिरहेको थियो ।  अफिस, भीमसेनस्थन पुग्नु पर्ने, न्यूरोड हनुमानढोकाभन्दा तल । एक त अत्यन्तै थोरै तलब, त्यसमाथि तीन महिना भएको थियो, नपाएको । तलब माग्न गयो, लेखापालले छैन भन्दै फर्काउँथ्यो ।  तलब पाइहाले पनि किस्ताबन्दीमा । यस्तो लाग्थ्यो, जिन्दगी नै मानौ किस्ताबन्दीमा चलिरहेको छ । बिहे गर्ने बेलामा सरसापट ऋण गरेर लिएको रकम तलब हात पर्नासाथ बुझाउनु पर्थ्यो, अनि त हात लाग्यो शून्यसरह नै हुन्थ्यो महिनाभर ।
बानेश्वरबाट न्यूरोडसम्म चल्ने ब्रिकम ट्याम्पुमा भाडा ५ रूपैयाँ थियो, त्यो तिर्ने पैसासमेत गोजीमा हुँदैन थियो । अनि बानेश्वरबाट हनुमानस्थान हुदै पुतलीसडक, बागबजार हुँदै एक घण्टामा अफिस पुग्थेँ । बाहिर पानी परिरहेको थियो (जनवरी वर्षा), छाता बोकी हाल्ने अवस्थाचाहिँ थिएन । सिमसिमे पानीमा रूझ्दै अफिस पुगेँ, चिसोले समाइ त गयो । बेलुका घर फर्कँदा हनहनी ज्वरो आयो । उनले पानी तताएर त दिइन, तर त्यसले काम गरेन । सिटामोल नखाइ नहुने अवस्था आयो, पर्स हेरेँ खाली थियो । विभिन्न व्यवसायीहरूको भिजिटिङ कार्डहरूमात्र खाँदेर मोटो भएको रहेछ, खुइय गरेर फालेँ ।
"तिमीसँग ५ रूपैयाँ छ?" बुढीलाई सोधेँ
"छैन, कहाँबाट हुनु," उने भनिन ।
"हेर न कतै छ कि?" बिहेमा दाइजोमा आएको सुटकेश खोलखाल गरेर टक्टक्याउँदा पनि ५ रूपैयाँ निस्केन ।
"होस, केही भा छैन । जाबो ज्वरो हो ठीक भइहाल्छ, बरू मलाई बेसार पानी तताइ देउ", मैले उनलाई आग्रह गरेँ
स्टोभमा झ्वाराररर करायो,
'हरे एउटा ग्याससमेत किन्न सकेको छुइन, भरखर बिहे गरेर ल्याएकी श्रीमती के भन्दिहुन्', मनमनै सोचेँ ।
"पानी तात्यो, जाउली बनाइदिउँ", उनले भनिन
"पर्दैन, खान मन छैन, तिमी खाना खाएर सुत।"
उनले खाना खाइन कि खाइनन याद भएन
ज्वरो बढ्दै थियो, सिरक गम्लङ् ओढेर सुतेँ । एकैछिनपछि डङडङ काम छुट्न थाल्यो । उनले अंगालो मारिन, अँधेरोमा गाला छामे चिसो थियो, शायद आँखा रसाएका थिए ।
"कसैले पनि पत्रकारसँग त बिहे नगरून् । म भोलि गएर मेरा छोरी भए भने मेरा शाखासन्तान कसैलाई पत्रकारसँग बिहे गर्न दिन्न", उनले दुःखेसो गरिन् ।
बूढीलाई हँसाउने शैलीमा भने "बुढी, दाम नभएर के भो, नाम त छ नि । आर्थिक पत्रकार हु, करोडपतिहरू सँग उठबस छ, करोडपतिहरूले चिन्छन्, म पनि त करोडपति नै हुँ नि, तर क चाहिँ मेट्नु पर्छ ।"
उनी हाँसिन कि हाँसिनन, अँधेरोमा देखिन। म भने ज्वरोले झन झन चापेर बोल्नै नसक्ने अवस्थामा पुगिसकेको थिएँ ।
(यो २०५९ सालको घटना हो)

Sunday, March 3, 2013

नेपाल राष्ट्र ब्यांकमा वंशावली बुझाउने निवेदनको ढाँचा

श्री श्री श्री गभर्नर महाराज
नेपाल राष्ट्र ब्यांक
बालुवाटार दरबार ।
विषयः वंशावली पेश गरेको बारे ।
उपरोक्त सम्बन्धमा फिरंगीहरूद्वारा तयार पारिएका कानुनहरू अक्षरस लागू गर्ने सिलसिलामा महाराजद्वारा ब्यांकममा पिता र परपिताका नाम र नागरिकता नम्बर अनिवार्य पेश गर्ने नियम चैत १ गतेदेखि लागू गरिबक्सन हुकुम फर्मान जारी भएकोमा कुन दिन यहाँका मन विचारमा के परिवर्तन हुने हो र वंशावली माग गरिबक्सेला भनि अग्रीम रूपमा मेरो वंशावली पेश गरेको छु ।
मेरा परपिताका पनि परपिताहरू कर्णाली सिंजा प्रदेशबाट देशका विभिन्न भागमा फैलिएका र सोही क्रममा कर्णाली प्रदेशमा रहेकाहरूले हालसम्म बूढा क्षेत्री लेख्ने गरेकामा अन्यत्र भने बुढाथोकी लेख्ने गरेको महाराजमा जाहेर गर्दछु ।
मेरा पर पिताहरू खोटाङ जिल्लाको अर्खौलेमा बसोबास गर्दै आएकामा रणध्वजका परिवार त्यहाँबाट बसाइ सरी खोटाङ, दोर्पामा थातथलो बनाएका वंशावलीमा देखिन आयो महाराज । रणध्वजका पाँच भाइ छोरामध्ये काइला भैरवबहादुरका चार भाइ छोरामध्ये कुल्दीपबहादुर बुढाथोकी मेरा परपिता भएको र उहाँका ६ भाइ छोरामध्ये काइला भक्तबहादुरको म एकमात्र छोरा भएको यो वंशावली नेपाल राष्ट्र ब्यांकको प्रयोजनका लागि महाराजको पाउमा बिन्ति बिसाएको छु । मेरा परपिताको २०२९ सालमै देहावसन भइसकेको र पिताजीसँग विगत ८ वर्षदेखि भेटघाट नभएका कारण उहाँको समेत नागरिकता नम्बर महाराजका पाउमा बिसाउन पाइन । यसमा महराजद्वारा क्षमादान बक्सनु हवस भनी महाराजमा यो बिन्तिपत्र प्रस्तुत गरेको छु ।
महराजको जो आज्ञा
महाराजको हुकुमले अन्योलमा परेको एक नेपाली
गजेन्द्रसिंह बुढाथोकी

Thursday, November 22, 2012

उपान्यासः गम्भीरे

मन उद्वेलित छ, अशान्त छ, उत्तरको चिसो हावा उप्किसकेको बाँसको टाटीभित्र छिर्छ ।
"मधेशमा खोरिया फाडन पाइन्छ रे, हिड जाउँ," मानेले भनेको थियो ।
दुबै मिल्ने दौँतरी, जात फरक भए पनि, हितका दौँतरी थिए । ठालूहरूका नजरमा दुवै पानी नचल्ने । भरखर जुंगा रेखी बसेका मने र गम्भीरे झरेका थिए, मधेश । अलिकति खोरिया पनि नफाँडेका हैनन, तर जमिन्दारको आँखा लाग्यो । नेपाली कागतमा ल्याप्चे ठोकाएका हुन ।
ए भाते, मेरो जग्गा छाड, एक दिन जिम्मुवालले घोडामा आएर कोर्रा घुमाउँदै उर्दी जारी गरे ।
मालिक यो त हाम्रो जग्गा, हाम्ले खोरिया फाँड्या, गम्भीरेले आँट कसेर भन्यो ।
तेरीमा फलान्थोक गर्ने, तेरो बाउको हो? हेर माथि कपुरबोटेदेखि माझनदीसम्म १२८ बिघा मेरो नाममा राजाले पञ्चापत्र गर्या छन्, एउटा कागजको खोस्टो देखाउँदै छालाको कोर्राले कमिज फाट्ने गरी जमिन्दार रामबहादुर काजीले बजाए ।
स्वाँठठठठठठठ कोर्राले बज्रेर छर्ररर रगत निस्क्यो ।
के जानुँ मालिक राजाका कुरा, तर त्यतातिर बोटेको, उता थारूको, त्यो दमै गाउँ पो पर्छ त मालिक, अलि उग्र हुँदै मानेले के भनेको थियो ।
डम्बरबहादुरको भरूवा पड्कियो ड्याम्म
मरे आम्मा, माजेठाउँ ठाउँ भयो, वरपर रगतको आहाल बग्यो ।
जजसले हाम्रा विरोध गर्छ, यही गति हुन्छ । अंग्रेजसँग लडेका थापाका सन्तान हौ याद गर..... जमिन्दारहरू उर्दी गर्दै हिँडे, पुलिस प्रशासन हाम्रा गोजीमा छन, नेपाल खाल्डोमा राजाले हाम्लाई अधिकार द्या छन् ।
दुईचार भाइ बोटे र थारूहरूको साथ लिएर त्यही रात वनमारा झाडीमा मनेका लास गाडियो ।
..................
हितको साथी सामन्तको हातबाट मारिएपछि गम्भीरे त्यस रातभर सुत्न सकेन ।
गम्भीरेको मन अशान्त छ, सुत्न सक्या छैन । सँगको साथी पनि मरी गो । कि त पहाड फर्कन्छु कि कोइलाखाततिर लाग्छु मनमनै सोच्यो, यहाँ बसिरह्यो भने ज्यानै नरहने भो ।

जसै भाले बास्यो, उ कहीँ कसैलाई खबर नगरी कोइलाखादतिर जान भनेर हिँड्यो ।

कहाँ पर्छ, कसरी जानु पर्छ केही थाह थिएन । पूर्व झापाबाट जान्छन रे, त्यतिमात्र सुनेको थियो । सात दिनको हिँडाइपछि सिलगढी आइपुग्यो । कालो डिब्बा भएको भ्वाँक भ्वाँक कराउने रेल कुद्दो रैछ । जसोतसो वनका फलका खाएकै भरमा पुगेको गम्भीरे भोकले लखतरान थियो । माटो खाउँकी ढुंगा खाउँ भइसकेको थियो ।

ओ नेपाली छोकरा काम कर्थो है? रेल्वे स्टेशनमा जुलेबी-पुरीको दोकान चलाउने एउटा बंगाली साहुले सोध्यो ।

नेपालीमात्र जान्ने गम्भीरे के भनेको भनेर अलमलमा पर्यो, नेपाली र काम भन्नेचाहिँ उसले बुझ्यो । नबुझे पनि उसले टाउको हल्लायो ।

परधान यिसको काम दिखायो ।
सिलगुढी स्टेशनमा भेटिएका उही रामप्रसाद प्रधानले गम्भीरेलाई दार्जिलिङ पुर्याएका थिए ।
................
दार्जेलिङको चौरास्तामा देख्या हो गम्भीरेले इन्दिरालाई । घुमतिर घर अरे भन्ने सुनेको थियो, त्यतिखेर ऊ बंगाली बाबुको मिठाइ पसलमा काम गर्थ्यो । मिरिकको चिया बगान जान्थे, हुलै बाँधेर पत्ती टिप्न ।
"डेढ रूप्पेको जुलेबी देउ त," मिठो लयमा इन्दिराले जुलेबी माँगेकी थिइ ।
गम्भीरे हेरेको हेरै भयो । हरेक बिहान ऊ डेढ रूप्पेको तीनटा जुलेबी किन्थी, गम्भीरे कहिले काँही साहुको आँखा छलेर चार वटा दिन्थ्यो ।
"संसारको जति पनि खराबी छ, मैमा छ । नराम्रो छु, .....गरिब छु,.....बोल्न ढंग पुर्याउँदिन,..... थातबासको टुंगो छैन, ......तर एउटा गुनचैं छ है ममा, तिमीलाई औधि मन परपाउँछु," गम्भीरेले एक दिन मिरिक चियाबगानमै पुगेर हात थामेर भन्यो ।

Monday, November 12, 2012

कथाः रसूवाघाटको हुरीले उडाएन मायाँ

-गजेन्द्र बुढाथोकी-
रसुवाघाटमा चिसो बढेको छ । सुनकोशीको सिरेटोले हान्छ । छाना मक्किएछ, जुनले आकासबाट चिहाएपछि ठूलीले खुइय्या सुस्केरा हालेर मनमनै भनि । मंगली र डल्ले जाडोले गुँडुल्की परेका थिए । टुकीको धिपधिपमा ठूलीको घर-कम-हुटेल खण्डहरजस्तै देखिएको थियो । ठूलीले आफ्नो पुरानो मजेत्रो तानी र दुवैलाई ओढाइ दिइ, बाहिर भरखर ब्याएकी काली कुकुर्नी कुइ-कुइ गरिरहेका आफ्ना छाउरा-छाउरीलाई दूध चुसाउँदै थिइ ।

दिउँसोतिर साइला आफ्नी स्वास्नी र छोरा बोकेर ओख्रनीतिर चढेको देखेदेखि ठूलीका मनमा चैन छैन । बाटो पारी सिरान घरेका दोकानमा साइँलाले स्वास्नी र छोरालाई चिया र बिस्कुट ख्वाएको उसले आफ्नो दैलो किनारबाट हेरिरही ।

 "मुर्कट्टा तँ मूला दमैसँग जाने देखिस, अहिले यही खुर्पाले दिएर कोशीमा झार्दिन्छु अनि.... "१५ वर्षअघि साइँलाले मेला जाँदा पिरतीको भाका व्यक्त गर्दा आफैले भनेका शब्द ठूलीका कानमा गुन्जिरहेका थिए, "म त ठकुरीकी छोरी, राजखान्दान हुँ, राजखान्दान ।"

 उनका बाउपुर्खा कहिले कहाँका राजा थिए, त्यो भने ठूलीलाई थाह छैन ।

 दोहोरो ज्यानकी ठूली वरपर साइला घुम्न भने छाडेन, तर ठूलीका रिसको झ्वाँकमा एकचोटी परिसकेको उसले नजिक पर्ने हिम्मत भने गरेन । हरेक मंगलबार उनीहरू गाईघाट झर्थे, कहिले सिन्कौली बोकेर त कहिले सुन्तला, निबुवा बोकेर । साइला भारी बोक्थ्यो, साहुहरूको  । सुरिलो मुरली बजाउँथ्यो उ ।

पहिलो पल्ट बाबरीमा देख्या हो, उसले ठूलीलाई । ठूल्ठूला आँखा, चन्चले स्वभाव, चुस्स परेको नाक । पोटिला गाला । हजार जनाको भीडमा पनि नहराउने जस्तो । पहिलो पल्टकै देखादेखमा साइला भुतुक्क भएथ्यो । कहिल्यै नाम सोध्ने हिम्मत आएन, गाईघाट जाने फर्कने क्रममा अरूले बोलाएको सुनेथ्यो, ठूली । एक दिन खाँबुबाट अलि तल झरेपछि ठूलीको खुट्टामा मैदाल बिझेछ, सबै साथीभाइ अगाडि गइसक्या थे । पछिपछि रहेको ठूलेले हतारहतार आफ्नो ढाकर बिसायो र खुट्टा समातेर मैदालको काँडा झिकिदियो । काँडा झिकेको ठाउँबाट रगत बग्न थाल्यो । बनमाराको मुन्टा निचरेर लगाइ दियो । पैतला भतभत पोल्न भने छाडेन । साइलाले फुफू गरेर फुकिदियो,

ठूली म तिम्लाई औधि मन पराउँछु, तिम्ले मान्यौ भने जिन्दगीभरि यसरी नै पैतला फुकेर बसौँला... सकिनसकी उसका मुखबाट फुत्कियो ।

"मुर्कट्टा तँ मूला दमैसँग जाने देखिस, अहिले यही खुर्पाले दिएर कोशीमा झार्दिन्छु अनि.... " ठूली सिंहझैं गर्जिइ,"म त ठकुरीकी छोरी, राजखान्दान हुँ, राजखान्दान ।"

यति हो, ठूली र साइलाको सम्बन्ध ।

गाईघाट झर्दा ठूलीका हुलबाट उसँधै टाढा पर्थ्यो, टाढैबाट हेरिरहन्थ्यो । फेरि आँट गरेर भनौँ कि भन्ने नलागेको होइन, तर जातको तगारोले उसलाई रोक्यो । धेरै वर्षअघि त्यहाँका ठकुरीहरूले छोरीचेलीलाई आँखा लगाएको भनेर रसुवाघाटै बेपार गरिबस्ने एउटा नेवारलाई कुटीकुटी मारेको कथा उसले सुनेको थियो ।

त्यहीबेलामा माओवादीको विद्रोह सुरू भयो । साँझसाँझ माओवादी कमरेडहरू गाउँगाउँ छिर्थे, प्रचन्डपथ लेखेका कितापहरू बाँड्थे, गाउँलेहरूलाई माओवादीमा लाग्न भन्थे । "जनताको मुक्ति हुन्छ, धनी गरिब सब बराबर हुन्छन, जातपात बराबर हुन्छ," मनकामना भन्ने कमरेडले रसुवाघाट पुल छेउमा उभिएर लामै भाषण गरिन । खोटाङ ६ नं इलाकाबाट भर्ति खुल्ने भो । साइला जनमुक्ति सेनामा लागेर वन छिर्यो रे गाउँमा हल्ला चल्यो ।

पछि गाईघाटतिरबाट सेनाहरू आए । सेनाको टुकडी वारी क्याम्प बनाएर बसेको थियो । ड्रेसमा हिडेका सेनाका जवानको रवाफै बेग्लै । तरूनी-बरूनी केटी देखे जिस्काउँथे, केटाहरू देखे, साला माओवादी तातो गोलीले भुन्दिउँ भनेर थर्काउँथे । वनजंगलमा घाँसदाउरा गर्न जान, एक्लै हिड्न त्राहिमाम थियो ।

एक दिन सेनाको जवान अग्लो, हृस्टपुस्ट, अष्टबहादुरले ठूलीलाई फकायो ।

"बुझ्यौ, राजाको सेनामा छु, १० हज्जार तलप खान्छु । जागिरै छाडे पनि सात हल जाने खेत छ, राम्रैसँग पाल्छु हउ," उसले एकान्तमा हात समातेर भनेको थियो ।

एकातिर त्रास अर्कातिर निकै तलप खाने ठकुरीकै छोरा भनेपछि ठूलीको मन सुरक्षा र सम्पतिको मोहमा राम्रैसँग पग्लियो । दुवैले घरजम गरे ।  अष्टबहादुर सेनामा जागिर खाने, ठूली रसुवाघाटमा बेपार गरिबस्न थाले

२०६२ सालमा ठूलै आन्दोलन भयो अरे सहरमा, अनि सदरमुकामतिर ।

"हेर ठूली क्याम्प फिर्ने भो, म तिमीलाई छिट्टै लिन आउँछु," ०६३ वैशाख १४ या १५ गतेतिर एक साँझ अष्टबहादुरले कुम्लोकुटुरो कस्दै भनेको सम्झना छ, ठूलीलाई । त्यतिखेरसम्म मंगली र डल्ले जन्मिसकेका थिए ।

तर अष्टबहादुर कहिल्यै लिन फर्केन । गाईघाटमा ठूलो क्याम्पमा गएर पनि लेफ्टेन, क्याप्टेनहरूलाई पटक पटक भनी । तर अष्टबहादुरको सरूवा पश्चिमतिर भएको भन्दै उसको कुनै उजुरबाजुर लागेन । पछि सुनी- अष्टबहादुरको त पश्चिमकतातिर पहिलेकै घरबार छ रे ।

दोकानमा राखेका सामानहरू अलिअलि गर्दै सकिन थाले, अब त रसुवाघाटमा जाँड र रक्सी बेच्नुबाहेक अरू केही सीप रहेन ।

०६९ सालको दशैंमा साइला, स्वेच्छिक अवकास रोजेको कमरेड भीष्मप्रतिज्ञा बनेर गाउँ फर्कँदै थियो । सरकारले दिएको पाँच लाख रूपैयाँले गाउँमै गएर केही व्यापार-व्यवसाय गरौँला भनेर जनमुक्ति सेनामै भेट भएकी मालती चौधरी र दुई वर्षको छोरा बोकेर उ उकालो चढ्दै थियो ।

"साइलाले देख्यो कि देखेन, देख्यो भने के सोच्यो होला है, मेरो बिजोक देखेर हाँस्यो होला, खुब घमण्ड गर्थी भेटी भन्यो होला...."कोल्टे फर्केर ठूलीले सिरानीमा तरक्क आँशु चुहाइ

Saturday, October 20, 2012

दशैं र गोधुली यादहरू

देहातको एउटा बजार, पहाड र तराईको संगम । आदिवासी थारू, दनुवारहरूको मूल बस्ती । क्षेत्री, बाहुन, राई, लिम्बू र मगरहरू पनि पर्याप्त संख्यामा थिए ।  मुसलमानहरूको पनि बस्ती थियो । गाईघाट । २०४२ सालअघि सडकले छोएको थिएन । उदयपुर सिमेन्ट उद्यो बन्ने भएपछि बल्ल ट्रयाक खुल्यो,  चुरेको ठाडो भीरपट्टिबाट । सडकको आकारचाहिँ २०४९ मा मात्र पायो ।
गाडी चढ्न सप्तरी जिल्लाको फत्तेपुर पुग्नु पर्थ्यो । गाईघाटबाट फत्तेपुर पुग्न ६-७ घण्टा लाग्थ्यो । दशैंले छोएको थियो, लुरे मामा घर जान उत्साहित थियो । आमालाई सन्चो थिएन, त्यही भएर लुरे बुवासँग मामाघर हिड्यो ।
कार्तिकमा पनि शीर (रौतहा) तिर पानी परेर त्रियुगा नदीमा बाढी आएको थियो । खैजनपुरनेरको जङ्घारबाट त्रियुगा नदी तर्नु पर्थ्यो । त्रियुगाको भसेट (बालुवाको दलदल)ले धेरै मान्छे खान्थ्यो,  वर्षाका बेलामा । हेर्दाहेर्दै लुरे भासियो, घाँटीमाथिबाट पानी बग्न थाल्यो । बुवा हरेक उपाय गरेर माथि उठाउने प्रयास गर्नुहुन्थ्यो, लुरे बाँच्न हातखुट्टा चलाउँथ्यो । त्रियुगाको बलौटो पानी उसका मुखबाट पसिरहेको थियो । बल्लतल्ल गरेर बुवाले बचाउनु भयो । जोगिदह-खैराहाबीचको नर्सरी (त्रियुगा नदीको कटानबाट बचाउन गरिएको वृक्षारोपण)का बीचमा एउटा चिया पसल थियो, बुवाले चिया एक गिलास चिया फुकिफुकी ख्वाएपछि लुरेको त्राण फर्क्यो ।
हडियाँ र सुन्दरपुरबीच बाक्लो जंगल थियो । मूलतः त्यो चुरे जंगल भए पनि स्थानीयहरू चास कोष जंगल अर्थात चार कोषसम्म फैलिएको जंगल भन्थे । बयलगाडामात्र कुद्ने त्यो जंगलका बीचको बाटोबाट साँझ घाम अस्ताउने बेलामा गोठालाहरूले गाईबस्तु फर्काउँदै गर्दा गाईबस्तुले उडाउने धुलोले धपक्कै ढाकेको क्षितिज अर्थात गोधुली वर्णनको सीमाभन्दा बाहिर हुन्थ्यो । काठ तस्करहरूको आँखा परिनसकेको त्यो बाक्लो जंगलबीच कालो हरिण, चित्तल, नीलगाई, बँदेल, मयुर, लुइचे, कालिज त कैयन पटक लुरेले आफ्नै आँखाले देख्यो । बाघ, भालु पनि पाइने, कहिलेकाँही बाघले मान्छे खाएको हल्ला सुनिन्थ्यो । त्यही भएकाले त्रियुगा किनारै किनार जतिसक्दो चाडो जंगल पार गरेर फत्तेपुर पुर्याउन बुवाले हतार लगाउनु हुन्यो । लुरे साना खुट्टाले सकी नसकी दौडिइरहेको थियो ।
हडियाको जंगलमा लुरेले पानीले लपक्क भिजेको पाँच रूपैयाँको नोट भेट्यो । डेढ रूपैयाँ कप चिया, दुई रूपैयाँमा ग्लुकोज बिस्कुट आउने त्योबेलामा लुरेका लागि पाँच रूपैयाँ (६ वर्षको उमेरका बच्चाका लागि) सबैभन्दा ठूलो नोट भइदिएको थियो ।  उसले आफूलाई राजाभन्दा मै धनी भन्ने सोच्यो, हडिँयादेखि सँगै हिडेका एक जना सहयात्रीले सोधे, के गर्छौ बाबु यो पैसाले । लुरेले पाँच रूपैयाँ कसरी खर्च गर्ने केही योजना बताउन सकेन ।
मामाघर पुगेपछि थाह भयो । मामाहरूलाई सुतक परेको रहेछ (परिवारमा कसैको जन्म भएको) । त्यो वर्ष मामाघर पुग्नुमात्र पर्यो, दशैंमा टीका लगाउन पाइएन । 
अर्को वर्ष लुरे, लुरेकी आमा, लुरेकी बहिनी बस चढेर उर्लाबारी गए । मामाघरको आकर्षण नै बेग्ले हुन्छ, बच्चाहरूलाई । कानेपोखरीको जंगलको बीचमा खिर बेचिन्थ्यो, असाध्यै मीठो । बसहरू रोकेर खिर खान्थे, यात्रुहरू । लुरेहरू मामाघर पुगे, उर्लाबारी स्कूलनजिकको मामाघर । वरिपरि हरियाली, धानको खेत, लहलह झुलेका धानका बालाहरू । कतै धान काटिँदै, कतै दाँइ गरिदै । त्यो दृष्य साँच्चै मोहक थियो ।
आमा टाँडमा मामासँग कुराकानी गर्न थाल्नु भयो ।भित्र माइजु खानेकुरा बनाउँदै हुनुहुन्थो, लुरेभन्दा दुइ वर्ष कान्छी बहिनी प्यास लागेर भान्छामा पसिन । 
हुँदैन हुँदैन भान्जी, तपाई क्षेत्रीहरू हाम्रो भान्सामा पस्नु हुँदैन भन्दै माइजुले झन्याकुल्टुङ पार्दै निकाल्नु भयो । बहिनी कहालिएर रून थाली । लुरेका बाबुले त्यस जमानामा बाहुनकी छोरीसँग क्षेत्रीले बिबाह गरेका गर्नु भएको थियो । बहिनीमाथि भएको दुर्व्यवहारले सात वर्षको लुरेको मन कुँडियो, आमा जाउँ, यिनीहरूका घरमा अबदेखि कहिल्यै नआउँ लुरेले भन्यो र त्यसपछि कहिल्यै लुरेले कहिल्यो मामाघर जाने रहर गरेन अनि गएन पनि ।
आजकल लुरे बूढा भएका मामा-माइजुलाई भेट्न चाहन्छ, मनभरिको गुनासा गर्न चाहन्छ, तर लुरे जान सक्दैन, केबल गोधुली सम्झनामा मामाघर सम्झन्छ ।

Wednesday, September 12, 2012

कथारहित कथा


हर कथाहरूले पात्र खोज्छन, मेरो कथाको पात्र अमूर्त थियो, अज्ञात थियो, बादलको आकृतिजस्तै, कहिले देखिन्थ्यो कहिले हराउँथ्यो । अझ भनौँ कथा नै थिएन । कथा हुनलाई कथावस्तु चाहिन्छ, तर कथारहित मेरो प्रेमकथाका नायक आफैलाई त्यही कथाभित्रै खोज्दै थियो । एक दिन मसँग भयानक रिसायो, यस्तो पनि कथा हुन्छ? खोइ त कथानक?
ऊ भक्कानियो । सहायक पात्रको खोजी गरिरहेको थियो, तर मसँग उसको कथाका लागि पात्रै थिएन । म पनि पात्रको खोजीमा भौँतारिए .
मेरो खोजीले कुनै अर्थ राखेन । मैले उसका लागि उपयुक्त पात्र भेट्नै सकिन ।  ऊ निराश भयो, मलाई हटाइ दे यो कथाबाट उसले आग्रह गर्यो, अनुननय-विनय गर्यो । म उसलाई कथाबाट पनि अलग गर्न सक्दिन थेँ । एक दिन उसको कथा पनि पूरा हुन्छ भन्ने म विश्वासमा थेँ, आश्वासन दिएँ, पख न एक दिन पात्र भेट्छु तिम्रा लागि । अनि कथा पूरा गरौँला ।
उसले तँ सक्दैनस भने आफैले खोज्छु भनेर धम्की दियो । मैले हुन्छ सक्छौ भने खोज भने, तर पनि निरिह थियो, निर्धो थियो ।
ऊ एक दिन दंगदास परेर आयो र भन्यो मैले सम्भाव्य पात्र भेटेँ । तर मैले कथामा जोड्न सकिन । उप-पात्रले उसलाई स्वीकार गरेन । ऊ अपहेलित भयो, तिरस्कत भयो । कथा त्यसै रोकियो । सोचेँ कुनै दिन फेरि अघि बढ्ला ।
उप पात्रका आफ्नै कथा थिए । आफ्नै आकांक्षाहरू थिए । मूल पात्रसँग त कथानक नै थिएन । फेरि कथानक खोज्ने यत्न गरेँ । यस पटक उप-पात्र भेटियो, तर कथा भेटिएन, मैले कथालाई मूल पात्रसँग जोड्न सकिँन । दुवै पात्रहरू फरक-फरक थिए, दुवैका कथाहरू एकअर्कासँग तालमेल मिलेका थिएनन । यस पटक पात्रसँग म रिसाएँ- ल उप पात्र खोजेँ, कथा अगाडि बढा, तर उसले कथा अघि बढाउन सकेन ।
फेरि अर्को प्रयत्न गर्यो । यस पटक पनि परिणति उही ।
पात्र अन्यौलमा परेको छ । सपनाहरू धेरै देख्यो, सपना भनेको केही होइन, फगत अवचेतन मनको दृष्यचित्रमात्र । पूरा हुने त कुरै भएनन । यो जुनीमा कथारहित मेरो कथा यति नै रह्यो, भो अब नलेख पात्रले भन्यो । म पनि अन्यौलमा परे, शायद कथा बन्द गर्नु नै उचित हुन्छ होला ।
मैले भने- अब भाग मूला तेरो काम छैन । मूलपात्र बेतहास दौडियो, आँखा चिम्लेर दौडियो जिन्दगीको दौडमा । पटक-पटक लड्यो, लडखडाउँदै उठ्यो फेरि दौडियो र बाटोमा ठोक्कियो कुनै पहरासँग, रूखसँग, अवरोधहरूसँग
एक दिन..............मूल पात्र एक दिन कथानकबाटै हरायो ।
पात्रहरू जो पनि हुन सक्छ, तपाईं, , , उनी । गान्टे, पोक्चे, लुरे, लुरी, मोटु, कान्छा, कान्छी । सबैका आआफ्ना कथानक छन् । हरेक पात्र भन्छः मैले जति दुःख कसैले गरेन । आफ्ना कथालाई हरेक पात्रले बढाइचढाइ गर्छ । कथानक मोडिन्छ, यत्रतत्र सर्वत्र । अनि पात्र हराउँछ हलो म्यानजस्तै बेलाबेलामा, फेरिन्छ बादलजस्तै आकृतिविहिन । कथा कहिल्यै टुंगिदैन जारी नै रहन्छ, लेखक, कथानक र पात्रहरू फेरिए पनि ।